डुडुवा गाउँपालिकाले सुरू गर्‍यो धानको बीउ उत्पादन | Khabarhub Khabarhub

डुडुवा गाउँपालिकाले सुरू गर्‍यो धानको बीउ उत्पादन


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खजुरा– किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि बीउ उत्पादन सुरु गरेको छ । धानको मूल बीउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो । 

उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार करिब दुई सय दुई हेक्टर क्षेत्रफललाई बीउ पुग्ने गरी तयार गरिएको हो । डुडुवाले आफ्नै किसानसँग पाँच लाख ६८ हजार रुपैयाँ बराबर १४ मेट्रिक टन धान खरिद गरी उन्नत जातको बीउ प्रशोधन गरेको उनले बताए । 

धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बीउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताए । उनका अनुसार किसानलाई बीउ वितरण गर्न कति अनुदान तथा कसरी वितरण गर्नेबारे कार्यपालिकाको निर्णयअनुसार कार्यान्वयन गरिने छ । 

डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । पहिलो पटक धानको बीउ उत्पादन गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ । 

दुई सय ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिइएकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए । उनका अनुसार अहिले गहुँ भित्र्याउने समय रहेकाले अब केही दिनभित्रै गहुँ खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने छ । 

किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ । डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्‍याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको उनले उल्लेख गर्नुभयो ।  

अध्यक्ष चौधरीले भने, ‘बीउ उत्पादन तथा भण्डारणपछि यहाँका कोही पनि किसानलाई बीउका लागि भौतारिनुपर्ने अवस्था आउँदैन, पालिकाले सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्नेछ ।’ 

उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ । 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  २ : ३१ बजे

हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : प्रचण्ड

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा

यस्तो छ सक्रिय राजनीतिमा फर्कने विद्यादेवी भण्डारीको घोषणा (पूर्णपाठ)

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब सक्रिय राजनीतिमा फर्कने

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सुरक्षाकर्मीको मृत्यु

एजेनसी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान  जिल्लामा शनिबार भएको

ड्रागन फ्रुटले किसानलाई दिएको नयाँ आशा

वीरेन्द्रनगर– सुर्खेतमा ड्रागन फ्रुटको सम्भावनाले किसानलाई नयाँ आशा दिएसँगै यहाँका

जब पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरिन्…

काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको