काठमाडौं – वि.सं २०८१ को सुरुवाती ६ महिना सुखद रह्यो । एकपछि अर्का फिल्म हिट भए ।
कात्तिक १५ बाट प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त कीर्तिमानी व्यापार ग-यो । यो फिल्मले घरेलु बजारमा झन्डै ५० करोडको व्यापार गरेको छ । यो अहिलेसम्मकै उच्च र ऐतिहासिक व्यापार हो ।
तर जाडोयाम सुरु भएसँगै फिल्मी बजारलाई पनि चिसो लाग्यो । मंसिरयताका कुनै पनि नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न सकेनन् ।
‘कार्साङ’ र ‘एक्टर : टेक वान’ दर्शकलाई हलसम्म तान्न सक्ने फिल्मका रुपमा लिइएको थियो । तर, यी फिल्मले अपेक्षित व्यापार गर्न सफल भएनन् ।
यसबीचमा भारतीय फिल्मले नै हललाई चलायमान बनाए । मंसिर २० मा प्रदर्शनमा आएको भारतीय फिल्म ‘पुष्पा-२’ हेर्न दर्शक हलमा उर्लिए । बाँकी हिन्दी फिल्मले पनि अपेक्षित व्यापार गर्न सकेनन् ।
‘बक्स अफिस’ सुनासान भए पनि नेपाली फिल्म क्षेत्र चलायमान छ । छायाङ्कन, निर्माण घोषणा, रिलिज मिति घोषणा, फिल्मका गीत र पोस्टर सार्वजनिक जस्ता कार्यले फिल्म क्षेत्रलाई चलायमान बनाइरहेको छ ।
चल्ती स्टार कलाकार के गर्दै छन् त ?

विजय बराल
अहिले सबैभन्दा बढी चर्चामा रहेका नायक हुन्– विजय बराल । ‘पूर्णबहादुरको सारङ्गी’ले उनलाई सहायक पात्रबाट नायकको परिचय दिएको हो । कीर्तिमानी व्यापार गरेको फिल्मपछि उनले कुनमा देखिएलान् ? भन्ने चासोको विषय भनेको छ ।
उनी फिल्म ‘वरिष्ठ बलाराम’ र ‘जनै हराएको बाहुन’का लागि केन्द्रीय भूमिकामा अनुबन्ध भइसकेका छन् ।
‘वरिष्ठ बलराम’को छायाङ्कन फागुन पहिलो साताबाट सुरु हुँदैछ । विजय उक्त फिल्मको छायाङ्कनमा फागुनबाट जोडिने छन्।
फिल्ममा समय दिनका लागि विजयले हाँस्य कार्यक्रम ‘कमेडी दरबार’ छोड्ने भएका छन् । अहिले उक्त कार्यक्रमको २४ भाग प्रशारणमा आएको छ ।
२६ भागपछि आफू उक्त कार्यक्रमको हिस्सा नरहने विजयले बताए । भने, ‘दुई भाग छायाङ्कन भइसकेको छ । म कार्यक्रबाट बाहिरिसकेँ ।’

प्रदीप खड्का
नायका प्रदीप खड्काको फिल्म ‘एक्टर : टे वान’ दोस्रो सातामा प्रदर्शनरत छ । यो वर्ष प्रदर्शनमा आएको उनको दोस्रो फिल्म हो। गत जेठमा प्रदीपको फिल्म ‘पुजार सार्की’ प्रदर्शनमा आएको थियो ।
अहिले प्रदीप ‘एक्टर : टे वान’ लिएर जापान पुगेका छन् । त्यहाँ विभिन्न हलमा पुगेर उनले दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
नेपालमा यो फिल्म बक्स अफिस कलेक्सन अपेक्षित हुन सकेन । प्रदीप जपानबाट फर्केर अर्को देश जाने तयारीमा रहेको बुझिएको छ ।
त्यसपछि उनी फिल्म ‘ऐरी’को छायाङ्नमा निस्कने योजनामा रहेको प्रदीप निकटस्थ बताउँछन् ।
प्रदीप स्टारर फिल्म ‘पीताम्बर’ पनि प्रदर्शनमको संघारमा छ । यो फिल्म आगामी चैत २८ बाट प्रदर्शनमा आउने बताइएको छ । प्रदीपले यसको छायाङ्कन र पोस्ट प्रोडक्सनको काम सकिसकेका छन् ।
त्यस्तै प्रदीपको फिल्म ‘एक्लो’को पनि छायाङ्कन सकिएको छ । यो फिल्मको प्रदर्शन मिति अहिलेसम्म तोकिएको छैन ।

अनमोल केसी
अनमोल केसी एकदमै ‘चुजी’ नायकमा पर्छन् । उनी वर्षमा एक मात्रै फिल्ममा अभिनय गर्छन् । एक फिल्म प्रदर्शनमा आएपछि मात्रै अर्को फिल्मका लागि कागजी सम्झौता गर्ने उनको बानी छ ।
अहिले उनी ‘जेरी : अन टप’को छायाङ्कनमा व्यस्त छन् । यो फिल्म ‘जेरी’को सिक्वेल हो । ‘जेरी’ ०७१ मा प्रदर्शनमा आएको थियो । यो फिल्म वि.सं ०८२ मा मात्रै प्रदर्शनमा आउनेछ ।

दयाहाङ राई
०८० सालमा सर्वाधिक ९ फिल्म दिने नायक हुन्– दयाहाङ राई ।
यो वर्ष उनको अभिनय रहेका चार फिल्म ‘मनसरा’, ‘गाउँ आएको बाटो’, ‘घर ज्वाइँ’ र ‘कार्साङ’ प्रदर्शनमा आइसकेका छन् ।
यीमध्ये व्यापारिक रुपमा सफल उनको फिल्म ‘घर ज्वाइँ’ बन्यो । यो असार २८ बाट प्रदर्शनमा आएको थियो ।
‘घर ज्वाइँ’ प्रदर्शनमा आएको ६ महिनापछि ‘कार्साङ’ प्रदर्शनमा आयो । त्यसबेला लामो समयपछि दयाहाङको फिल्म प्रदर्शनमा भन्ने चर्चा चलेको थियो ।
अर्थात्, उनी यति धेरै फिल्ममा अभिनय गर्छन् कि ६ महिना पनि उनको हकमा ठूलो विश्राम लाग्छ ।
अहिले दयाहाङ ‘दु:खी आत्मा’को प्रचार व्यस्त छन् । यो फिल्म फागुन २ गते प्रदर्शनमा आउँदै छ ।
उनको अभिनय रहने मल्टीस्टार फिल्म ‘महाभोज’को पनि पोखरामा छायाङ्कन जारी छ ।
फागुनपछि दयाहाङको हरेक महिना नयाँ फिल्म प्रदर्शनमा आउने फिल्मीवृतमा चर्चा छ ।
फिल्ममा मिरुना मगरको व्यस्तता बढ्दो छ । उनले लगातार हिट फिल्म दिइरहेकी छिन् ।

मिरुना मगर
यो वर्ष प्रदर्शनमा आएको उनको पहिलो फिल्म ‘मनसरा’ हो ।
५१ दिन मनाउन सफल फिल्म ‘घर ज्वाइँ’मा पनि उनी केन्द्रीय भूमिकामा छन् ।
फिल्मको छायाङ्कन तालिका जुध्दा उनलाई समस्या भएको देखिन्छ । छायाङ्कन जुधेकै कारणले मिरुनाले ‘महाभोज’ छाडेकी थिइन् ।
फिल्म ‘कुस्ती’सँग छायाङ्कन जुध्ने भएपछि उनले ‘महाभोज’ छाडेको बताइएको छ । फिल्म ‘ऊनको स्विटर’मा पनि मिरुना केन्द्रीय भूमिकामा छन् ।

विपिन कार्की
नायक विपिन कार्कीको फिल्म ‘तेल भिसा’ मंसिर ७ बाट प्रदर्शनमा आयो । ५१ दिन मनाए पनि यो फिल्मले अपेक्षित व्यापार गर्न सकेन ।
अहिले विपिन फिल्म ‘कर्मा’को छायाङ्कनमा समय दिइरहेका छन् । यस फिल्मको पहिलो चरणको छायाङ्कन पूरा भएको छ। यस फिल्ममा उनी एक्सन अवतारमा देखिँदैछन् ।
विपिनको अभिनय रहेको फिल्म ‘ऊनको स्विटर’को छायाङ्कन पूरा भइसकेको छ । यो फिल्म वैशाख २६ बाट प्रदर्शनमा आउने बताइएको छ ।
त्यस्तै, विपिन निर्देशक तुलती घिमिरेको ‘कम ब्याक’ फिल्म ‘पहाड’मा पनि अनुबन्ध भएका छन् । यो फिल्ममो छायाङ्कन गत मंगलबारबाट सुरु भएको थियो ।
अहिले भने छायाङ्कन रोकिएको छ । निर्देशक घिमिरे अस्वस्थ भएका कारण छायाङ्कन रोकिएको हो ।

स्वस्तिमा खड्का
नायिका स्वस्तिमा खड्का अहिलको सबैभन्दा व्यस्त मध्येकी नायिका हुन् । उनको अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ गत घटस्थापनमा प्रदर्शनमा आएको थियो ।
उनी फिल्म ‘वसन्त’को छायाङ्कन सकेर अहिले ‘हरिबहादुरको जुत्ता’को छायाङ्कनमा व्यस्त छन् ।
गत सोमबारबाट यस फिल्मको छायाङ्कन सुरु भएको हो ।

प्रियंका कार्की
पछिल्लो केही वर्ष प्रियंका कार्की समय पारिवार योजनाका कारण फिल्ममा सक्रिय भइनन् । पहिलो सन्तालाई जन्म दिन उनी फिल्मबाट ढाढा रहिन् ।
छोरी हुर्किएसँगै उनी फिल्ममा सक्रिय हुन लागेकी छन् । उनको अभिनय रहेको फिल्म ‘ममी’ प्रदर्शनरत छ ।
गत शुक्रबारसम्म प्रियंका ‘ममी’को प्रचार र हलमा पुगेर दर्शकसँग फिल्मबारे प्रत्यक्ष प्रतिक्रिया लिन व्यस्त थिइन् ।
शनिबारबाट उनी ‘हरिबहादुरको जुत्ता’को छायाङ्कनमा सहभागी भएकी छन् । गत सोमबारबाट यो फिल्मको छायाङ्कन सुरु भएको हो ।
काठमाडौं र काभ्रेको विभिन्न स्थानमा ४५ दिनको तालिका लिएर निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो ।
प्रतिक्रिया