सुदूरपश्चिममा सुत्केरी सकस : सात वर्षमा ११७ जनाले गुमाए ज्यान | Khabarhub Khabarhub

स्वास्थ्य

सुदूरपश्चिममा सुत्केरी सकस : सात वर्षमा ११७ जनाले गुमाए ज्यान

लामो कागजी प्रक्रियाले हवाई उद्धार कठिन


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 6 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बच्चा जन्माउनुलाई सुदूरपश्चिममा ‘जत्काल बस्नु’ भनिन्छ ।

जुन मैले सानै उमेरदेखी सुन्दै आएको शब्द हो । ‘जत’ भनेको जतन गर्नु र ‘काल! भनेको मृत्यु ! एउटी आमाले गर्भको शिशुलाई जतन गरी काललाई जितेर संसारमा ल्याउनुलाई ‘जत्काल’ भनिन्छ ।

महिलाले गर्भधारण गर्नु र सन्तान जन्माउनु कुनै नौलो होइन । तर, विगतका दिनहरूमा डाक्टरी सहयोगबिना लामो बेथा सहेर सन्तान जन्माउनु पीडादायी अवस्था मानिन्थ्यो ।

त्यतिखेर कति आमाहरूले शिशुसँगै अकालमा मृत्युवरण गरे भने कति आमा कालमाथि विजय प्राप्त गरी सन्तानलाई जन्म दिएर भाग्यले बाँच्न सफल भए, त्यसको कुनै लेखाजोखा छैन । अहिले त नेपालले पनि स्वास्थ्य क्षेत्रमा निकै प्रगति गरिरहेको भनिन्छ । मातृशिशु स्वास्थ्यमा त अन्तरराष्ट्रिय अवार्ड नै पाएको छ ।

देशैभर मातृशिशु सुरक्षा अवस्था ठीकठाक छ त ? जब शहरी क्षेत्रबाट जो कोही गाउँदेहातमा प्रवेश गर्छ – मातृशिशु मृत्युको भयावहताले मुटु निचोरिन्छ । ग्रामीण भेगमा गर्भवती आमाहरूको समस्या ज्यूँका त्यूँ छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत विकट हिमाली तथा पहाडी भेगहरूमा सुरक्षित मातृत्व अझै अनिश्चित छ ।

नेपालमा मातृ मृत्युदरको अवस्था

समय परिवर्तनसँगै स्वास्थ्य केन्द्र तथा अस्पतालहरू निर्माण भयो । स्वास्थ्य क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादन भए ।

सरकारले दुर्गमका जटिल अवस्थाका सुत्केरी आमा र शिशु जोगाउन भन्दै हवाई उद्धारका कार्यक्रम पनि चलाइरहेको छ । यसो हुँदा मातृस्वास्थ्य सुरक्षा अवस्था विगतको तुलनामा धेरै सुदृढ भएको छ ।

तर, यो लक्ष्यमा सोचेअनुसार सुधार गर्न नसकिएको सरोकारवालाहरू बताउँछन् । सरकारले सन् २०३० सम्म मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने लक्ष्य राखेको छ ।

सन २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा प्रतिलाख २३९ रहेको मातृ मृत्युदर वि.सं २०७८ को जनगणनामा घटेर १५१ मा झरेको छ । यो तथ्याङ्कअनुसार; ६ वर्ष अवधिमा ८८ जनाका दरले मातृ मृत्युदर घटेको पाइएको छ । सरकारले राखेको लक्ष अबको ५ वर्षमा पूरा गर्ला त ? यो भने चुनौतीको विषय रहेको सरोकारवालाहरू बताउँछन् ।

सुदूरमा सुत्केरी तथा गर्भवतीले भोगेका सकस

सुदूरपश्चिमको मात्रै कुरा गर्ने हो भने गत साता बझाङकी खिना बोहरा, जसले अस्पताल जाँदाजाँदै बाटोमै सन्तानलाई जन्म दिइन् र सन्तानसँगै आफूले संसार छाडिन् ।

सुत्केरी व्यथाले च्यापेकी खिनाले अन्तिम अवस्थामा घरपरिवारलाई जानकारी दिँदा अस्पतालसम्म पुग्न नपाई असुरक्षित तरिकाले बच्चा जन्माउँदा अत्यधिक रक्तश्रावका कारण उनको बाटोमै मृत्यु भएको थियो ।

यो पनि –

जंगलको बीचमै बिते आमा र नवजात शिशु, सासूको काखमा प्राण त्यागिन् सविताले

चेतना अभावमा मृत्युको मुखमा पुग्छन् सुत्केरी

समयमा रगत नपाउँदा सुत्केरीको मृत्यु

बच्चा जन्माएको ६ घण्टापछि सुत्केरीको मृत्यु

यो घटनाको एक साता नबित्दै दार्चुलाकी २५ वर्षीया द्रौपदीले पनि बाटोमै ज्यान गुमाइन् । सुत्केरी व्यथा लागेर घरबाट २ किलोमिटरको दुरीमा रहेको स्वास्थ्य चौकी लगिएकी उनको अस्पताल पुग्दा शिशुसँगै मृत्यु भइसकेको थियो ।

त्यस्तै; गत असोजमा अस्पताल जाँदै गर्दा बाटोमै बच्चा जन्माएकी अछामको ढकारी गाउँपालिकाकी २९ वर्षीया सरितादेवी जैशीको पनि उच्च रक्तश्रावका कारण मृत्यु भयो ।

सरिता, खिना र द्रौपदी जस्ता ९ जना गर्भवती तथा सुत्केरी आमाहरूले ज्यान गुमाएका सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यो अवधिमा ७९ जना नवजात शिशुको समेत मृत्यु भएको तथ्याङ्क छ ।

निर्देशनालयका तथ्याङ्क तथा सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार २ जनाको गर्भावस्थामै, १ जनाको प्रसूति र ६ जनाले सुत्केरी अवस्थामा ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २३, २०७९/०८० मा २१, २०७८/०७९ मा ५, २०७७/०७८ मा २३ र २०७६/०७७ मा १९ जना सुत्केरी तथा गर्भवती आमाहरूले ज्यान गुमाएका थिए ।

किन जान्छ ज्यान ?

पहाडी जिल्लाहरूमा भौगोलिक विकटताका बावजुद पनि स्वास्थ्य सेवाको पहुँचमा निकै सुधार आएको छ । प्रत्येक वडाहरूमा एउटा बर्थिङ सेन्टर, सडक, यातायातलगायत आवश्यक पूर्वाधारहरूको सुविधा पनि रहेको छ ।

तर सडकसम्म पुग्न पनि लामो बाटो हिँड्नुपर्ने धेरैको बाध्यता रहेको निर्देशनालयका निर्देशक डा. खगेन्द्र बम बताउँछन् । उनका अनुसार ९० प्रतिशत सुत्केरी अस्पतालमै गराउने लक्ष्य रहेको, तर ८० प्रतिशत मात्रै अस्पतालमा पुग्छन् । अन्य २० प्रतिशत महिलाले असुरक्षित तरिकाले घरमै सुत्केरी हुन खोज्दा यसरी ज्यान गुमाउने गरेका छन् ।

डा. खगेन्द्र बम ।

त्यसबाहेक २० वर्षअघि नै विवाह गर्नु एउटा कारण रहेको उनी बताउँछन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अहिले पनि १३ देखि १४ प्रतिशतले २० वर्ष अगावै विवाह गर्ने गरेका उनले बताए । उमेर पुगेर गर्भधारण गरेका महिलाहरूभन्दा सानै उमेरमा गर्भधारण गरेका आमाहरूलाई धेरै जोखिम हुने उनको भनाइ छ ।

त्यस्तै बझाङ जिल्ला अस्पतालमा कार्यरत प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. नवराज जोशी चेतनाको अभाव र गर्भावस्था तथा प्रसूति अवस्थालाई सामान्य मान्ने आम प्रवृतिले सुदुरपश्चिमका पहाडी जिल्लाहरूमा गर्भवती तथा सुत्केरी आमा र शिशुको ज्यान जाने गरेको बताउँछन् ।

जोशी भन्छन्– ‘अहिले त सामान्य सुत्केरी गराउन बर्थिङ सेन्टरहरूमा पनि तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको सुविधा छ । शल्यक्रिया गर्नुपर्ने जटिल केशहरू पनि जिल्ला अस्पतालले नै हेर्ने गरेको छ । तर अस्पतालसम्म पुग्नु नै यहाँका गर्भतीहरूका लागि चुनौतिको विषय बनेको छ ।’

प्रसव व्यथाबारे समयमै जानकारी नगराएर अन्तिम अवस्थामा मात्रै जानकारी गराउनुपर्छ भन्ने पौराणिक सोच, अन्तिम अवस्थामा अस्पताल जान खोज्दा सडकसम्म पुग्न स्टेचरको अभाव लगायतका कारण पनि अस्पताल तथा बर्थिङ सेन्टरमा पुग्न ढिलाई हुने गरेको उनले बताए ।

डा. नवराज जोशी ।

बझाङ जिल्ला अस्पतालमा २ वर्ष काम गरेको अनुभव सुनाउँदै डा. जोशी भन्छन्– दैनिक जसो शल्यक्रिया लगायत विभिन्न जटिल समस्या भएका केशहरू समेत हेर्ने गरेको जिल्ला अस्पतालमा आफू आएदेखि अस्पताल पुगेका कुनै पनि सुत्केरी आमा तथा शिशुले प्रसवकै अकालमा ज्यान गुमाउनुपरेको छैन ।

सुत्केरी भएको ४२ दिनसम्मलाई जटिल अवस्था मानेर उनीहरूले आफैं पनि र घरपरिवारले विशेष ध्यान दिनुपर्ने हुन्छ । तर यहाँका सुत्केरी आमाहरूले राम्रो स्याहार, पौष्टिक आहार पनि नपाउने गरेको उनले बताए । केही समय अगाडि ५ दिनको सुत्केरीले घाँस काट्न गएको बेला ज्यान गुमाएको उदाहरण दिँदै त्यस्ता धेरै आमाहरूले सुत्केरी अवस्थामा ज्यान गुमाउने गरेको उनको भनाइ छ ।

हवाई उद्धारमा झन्झटिलो प्रक्रिया

सरकारले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको कार्यविधि नै जारी गरेर हेलिकोप्टरमार्फत उद्धार गरिरहेको छ ।

हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७ अनुसार लगातार १८ घण्टा बढी प्रश्रव व्यथा लागेर बच्चा जन्मिन कठिन भएमा, बच्चाको हात, खुट्टा वा शरीर पहिला बाहिर निस्केर बच्चा जन्मिन कठिन भएको स्थितिमा, बच्चा जन्मेको ३० मिनेटसम्म सालनाल ननिस्केमा गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार सेवा दिइनेछ भने गर्भधारण गरेको २० हप्तापछि गर्भमा नै बच्चाको मृत्यु भएमा, गर्भवती महिलाको हात, खुट्टा र शरीर अत्याधिक सुन्निएमा, गर्भवती अवस्थामा रक्तश्राव भएमा, प्रसूति भएपछिको अवस्थामा रक्तश्राव भएको स्थितिमा पनि हवाई सेवा दिइने उल्लेख छ ।

त्यस्तै गर्भवती र सुत्केरी महिलामा रक्तचाप अत्याधिक बढेमा, पाठेघर फुटेको लक्षण देखिएमा, गर्भाशय बाहिर भ्रुण बसेमा, बच्चा जन्मेको २४ घण्टाभित्र बच्चालाई सास फेर्न गाह्रो भएमा र अन्य किसिमको ज्यान जान सक्ने रोग पत्ता लागेमा, रक्तअल्पता भएका गर्भवती तथा सुत्केरी महिलालाई रगत दिनुपर्ने स्थिति भएमा, सास फेर्न कठिनाइ भएको अवस्थामा, अंगहरूमा कुनै किसिमको संक्रमण देखिएमा, गर्भपतनको क्रममा जटिल समस्या देखिएमा, गर्भावस्था वा सुत्केरी अवस्थामा आकस्मिक रूपमा देखापर्ने समस्या देखापरेमा सो सेवा प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।

जसको लागि स्थानीय स्वास्थ्य संस्थाले पालिकालाई सिफारिस गर्ने पालिकाले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने, उद्धार गरिएकी महिलाको नागरिकता वा परिचय खुल्ने अन्य कागजातहरू पेश गर्नुपर्ने लामो प्रक्रिया छ । एकातिर रातीको समयमा उद्धार नहुने, मौसममा खराबी आउँदा पनि उद्धार गर्न कठिनाई हुने त्यसमाथि यति लामो कागजी प्रक्रिया पु¥याउनुपर्ने भएकाले त्यति प्रभावकारी नभएको डा. जोशी बताउँछन् ।

मातृशिशु मृत्युदर घटाउन के गर्ने ?

दुर्गममा हुने सुत्केरी मृत्युमा जनचेतना नै मुख्य समस्या देखिएकाले जनचेतना फैलाउनमा सरकार लगायत सरोकारवाला निकायहरू पनि चुकिरहेको चिकित्सकहरू बताउँछन् ।

बझाङ जिल्ला अस्पतालमा कार्यरत डा. जोशीको अनुभवमा अहिले स्थानीय निकायहरूमा सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरू सञ्चालन गर्ने जिम्मा स्थानीय सरकारको रहेकाले जनप्रतिनिधिहरू आफैं खटेर यातायात लगायत आवश्यक सहयोग गर्नु, जनचेतना फैलाउनुपर्छ ।

त्यस्तै पहिल्यैदेखि नै ग्रामीण भेगहरूमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले राम्रो काम गरिरहेका छन् । उनीहरूका माध्यमबाट जनचेतना फैलाउने, प्रसूति पूर्व के कस्ता तयारी गर्नुपर्छ सो बारेमा काउन्सिलिङ गर्ने लगायतका काम गर्नुपर्ने खाँचो उनले औंल्याएका छन् ।

त्यस्तै केन्द्र सरकारले पनि सुत्केरी तथा गर्भवती महिलाहरूका लागि सञ्चालन गरेका पोषण, यातायात खर्च, हवाई उद्धारलगायतका कार्यक्रमहरू प्रभावकारी भइरहेका छन् की छैनन् भन्ने अनुगमन गर्न सके लक्ष्य पूरा गर्न सकिने डा. जोशीको भनाइ छ ।

त्यस्तै घरपरिवारले पनि यो अवस्थालाई सामान्य नठानी गर्भवती तथा सुत्केरी अवस्थाका महिलाहरूलाई आवश्यक साथ सहयोग गर्न चिकित्सकहरूले आह्वान गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ३४ बजे

शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि

ह्वाइट हाउसमा बाइडेनले गरे ट्रम्पलाई स्वागत

काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुगेका

वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति

ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माणका लागि शिलान्यास

काठमाडौं – पशुपति क्षेत्रमा रहेको काठमाडौं महानगरपालिका–८ स्थित ऐतिहासिक एवं

कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा

झापा – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल