‘राजागंज’मा सेन्सर बोर्डको कैँची- प्रधानमन्त्री ओलीसम्बन्धी सबै संवाद हटाइयो, कालोगोरो भन्न पनि निषेध | Khabarhub Khabarhub

‘राजागंज’मा सेन्सर बोर्डको कैँची- प्रधानमन्त्री ओलीसम्बन्धी सबै संवाद हटाइयो, कालोगोरो भन्न पनि निषेध

निर्देशक रौनियारले भने- सिनेमासँग शासक डराउन थाले


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बाहिर प्रदर्शनमा आइसके फिल्म ‘राजागंज’ मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको छ।

‘राजागञ्ज’मा सेन्सर बोर्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएका दृश्य र संवादमा ब्यापक कैँची चलाएपछि ‘यु’ सर्टिफिकेट दिएको हो ।

यो फिल्ममा ब्यापक कैँची चलाइएपछि निर्देशक दीपक रौनियारले आक्रोश व्यक्त गरेका छन् । ‘बल्लबल्ल अब फिल्म हलमा जाने बाटो खुलेको छ । तर फिल्मको मूल मर्म नै मर्ने गरी सेन्सर बोर्डले मुख्य दृश्यमा कैँची चलाएको छ’, उनले भने, ‘सेन्सरका क्रममा थुप्रैवटा दृश्य र संवादमा कैँची चलाएर काट्न लगाउनु भयो ।’

उनले अब अडियन्सलाई सेन्सर भएको कुरा थाहा दिने गरी हलमा जाने बताए । ‘हामीसँग फिल्मका लागि लामो समय थिएन । हामीलाई समय नभएपछि काटिएका दृश्य खाली छाडेर हलमा जाँदैछौँ’, उनले भने, ‘सेन्सर बोर्डका अधिकारीले सुरुमा त एक सातासम्म स्क्रिप्टनै हेर्नु भएन । अहिले अन्तिममा आएर ‘पब्लिक डोमेन’मा भएको प्रधानमन्त्रीको भाषणको दृश्य र संवाद पूरै हटाउन लगाइयो । प्रधानमन्त्रीले त्यसबेला ‘कुहेका आँपहरू झरे’ भनेर मधेशवादी दलहरूबारे गरेको टिप्पणी पूरै हटाउन लगाइयो । यो कुरा फिल्म हेर्दा दशर्कहरूले थाहा पाउनु हुन्छ ।’

उनका अनुसार इन्स्पेक्टरको भूमिकामा रहेकी निकिता चण्डकले प्रधानमन्त्रीको उक्त डाइलग उदृत गर्दै बोलेको संवाद पनि हटाइएको छ । ‘भर्खरैको एउटा भाषणमा प्रधानमन्त्रीजीले मधेसीलाई आँप भनेर सम्बोधन गरेका थिए । अपहरणकारीले यसलाई पर्सनल्ली लिएको जस्तो छ’, उनको यो डाइलगमा कैँची चलेपछि फिल्म निर्माण पक्षले खाली नै छाडेर हलमा लाँदैछ ।

‘इन्सपेक्टरले अनुसन्धानका क्रममा हेरेको समाचार थियो त्यो । त्यही कुरालाई फिल्ममा डाइलगका रुपमा प्रयोग गरिएको थियो । त्यसलाई हटाउन लगाउनु भयो’, उनले भने, ‘अर्को अनौठो कुरा त फिल्मभर कहीँ पनि प्रधानमन्त्री भन्न पाइएन । गोरो-कालोसमेत भन्न पाइएन । वर्णको कुरा गर्न पाइएन । हिन्दी भाषासमेत काट्न लगाइयो ।’

उनले सेन्सर बोर्डले आफूहरूलाई दुख दिने नियतले दृश्य र संवाद ब्यापक रुपमा काट्न लगाइएको बताए । ‘हामीलाई दु:ख दिने नियतले फिल्मको मूल मर्म नै मर्ने गरी दृश्य र संवाद काट्न लगाइयो । सेन्सर बोर्डले काटेका दृश्य कति छन् हिसाब गर्नै भ्याएको छैन’, उनले खबरहबसँग भने, ‘तर ती सबै कुरा अडियन्सले थाहा पाउँछन् । हामी काटिएका स्थानमा ‘ब्ल्याक स्क्रिन’छाडेर हलमा लाँदैछौँ ।’

सेन्सर बोर्डले तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हत्याएका बेला पत्रिकाका शब्द शब्द सेनाले काटेकै शैलीमा दृश्य र संवाद काटेको बताए ।

‘तत्कालीन अवस्थामा शाही नेपाली सेनाले पत्रिकाको कार्यालयमा छिरेर शासनविरोधी समाचार काटेपछि खाली ठाउँ राखे जस्तै छाड्छौँ’, उनले भने, ‘बाहिर दर्शकलाई हटाएको दृश्य के थियो भन्ने थाहा दिन्छौँ । यस्तो गरिदिँदा फिल्मको मूल मर्म नै मर्छ ।’

उनले यसविरुद्ध न्यायिक प्रक्रियाको झमेलामा पर्न नचाहेको बताए । ‘न्यायिक प्रक्रियामा जाँदा, अदालतमा जाँदा पनि मुद्दा तामेलीमा राखिदिएर कयौँ समयसम्म झुलाइदिन सक्छन्’, उनले भने, ‘थुप्रैजनाले यस फिल्ममा पैसा लगाउनु भएको छ । उहाँहरूको लगानी डुब्ने डर थियो । त्यहीकारण अदालती झमेला गर्न मन लागेन ।’

रौनियारले सेन्सर बोर्डको यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको धावा भनेका छन् । ‘हामी अभिव्यक्ति स्वतन्त्रता भएको देशमा छौँ । तर हामीलाई नेपाल हो कि इरान हो भन्ने अलमलमा पुर्‍याइयो । चलचित्र डुबे एकजनाको मात्रै पैसा डुब्दैन । चलचित्र बनाउन लामो समय छलफल गर्नुपर्छ’, उनले भने, ‘हामीले जुन तहमा मन अमिलो बनाएर फिल्म देखाउनुपरेको छ । यस्तो संकट सबैलाई नपरोस् भन्छौँ । आठ वर्ष लगाएर बनाएको फिल्म हो ।’

निर्देशक रौनियारले प्रधानमन्त्री केपी शर्मा ओली जनताकै छोरा भएको बताउँदै उनीबारे टिप्पणी गर्न पाइने बताए । ‘प्रधानमन्त्री जनताकै छोरा हुन् । उनकोबारे कमेन्ट गर्न नपाइने हो र ?’, रौनियारले भने, ‘सिनेमासँग किन शासक डराइरहेका छन् ? जनतामा देखिएको फ्रस्टेसन यस्तै कारणले हो ।’

रौनियारले राज्यका यस्ता गतिविधिले सिनेमा क्षेत्र संकटमा पर्ने बताए । ‘राज्यले सिनेमा क्षेत्रबाट मिलेएका उपलब्धि खोस्न खोज्दैछ । विश्वमञ्चमा गएर हामी आएका हौँ, तर नेपालमा आएपछि हामीलाई निरुत्साहित गर्ने काम भयो’, उनले थपे ।

रौनियारले यो चलचित्र मधेसको राजनीतिक मुद्दामा केन्द्रित भएर बनाएका हुन् । यसमा मधेश आन्दोलनका दृष्य पनि समावेश छन् । मधेसी-पहाडीबीच दुर्भावना फैलाउन सक्ने आशंका र प्रधानमन्त्री ओलीलाई लाञ्छित गरिएका दृष्य-संवाद सेन्सर बोर्डले हटाइदिएको हो ।

यसअघि चलचित्रको ट्रेलरमै ओलीसँग जोडिएको एक विवादित संवाद राखिएको थियो । उक्त ट्रेलरमा प्रधानमन्त्री ओलीको पुरानो अभिव्यक्तिलाई समावेश गरिएको छ ।

ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा संविधानसभा बहिष्कार गरेका मधेसी दललाई कटाक्ष गर्दै ‘झरेको आँप’ को टुक्का प्रयोग गरेका थिए । तर, चलचित्रमा मधेसी जनतालाई नै आँप भनेको सन्देश दिइएपछि सेन्सर बोर्डले आपत्ति जनाएको हो । २३ भदौ २०७२ मा उनले केही दलले संविधानसभा छाड्दैमा संविधान निर्माण प्रक्रिया नरोकिने बताएका थिए । संविधानसभाबाट बाहिरिनेहरूलाई ओलीले ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए ।

संविधानसभा छाड्ने दलहरूका कारण संविधान बन्दैन कि भनेर भ्रममा नपर्न उनले आग्रह गर्दै भनेका थिए, ‘हामी नेपालीहरूमा नकारात्मक सोच छ, रुखबाट दुई-तीनटा आँप झर्‍यो भने लौ सबै झर्‍यो खत्तम भयो भन्छौँ । वास्तवमा केही मात्रै झरेका हुन् । त्यसले केही फरक पर्दैन ।’

प्रधानमन्त्रीको भाषण चलचित्रमा प्रयोग गर्न अनुमति लिनुपर्ने निर्देशन दिँदै बोर्डले उक्त दृश्यमै कैँची चलाएको हो । निर्माण पक्षले अनुमति लिन नसकिने बताएपछि दृश्य र संवाद काटिएको हो ।

यो चलचित्र सेन्सर पास नहुँदै यही वर्षको भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिएको थियो । निर्देशक रौनियारले महोत्सवमा प्रदर्शन गर्न सेन्सर पासको आवश्यकता नहुने तर्क गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : ०६ बजे

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

बेलायत – लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि

कर्णाली प्रदेशका चार सय ४४ बालबालिका बालगृहमा

सुर्खेत – कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता