काठमाडौं- कुनै समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा थालेको भोजपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावी नतिजाले नेपाली कांग्रेस र नेकपा एमाले दुवै जिल्लिएका छन् ।
भोजपुर पहिलो कुरा त पूर्वराष्ट्रपति भण्डारीको गृहजिल्ला हो । दोस्रो, उनले सदरमुकामस्थित पूर्वी पहाडकै पुरानो भोजपुर बहुमुखी क्याम्पसमा आईए पढेकी थिइन् ।
बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षा थालेकी उनले विद्योदय व्यवसायिक सेकेन्डरी स्कुलबाट एसएलसी गरेकी थिइन् । त्यसपछि भोजपुर क्याम्पसबाट आईए (प्रविणता प्रमाणपत्र तह) सकेपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा बीए अध्ययन गर्न झरिन् ।
यो २०३५ सालतिरको कुरा हो, जुनबेला उनले नेकपा मालेमा सक्रिय हुँदै राजनीति अघि बढाएकी थिइन् । भोजपुर क्याम्पस पञ्चायतकालदेखि नै निरन्तर नेकपा माले र पछि नेकपा एमालेको गढका रुपमा परिचित छ ।
पञ्चायत कालमै मदन भण्डारी भोजपुर जाँदा विद्यासँग पहिलो भेट भएको थियो । तत्कालीन माले नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग उनको पहिलो भेट भएको थियो । बीए पढ्न महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस झरेपछि विद्याको राजनीति झांगियो । मदन त्यसबेला भूमिगत राजनीति गर्थे । भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध बढेर वि.सं. २०३९ सालमा वैवाहिक बन्धनमा परिणत भयो ।
यहाँ स्ववियु निर्वाचनको इतिहासमा अधिकांश समय एमालेनिकट अनेरास्ववियुले नेतृत्व गर्दै आएको छ । करिब ३ पटक मात्रै यहाँ स्ववियुको नेतृत्व नेपाली कांग्रेसनिकट नेविसंघको पोल्टामा गएको थियो ।

जब एमालेको ‘लालकिल्ला’ तोडियो
विगतमा एक्ला एक्लै भिड्दा पनि भोजपुर क्याम्पसको स्ववियुमा एमाले र कांग्रेसनिकट विद्यार्थीहरू नै स्ववियुको नेतृत्वमा पुग्थे । तर, मंगलबार भएको स्ववियु निर्वाचनको नतिजाले यी दुवै दललाई नराम्रो धक्का दिएको छ ।
अर्थात्, यहाँको स्ववियुको नेतृत्व नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले इतिहासमै पहिलो पटक हत्याउन सफल भएको छ । यसअघि निर्वाचनमा कांग्रेस र एमालेनिकट विद्यार्थीहरूलाई टक्करसमेत दिन नसक्ने अवस्थाको क्रान्तिकारीले पहिलो पटक स्ववियु सभापति जित्न सफल भएको छ, त्यो पनि मोर्चा बनाएर लडेका कांग्रेस र एमालेनिकट विद्यार्थीहरूलाई घुँडा टेकाउँदै ।
यहाँ मंगलबार राति आएको नतिजाअनुसार सभापति पदमा अखिल क्रान्तिकारीका सोविन तामाङले अनेरास्ववियुको साथ पाएर मैदानमा उत्रिएका नेविसंघका अशोक कार्कीलाई २५ मतले पराजित गरे ।

अचम्म त कसरी भयो भने एमाले र कांग्रेसनिकट विद्यार्थीहरूले इमान्दारीपूर्वक मत खसालेको भए प्यानल नै निर्वाचित हुने अवस्था थियो । तर, सोविनले यसअघिका आफ्ना रचनात्मक र विद्यार्थीहरूलाई गरेको सहयोग कारण नतिजा उल्ट्याइदिए ।
समानुपातिकतर्फको मतमा पनि अखिल क्रान्तिकारी अगाडि देखिएको छ । परिणामअनुसार क्रान्तिकारी र जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनको पक्षमा सभापति र सचिव दुई कार्यकारी पद गएको छ ।
उता अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलले कोषाध्यक्षसहित ५ सदस्य पद जितेका छन् । यी दुई संगठनमध्ये अनेरास्ववियुले कोषाध्यक्षसहित २ सदस्य र नेविसंघले ३ जना सदस्य जित्न सफल भएको छ । तर, अध्यक्ष र सचिवको मत भने दुई संगठनका विद्यार्थीले अखिल क्रान्तिकारी र जसपानिकट समाजवादी विद्यार्थी युनियनलाई दिएका छन् ।
अर्को चाखलाग्दो कुरा के छ भने भोजपुर क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघले समानुपातिकतर्फको मत एकै बाक्सामा थापे । यति हुँदा पनि समानुपातिकतर्फसमेत अखिल क्रान्तिकारी पहिलो भएको छ ।
भोजपुर क्याम्पसका प्रमुख पर्वत राईले दिएको जानकारी अनुसार समानुपातिक मत जम्मा ४८९ खसेको थियो । जसमा एक्लै बाक्सा थापेको अखिल क्रान्तिकारीको पक्षमा १७४ मत खसेको छ । नेविसंघ र अनेरास्ववियुको पक्षमा २३१ आएको छ । यसअनुसार स्ववियु सभापति जितेको क्रान्तिकारी समानुपातिकमा पनि पहिलो बनेको छ। उता समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियूले ७६ समानुपातिक मत ल्याएका छन् ।
विगतको परिणाम
भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईकाअनुसार यहाँ बहुदलयता निरन्तर एमालेनिकट अनेरास्ववियुको वर्चश्व थियो । उनका अनुसार पञ्चायत रहेकै बेला २०४३/४४ सालमा भएको स्ववियु निर्वाचनमा राजावादीहरूको समूहबाट गोपी तामाङले जितेका थिए । उनी राष्ट्रवादीहरूको नाममा चुनाव लडेका थिए ।
त्यसपछि २०४७ सालको राजनीतिक उथलपुथलसँगै भोजपुरमा संसदीय चुनावमा जस्तै एमालेको वर्चस्व थियो । भोजपुरको संसदीय इतिहासमा अहिलेसम्म कांग्रेसले प्रत्यक्षबाट चुनाव जित्न सकेको छैन । प्रदेशतर्फ २०७९ को चुनावमा जिल्ला सभापतिसमेत रहेका विनोद बान्तावाले खाता खोलेका थिए ।
विगतमा नेविसंघबाट भोजपुर क्याम्पसमा कैलाश आले र शक्तिराज राईले स्ववियु सभापति जितेका थिए । त्यो पनि २०५४ सालमा नेकपा एमाले फुटेपछिको अवस्थामा । एमाले र मालेले दुईजना फरक उम्मेदवार उठाउँदाको फाइदा कांग्रेसनिकट नेविसंघले लिएर दुई पटक सभापति जितेको थियो ।
नत्र भोजपुर क्याम्पसमा निरन्तर अनेरास्ववियुको पकड थियो । २०४६ को राजनीतिक परिवर्तनपछि अनेरास्ववियुले नै ८ पटक सभापति चुनाव जितेको इतिहास छ ।
यहाँ २०४६ को परिवर्तनपछि अनेरास्ववियुबाट मिलन राईले पहिलो पटक चुनाव जितेका थिए । त्यसपछि श्रीकुमार राई, धनकुमार राई, ध्रुवराज राईले दुई कार्यकाल, शारदा राउत, प्रकाशसिंह राई र निशान राई स्ववियु सभापति भए । नेविसंघबाट कैलाश आले र शक्तिराज राई स्ववियु सभापति भए । तर, एमाले र कांग्रेसको लामो विरासत अखिल क्रान्तिकारीले तोड्न सफल भएको छ ।
प्रतिष्ठाको लडाइँ
भोजपुर क्याम्पसमा स्ववियु निर्वाचन विद्यार्थीहरूबीच मात्रै प्रतिस्पर्धा भएन । स्ववियुका लागि कांग्रेस र एमाले दुवै दलका नेता दुई धारमा देखिए ।
कांग्रेसका जिल्ला सभापति विनोद बान्तावाले सुरुमा स्ववियु सभापतिका लागि नेविसंघबाट अशोक कार्कीलाई अघि सारे । तर, बान्तावाविरुद्ध कांग्रेसमा अलग्गै गुट बनाएर हिँडिरहेका पूर्वस्ववियु सभापति तथा भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले अन्तिम समयमा कार्कीलाई आफूतिर ताने ।
आलेले आफू अब कांग्रेसको जिल्ला सभापति बन्न लागेको बताउँदै कार्कीलाई आफ्नोतिर तानेपछि सभापति बान्तावा करिब मौन बसिदिए ।
यसअघि भएको नेपाल पत्रकार महासंघको चुनावमा उनै आलेले नेपाल प्रेस युनियनलाई फुटाएका थिए । युनियनबाट महासंघको सभापति उठेका अर्जनु बस्नेतविरुद्ध अलग्गै टीम बनाएका आलेले सभापति बान्तावाविरुद्ध कांग्रेसमा अलग्गै गुट चलाइरहेका छन् । स्ववियु निर्वाचनमा पनि त्यही क्रमलाई निरन्तरता दिएका उनले धक्का व्यहोर्न पुगेका छन् ।
स्ववियुमा जिताएर कांग्रेसमा आफ्नो पकड बलियो बनाउने दाउमा रहेका आलेको योजनामा एमालेभित्रको कलहले पनि काम गरेको छ । एमालेमा युवा नेता मकरबहादुर खड्का अध्यक्ष छन् । सचिवमा पनि पत्रकारिताबाट आएका एक्सन राई छन् । एमालेको अधिवेशन अघिसम्म पूर्वअध्यक्ष शरण राईको गुटमा थिए । तर अधिवेशनको मुखमा शेरधन राईको गुटमा फर्किएर उनले सचिव पद पक्का गरे ।
एमालेलाई बाहिरबाट हेर्दा युवा नेताहरूले हाँकिरहेको सुनिन्छ र देखिन्छ । तर, खासमा एमाले जिल्लालाई भोजपुर क्याम्पसकै पूर्वप्रमुख भुलानाथ राईले चलाइरहेको चर्चा भोजपुरमा चलिरहन्छ । राई र खड्का दुवै एमाले स्थायी कमिटी सदस्य शेरधन राईनिकट हुन् ।
एमालेभित्र पनि समस्या रहेको चर्चालाई पुष्टि गर्ने गरी एमाले नेतासमेत रहेका राईले बुधबार बिहानै फेसबुकमा एउटा भनाइ सार्वजनिक गरे । उनले राम र रावणको युद्धलाई सम्झिँदै लेखेका छन्, ‘रामायणको युद्धमा रामको विजय उसको पुरूषार्थले भन्दा पनि विभिषणको गद्दारीले भएको थियो’, उनले भनेका छन् । तर, उता एमाले जिल्ला अध्यक्ष खड्का भने अहिलेसम्म मौन छन् ।
उनको यो भनाइ कतातिर सोझिएको हो त ? कांग्रेसमा दुई गुटको मारामार जस्तै स्ववियु निर्वाचनमा पनि एमाले विभाजित भएको चर्चा बाहिरैसम्म छ । खासमा एमालेको अधिवेशनका क्रममा अहिलेका अध्यक्ष खड्कालाई शेरधनको साथ थियो । उता पूर्वपर्यटनमन्त्री कृपाशुर शेर्पासहितको साथ लिएर पूर्वअध्यक्ष शरण राई पनि प्रतिस्पर्धाभा थिए । अघिल्लो कार्यकाल शेरधनकै साथ पाएका शरण यस पटक मकरसँग पराजित भए ।
त्यसपछि एमाले जिल्लामा दुई गुटमा प्रष्टै विभाजित भएको छ । यो स्ववियु निर्वाचनमा पूर्वअध्यक्ष शरण राईले असहयोग गरेको पुष्टि त हुँदैन । तर, उनले आफ्नो पक्षका विद्यार्थीहरूलाई मौन राखिदिँदा निर्वाचन परिणाम अखिल क्रान्तिकारीतिर जान बल पुगेको छ ।


‘एमालेमा पूर्वअध्यक्ष शरण राई प्यानलले असहयोग गर्यो’, एमालेका एक नेताले खबरहबलाई भने, ‘उता कांग्रेसमा कैलाश आलेले पार्टीको जिल्ला नेतृत्वलाई क्रस गरेर आफैं जस लिनतिर लागेपछि अखिल क्रान्तिकारीलाई फाइदा भयो ।’ ती नेताका अनुसार एमालेको वर्तमान नेतृत्वले गत अधिवेशनमा पराजित समूहलाई विश्वासमा लिन सकेन । उता कैलाशले ‘म आफैं सबैथोक हो, पार्टी पनि मै हो’ भन्दा जित्ने चुनाव पनि हार्न पुगेको चर्चा कांग्रेसभित्रै भइरहेको छ ।
नेविसंघ र अनेरास्ववियुलाई धक्का लाग्नुको अर्को कारण पूर्वक्याम्पस प्रमुख भुलानाथ राईलाई मान्छन् एमालेकै कतिपय नेता । खासगरी यस पटक स्ववियु सभापति जितेका सोविनसँग उनको सम्बन्ध राम्रो हुन सकेन । ‘होस्टेलमा शौचालय र बाथरुम बनाउन सोविनले रामप्रसाद गाउँपालिकाकाबाट जुटाएको बजेट पनि खर्च गर्न नदिने गरी क्याम्पस प्रमुख राईबाट असहयोग भयो’, माओवादीका एक नेताले भने, ‘सोविन रचानात्मक क्षमताका विद्यार्थी हुन् । तर, क्याम्पस प्रमुख राईसँग सम्बन्ध राम्रो हुन सकेन । यही कुरालाई पनि विद्यार्थीले चुनावी मुद्दा बनाएर नतिजा उल्टाउन सघाए ।’
शेरधन र सुदनको टक्कर
२०७९ को चुनावमा भोजपुरबाट नेपाली कांग्रेसको दह्रो साथ पाएका सुदन किरातीले नेकपा माओवादी केन्द्रबाट जित निकाले । उनीसँग पराजित भएका शेरधन कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् ।
भोजपुरमा २०६२/६३ को राजनीतिक परिवर्तनपछिको अवस्थामा यी दुई नेता एक अर्कासँग भिडिरहेका छन् । २०७४ मा सुदनले जित्दा शेरधन कोशी प्रदेशतिर झरेका थिए । उनी मुख्यमन्त्रीसमेत बने ।
२०७९ मा यी दुई नेता भिड्दा सुदनले बाजी मारे । पूर्वमुख्यमन्त्रीका रुपमा शेरधनका लागि यो ठूलै धक्का थियो । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको छत्रछायाका कारण उनको राजनीतिक उचाइ रोकिएको छैन । अहिले उनी एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज छन् ।

उता सुदन भने शेरधनलाई हराएपछि एक पटक पर्यटनमन्त्री भए । अहिले माओवादीमा उनी उपमहासचिव जनार्दन शर्मानिकट छन् ।
भोजपुरमा अहिले यिनै दुई नेताबीच प्रतिष्ठाको लडाइँ चलिरहेको छ । सुदनले सामाजिक सञ्जालमार्फत् नै आफ्नो दलनिकटलाई जिताउन आह्वान गर्दा शेरधनले पार्टीको सारा शक्ति परिचालन गराए । यस्तोमा तत्काललाई दुई नेताबीचको प्रतिष्ठाको लडाइँमा सुदनको पल्ला भारी भएको छ ।
‘मिनी निर्वाचन’का रुपमा लिइने स्ववियुको नतिजाले भोजपुरमा माओवादीलाई हौस्याएको छ । माओवादीले २०७९ को निर्वाचनमा पनि भोजपुरका दुई पालिकामा जितेकाले उसलाई कमजोर भन्न त मिल्दैन तर कांग्रेस र एमालेपछि उसको हैसियता तेस्रो हो ।
यस्तोमा स्ववियुको परिणामले सुदनलाई हौस्याउँदा शेरधनका लागि फेरि अर्को धक्का भएको छ । उता एमालेलाई नयाँ उचाइमा पुर्याउने भनेर नेतृत्व सम्हालेका मकर र एक्सनका लागि सुरूमै दाँतको ढुंगो जस्तो बनेको छ यो परिणाम । कांग्रेसमा पनि पत्रकार कैलाश आलेको एजेन्डा फेल खाँदा विनोद बान्तावाहरूलाई राहत मिलेको छ ।
यो पनि-
प्रचण्डको ठाडो चुनौती– ०८४ मा कांग्रेस र एमाले मिलेर आउन्
प्रतिक्रिया