काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ०७९ को चुनावमा झापा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समेत साथ पाएर चुनाव जितेका हुन् । एमालेले सघाएर चुनाव जितेका लिङदेन आफूप्रति नरम होलान् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सोचेका थिए । तर, शुक्रबार प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष लिङदेन प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी दलमध्ये सबैभन्दा कडा रुपमा प्रस्तुत भए ।
प्रधानमन्त्री ओलीका मानिसहरु करोड–करोड घुस उठ्ती पुठ्तीमा लागेको आरोपसम्म लगाउन भ्याए लिङदेनले ।
संसदको बैठकमै एकजना जिम्मेवार राजनीतिक दलका नेताले बहालवाला प्रधानमन्त्रीलाई ‘उठ्ती–पुठ्ती’मा लागेको आरोप लगाउनु सामान्य विषय होइन । तर, लिङदेनको त्यस्तो अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन कसैले माग गरेन ।
अन्ततः प्रधानमन्त्री ओलीका मानिसहरु करोडौं रकम उठ्ती पुठ्तीमा लागेको लिङदेनको अभिव्यक्ति संसदको रेकर्डमा कैद भएको छ ।
नेता लिङदेनले पञ्चतन्त्रको राजाजस्तै प्रधानमन्त्री कपडा नलगाई नांगै अवस्थामा रहेको आरोपसमेत लगाए ।
मन्तव्यका लागि संसदको रोष्टममा लिङदेन उभिन नपाई प्रधानमन्त्री केपी शर्मा ओली भने संसदबाट बाहिरिइसकेका थिए । प्रधानमन्त्रीको अनुपस्थितिबारे चर्चा गर्दै लिङदेनले भने, ‘प्रधानमन्त्री त यहाँ अगाडि हुनुहुन्न । जाँदै गर्नुहुँदाखेरि मैले भनें, हामीले बोलेको कुरा त कहीँ सुनिन्छ होला नि ? उहाँले स्क्रिनमा हेर्छु भन्नुभएको छ ।’
प्रतिनिधिसभामा राप्रपा अध्यक्ष लिङदेनले प्रधानमन्त्री ओलीमाथि लगाएका ९ आरोप उनकै शब्दमा पढौं–

पहिलो आरोप : सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको छ
अहिलेसम्मको स्थिति हेर्दा यो सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमै लागिराखेको छ जस्तो लाग्छ । मैले त्यो भ्रष्टाचार निवारण सम्बन्धी ऐन पेश हुँदाखेरि कुनै पनि पदाधिकारीले आफ्नो पदबाट विदा भएपछि जिम्मेवारीमा रहँदा भ्रष्टाचार गरेको रहेछ भने पाँच वर्षभित्रमा उजुरी गरिसक्नुपर्छ भनेर भनिएको थियो । यो सरकारको जानकारीविना कर्मचारीहरुले ल्याएको, अज्ञानतावस आएको चिज होला भन्ने मैले ठानेको थिएँ । त्यसको हामीले विरोध पनि गर्यौं, संशोधन पनि भयो । तर, प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो । हामीले त्यस्तो कुरा लेखेका थिएनौं, त्यस्तो कुरा ल्याएका थिएनौं भनेर भन्नुभयो । उहाँले त्यसको पक्षमा बोल्नुभयो भनेपछि कि प्रधानमन्त्रीले त्यो हेर्नुभएको छैन या प्रधानमन्त्री भ्रममा हुनुहुन्छ ।
दोस्रो आरोप : ओलीका मान्छे उठ्ती पुठ्तीमा संलग्न छन्
म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु– यो ऐनको कुरा मात्रै होइन, तपाई अन्तरगतको राजस्व अनुसन्धान भन्ने जो छ, त्यसले अहिले पनि यो प्रधानमन्त्री अन्तरगतको कार्यालय हो, हामी प्रधानमन्त्रीको मातहतमा छौं, अरु कुनै नेतालाई नभन्नू, अरु नेतालाई भन्नुभयो भने अझ दुःख पाउनुहुन्छ भनेर व्यापारीहरुलाई सताएर पैसा उठाइराखेको छ ।
सबलाई थाहा छ, अहिले कुन व्यापारीकोमा छापा मार्यो भने बील नमिलेको सामान छैन होला ? बोर्डरबाट मिलेमतोमा छाडिदिएको छ । खुला सीमाको फाइदा पनि कतिपयले उठाएका छन् । अनि गएर प्रधानमन्त्री अन्तर्गतको राजस्वले छापा मार्ने अनि सल्लाह गर्न आऊ भन्ने काम त अहिले पनि भइराखेको छ ।
म प्रधानमन्त्रीलाई भन्न चाहन्छु । तपाईको यो छ महिने कार्यकालमा अहिले पनि तपाईको वरिपरिका मानिसहरुले सरकारले नियुक्ति गर्ने विभिन्न पदहरुमा करोड–करोड अफर गरिराखेका छन् । तपाईले धक्कुका साथ भन्नुभो प्रधानमन्त्रीज्यू– म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ ।
तपाईले गर्नुहुन्छ, गर्नुहुन्न थाहा छैन । तर, तपाईको वरिपरिकाले गरिराखेका छन् । मलाई लाग्छ, तपाई सूचनाबाट विमुख हुनुहुन्छ ।
अहिले पनि भ्रष्टाचार चरम रुपमा छ । म फेरि पनि भन्छु । र, तपाईका वरिपरिका मानिसहरु अहिले पनि भ्रष्टाचारमा संलग्न छन् । उठ्ती पुठ्तीमा संलग्न छन् । त्यतिमात्रै होइन, सरकारले निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानीमा समेत पैसा (घुस) उठाइराखेका छन् ।
सरकारले ऐन कानून नै बनाएर बनाएर भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण दिने काम गरिराखेको छ । यो रोकिनुपर्छ ।
तेस्रो आरोप : सरकारै छैन भने पनि हुन्छ
प्रधानमन्त्रीले प्रारम्भमा जुन उपलब्धिहरु सुनाउनुभयो– सिद्धबाबाको सुरुङमार्ग ब्रेक थ्रू भयो । फास्ट ट्रयाकमा पनि अर्को एउटा सुरुङमार्ग ब्रेक थ्रू भयो । अनि बंगलादेशसँग, अथवा तेस्रो मुलुकसँग पनि हाम्रो विद्युत व्यापार प्रारम्भ भयो भनेर उपलब्धि सुनाउनुभयो ।
यो सरकार नभएको भए त्यो सिद्धबाबाको सुरुङमार्ग ब्रेक थ्रू हुँदैनथ्यो ? बंगलादेशसँग विद्युत व्यापार सम्झौता हुँदैनथ्यो ? त्यो फास्ट ट्रयाकमा बनिराखेको सानो एउटा सुरुङ ब्रेक थ्रू हुँदैनथ्यो ? कांग्रेस–एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो ? यो हेर्ने हो भने त अब मुलुकमा सरकार छैन भने हुन्छ ।

सरकारले नियमित कुरालाई पनि आफ्नो उपलब्धि भन्ने ? यस्ता त कैयौं कुराहरु हुनेवाला छन् । कयौं कुराहरु गर्नुपर्नेछ । अहिले सुशासनको क्षेत्रमा के गर्यो यो सरकारले ? निराश जनतालाई आशा जगाउने के काम गर्यो ? देशभित्र कति मान्छेका लागि रोजगारीको सिर्जना गरियो ? अर्थतन्त्रमा के सुधार गर्यो ?
अहिले बैंकमा विदेशी मुद्राको सञ्चिति बढेको छ, यो सरकारको कारणले भएको हो ? कि हाम्रो भाइ–छोरा बेचेर आएको पैसा हो ? त्यो आएको पैसा पनि खर्च गर्न सकेको छैन भनेर भनौं न बरु । यो सबै हेर्दाखेरि गएको साढे छ महिनामा यो सरकारको समय निराशाजनक छ । हामी चाहन्छौं, कांग्रेस र एमाले मिलेर बनेको सरकारले डेलिभरी दिनुपर्छ । हामी विरोधमात्रै गर्दैनौं, अपेक्षा गर्छौं– सुधार गरोस् ।
चौथो आरोप : प्रधानमन्त्री नांगै !
पञ्चतन्त्रको राजाजस्तो पापीहरुले नदेख्ने, धर्मात्माहरुले मात्रै देख्नेखालको लुगा लगाएर तपाईहरु हिँडिराख्नुभएको छ । त्यो बालकको काम मैले गरिराखेको छु, तपाईहरु नांगो हुनुहुन्छ ।

पाँचौं आरोप : सिमेन्ट र रडमा मिलेमतो छ
तपाईहरुले अध्यादेश ल्याएपछि कालोबजारसम्बन्धी ऐनमा भएका व्यवस्थाहरु हटाएपछि अहिले सिमेन्टमा, रडमा कुन प्रकारको मूल्यवृद्धि भयो ? अहिले सिमेन्टमा एक महिना, दुई महिनाभित्रमा एक बोरामा साढे ३ सय रुपैयाँसम्म मूल्यवृद्धि गर्नुपर्ने के कारण छ ? कच्चा पदार्थमा मूल्यवृद्धि भयो कि ? विद्युत महसुलमा मूल्यवृद्धि भयो कि ? कामदारहरुको ज्यालामा वृद्धि भयो कि ? के भो ? यो कुरा सरकारले सुनेको छैन ? सम्बन्धित मन्त्रीले सुनेको छैन ? किन रोकिँदैन ? किन नियन्त्रण हुँदैन ?
किनभने, तपाईहरुको मिलेमतो छ । तपाईहरुको मान्छेले त्यसमा भागवण्डा लिएको छैन भनेर कसले भन्न सक्छ ?
छैठौं आरोप : अध्यादेशबाट जबर्जस्त शासन चलाउने प्रयास भयो
अहिले तपाईहरुले अध्यादेश ल्याउनुभएको छ । हामीले प्रतिपक्षका तर्फबाट समयमै यो कुराको विरोध गरेका छौं । बीचमा कुनै अत्यावश्यक अध्यादेश ल्याउनुपर्यो भने पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग परामर्श गरेर यस्तो अप्ठ्यारो पर्यो भनेर छलफल गरेर सहमतिमा राम्रो अध्यादेश ल्याएर देशलाई निकास दिन सकिन्थ्यो । तर, यो एक महिनाबीचमा के त्यस्तो बित्यो र त्यो अध्यादेश ल्याएपछि के बन्यो ?
अध्यादेशको अरु कन्टेन्टमा हामी पछि छलफल गर्ने नै छौं । तर, जुन प्रक्रियाबाट यसरी देशलाई लगिँदैछ कि यो अध्यादेश हामीले मात्रै ल्याएको हैन, तिमीहरुले पनि ल्याएका थियौ भनेर देशलाई अध्यादेशबाट जबर्जस्त ढंगले चलाउने प्रयास भइराखेको छ । यसको हामी विरोध गर्छौं ।
सातौं आरोप : सहकारी प्रकरणमा सत्ताको दुरुपयोग भयो
सत्ताको दुरुपयोग नगरियोस् । सबैलाई बराबर होस् । एकबजना पार्टीको अध्यक्ष ८४ दिन प्रहरी हिरासतमा बस्नुभयो । त्यो भन्दा पनि ठूलो सहकारीको सञ्चालक भएको तपाईको पार्टीको मान्छेले एकदिन पनि हिरासतमा बस्नु नपर्ने ?

मैले रवि लामिछानेले बदमासी गर्नुभएको छैन, हिनामिना गर्नुभएको छैन भन्ने कुराको वकालत गर्दिनँ । यो न्याय निरुपणको विषय छ । तर, कानून त सबैलाई बराबर लाग्नुपर्छ होला नि । एउटा मान्छेले त्यही प्रक्रियामा अदालतसम्म पुग्नका लागि ८४ दिन हिरासत बस्नुपर्ने, अरु खुत्रुक्कै अदालतमा हाजिर भएर घर जान पाउने कस्तो व्यवस्था हो ल भन्नोस् । यो पक्षपात र दुरुपयोग हो कि हैन ?
आठौं आरोप : सम्पत्ति छानबिन गरौं
सरकारले सम्पत्ति शुद्धीकरणको डण्डा रवि लामिछानेमाथि चलायो । रवि लामिछानेको सम्पत्ति छानबिन हुनुहुन्न, शुद्धीकरण हुनुहुन्न भन्ने कुरा होइन । ठीक गर्नुभो । तर, अब हामी अरु नेताको गर्नुपर्ने कि नपर्ने ? प्रधानमन्त्रीको । प्रधानमन्त्रीका वरपरका मानिसको गर्नुपर्ने कि नपर्ने ? अरु पार्टीका नेताहरुको गर्नुपर्ने कि नपर्ने ? गरौं साँच्चि नै देश सुधार्ने हो भने ।
मेरो छानबिन गरौं । मेरा परिवारका सदस्यहरुको गरौं । प्रधानमन्त्रीजीको परिवारका सदस्य र वरिपरिका मानिसहरुको गरौं । अरु नेताहरुको पनि गरौं । तर, आफूलाई चित्त बुझेन, आफूलाई मन परेन, यो गर्नु हुन्न ।
नवौं आरोप : आइजीपीमाथि पनि छानबिन गरौं
अहिलेको प्रहरी प्रमुखमाथि पनि छानबिन हुनुपर्छ । सत्ताको कुन प्रकारको दुरुपयोग हो भन्ने कुराको नमुना पनि हो यो ।
नलाई छानबिन भन्दा पनि एकचोटि सोध्नुपर्यो । यही प्रहरी प्रमुखले रवि लामिछाने गृहमन्त्री हुँदाखेरि राज्यव्यवस्था समितिमा आएर उहाँमाथि सहकारीसम्बन्धी कुनै मुद्दा र उजुरी छैन भनेर भन्नुभएको होइन ?
त्यही प्रहरी प्रमुख अन्तरगतको प्रहरीले अहिले रवि लामिछानेलाई मुद्दा चलायो । कुनचाहिँ कुरा सत्य हो त ? यो भनेको हाम्रो राज्यव्यवस्था कसरी चलिराखेको छ भन्ने कुराको एउटा नमूना हो ।
प्रतिक्रिया