काठमाडौं– नेपालमा याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेकाले याक चौँरी पालनका लागि सङ्गठित प्रयास आवश्यक रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन् ।
भौगोलिक चुनौती, बसाइँसराइ, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले याकको सङ्ख्या घट्दै गएको मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अङ्ग बनेका याक चौँरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्व भएको बताए ।
याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताए ।
प्रथम राष्ट्रिय याक दिवसका अवसरमा मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले याक चौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबकोे साझा लक्ष्य रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।
मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौँरीको महत्वलाई आत्मसात गर्दै प्रत्येक वैशाख ७ गते राष्ट्रिय याक दिवसका रुपमा मनाउने निर्णय गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालन ल्याइएको बताए ।
केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुवात गरेको बताए । उनले आगामी दिनमा याक चौँरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
‘याक चौँरी प्रवर्द्धनः हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलो पटक याक दिवस मनाइएको हो । राष्ट्रिय याक दिवसका अवसरमा याकपालक कृषकलाई पनि सम्मान गरिएको छ । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ‘ओमेगा–३ फ्याटी एसिड’ को स्रोत रहेको छ ।
याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको छ । हिमाली क्षेत्रको सभ्यताका रुपमा समेत याक रहेको संरक्षणकर्मीको भनाइ छ । याकको छाला र पुच्छरबाट बन्ने वस्तु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् ।
प्रतिक्रिया