‘कुच्चिएको ग्यास सिलिण्डर भेटिए प्रयोग नगर्नुस्, सरकारी निकायमा उजुरी गर्नुस्’ « Khabarhub

‘कुच्चिएको ग्यास सिलिण्डर भेटिए प्रयोग नगर्नुस्, सरकारी निकायमा उजुरी गर्नुस्’

नापतौल विभाग भन्छ- बजारसम्म पुगेर अनुगमन गर्न सकिँदैन



काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित शानदार म:म: रेस्टुरेन्टमा गत माघ २४ गते भएको खाना पकाउने सिलिण्डर विस्फोटमा ज्यान गुमाउनेको संख्या चार पुगिसकेको छ । जीवनमा केही गर्न सपनाको सहर काठमाडौं छिरेका लक्का जवान युवाहरूले ग्यास विस्फोटमा जलेर ज्यान गुमाउनु परेको छ ।

ग्यास विस्फोट हुँदा उक्त रेस्टुरेन्टमा काम गर्ने ११ जना युवा घाइते भएका थिए । जसमध्ये ४ जनाले प्राण त्यागिसकेका छन् ।

त्यस्तै, आइतबार मात्रै खोटाङको हलेसी बजारमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ठूलो क्षति भएको छ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोटका कारण भर्खरै भएका यी घटनाले हामी कति असुरक्षित छौँ भन्ने देखाएको छ । यीबाहेक देशभर समय–समयमा विभिन्न कारणले खाना पकाउने ग्यास विस्फोट हुँदा जनधनको भइरहेका छन् ।

तर, विडम्बना ग्यास सिलिण्डरको प्रभावकारी अनुगमन अभ्यास छैन । जसले गर्दा उपभोक्ताको घरसम्म कति सुरक्षित वा असुरक्षित ग्यास सिलिण्डर पुगेकाबारे राज्यका सम्बन्धित निकायलाई कुनै जानकारी छैन ।

 ‘कुच्चिएको सिलिण्डर लिनु हुँदैन’

खाना पकाउने ग्यासको सिलिण्डरको सुरक्षा अनुगमन गर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल विभाग हो । तर, त्यही विभाग ग्यास बिक्री गर्ने पसलसम्म पुग्दैन । विभागका प्रवक्ता प्रभातकुमार सिंहका अनुसार ग्यास सिलिण्डरमा भर्नेदेखि सिल लगाउने बेलासम्मको अनुगमन गर्ने निकाय त्यही विभाग हो ।

‘सिलिण्डरभित्र भल्भ हुन्छ, रेगुलेटर हुन्छ, अनि पाइप हुन्छ, हामीले यी कम्पोनेन्टहरूको स्टान्डर्ड बनाएका छौँ, यो स्टान्डर्डअनुसार सर्टिफिकेसन पनि गरेका छौँ’, उनी भन्छन्,‘बोटलिङ कम्पनीहरू जति छन् । जसले सिलिण्डरमा ग्यास भर्छन्, ती कम्पनीको पनि हामीले सर्टिफाइड गर्छौँ । हामीले उद्योगहरूमा जुन रिक्वायरमेन्ट सेट गरेका छौँ, त्यो पुगे नपुगेको नियमित अनुगमन गरिरहेका हुन्छौँ, यो क्षेत्रमा गर्ने यति नै हो । हामी फिल्डमा गएर बिक्रेता हेरिरहनु पर्दैन ।’

प्रवक्ता सिंहले ग्यास बिस्फोटका घटना हुनुमा सिलिण्डरको कमजोरी बाहेक पनि अन्य विषय पनि जोडिएको हुनसक्ने बताउँछन् । उपभोक्ताले ग्यास कसरी उपभोग गरिरहेका छन् भन्ने कुरा पनि महत्त्वपूर्ण हुने उनको तर्क छ ।

‘कुनै पनि दुर्घटना हुँदा त्यो के कारणले भएको यकिन हुनुपर्छ, सामान्यत: सिलिण्डर विस्फो हुनुभन्दा पहिले लिकेज भएको हुनसक्छ । लिकेजको पनि धेरै कारण हुनसक्छ’, उनी भन्छन्, ‘एउटा लिकेजको सिस्टममा के समस्या छ भन्ने हुनसक्छ । अर्को, कसरी प्रयोग गरिरहेका छन् भन्नेमा पनि भर पर्छ । रेगुलेटर कसरी प्रयोग भएको छ । पाइप कस्तो प्रयोग गरेको छ भन्ने कुरा पनि लिकेजसँग जोडिन्छ ।’

प्रवक्ता सिंहले उपभोक्ता सचेतना अभियान अझै बढाउनुपर्ने आवश्यकता रहेको बताए ।  नेपालमा झण्डै ५ दर्जन ग्यास एलपी ग्यास उत्पादक कम्पनी सञ्चालनमा छन् ।

पछिल्ला केही वर्षहरूमा ती कुनै पनि कम्पनीलाई सुरक्षा मापदण्ड पालना नगरेको भन्दै सार्वजनिक रूपमा विभागले कारबाही गरेको देखिँदैन । विभागको अनुगमन अभ्यासले कतै विभागले सही रूपमा अनुगमन त गरिरहेको छैन भन्ने प्रश्न उब्जाएको छ ।

विभागका प्रवक्ता सिंहले आफूहरूले नियमित अनुगमन र मापदण्ड उल्लंघन गर्नेलाई कारबाही गर्ने काम गरिरहेको भन्दै यो विषय सार्वजनिक मात्रै नभएको खबरहबसँग बताए । 

‘जुन आधारभूत रिक्वायरमेन्ट छ, त्यो सबै ठाउँमा छ, यो उद्योगको क्षेत्रमा १५ वर्ष अगाडि जुन स्थिति थियो अहिले त्यस्तो अवस्था छैन, तर पनि कहिलेकाहीँ ल्याप्सेस हुनसक्छ’, उनले भने ।

ग्यास सिलिण्डर बिक्री गर्ने पसलहरूमा रङ खुइलिएका र कुच्चिएका सिलिण्डरहरूपनि देखिन्छन् । उपभोक्ता दृष्टिकोणबाट ती कति सुरक्षित हुन्छन् भन्ने जिज्ञासामा प्रवक्ता सिंहले रङ खुइलिएका सिलिण्डर भन्दा कुच्चिएका सिलिण्डर प्रयोग गर्न नहुने बताएका छन् ।

 ‘रङ खुइलिएको हुँदैमा त केही हुँदैन, तर, कुच्चिएको छ भने त्यसलाई नष्ट गर्नुपर्ने हुन्छ, कुच्चिएको सिलिण्डरलाई डिसकरेज नै गर्नुपर्ने हुन्छ’, उनी भन्छन्, ‘सामान्यतया हामी फिल्डमा जाँदैनौँ, फिल्ड भनेको उद्योग बाहिर, तर पनि हामी त्यहाँ गएर कुच्चिएको सिलिण्डरलाई नष्ट गर्न लगाएका छौँ, नगर्नेलाई कारबाही पनि गरेका छौँ ।’

सामान्यतया बजारमा पाइने धेरै वस्तुहरूको उत्पादन र त्यसको म्याद गुज्रने मिति लेखिएको हुन्छ । तर, ग्यास सिलिण्डर जस्तो संवेदनशील वस्तु सुरक्षित छ भनेर ग्यारेन्टी जनाउने लेबलिङ भने विभागकातर्फबाट लगाउने अभ्यास गरेको छैन । जसले गर्दा लेबल हेरेर उपभोक्ताले सिलिण्डर खरिद गर्ने अवस्था भने बजारमा छैन ।

विभागका प्रवक्ता सिंहले ग्यासमा गुज्रने मिति नहुने तर, ग्यास भरेर सिलिण्डरलाई सिल गर्ने बेलासम्म केही परीक्षण गरेर सुरक्षित प्रमाणित गर्ने अभ्यास भएको बताए ।

‘ग्यासमा एक्सपायरी डेट छैन, अरू तौल १४.२ किलोग्राम हुनुपर्ने हुन्छ, त्यसमा ग्यासको तौल थप गरेर हेर्न सकिन्छ’, ‘सिलिण्डर उत्पादन गर्ने उद्योगले उत्पादन गरेर ग्यास भर्ने उद्योगलाई दिन्छ, फिल गर्ने उद्योगमा सिलिण्डरमा पानी राखेर टेस्ट गर्ने हो, त्यस्तो टेस्ट एक पटक गरेपछि फेरि १० वर्षसम्म टेस्ट गर्नुपर्दैन । तर, सिलिण्डर ठिक छ छैन भनेर सिल गर्नुअगाडि तौल जाँच गर्नुपर्ने हुन्छ, त्यसो गर्दा कम भए त्यो सिलिण्डरलाई नष्ट गर्नुपर्छ ।’

प्रवक्ता सिंहले आफूहरूले कायम गरिएको मापदण्डअनुसार काम गरिरहेको र अहिलेको विभागको जनशक्तिअनुसार सबै पसलमा पुगेर अनुगमन गर्न सम्भव नभएको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : ०४ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय