काठमाडौं – ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफू प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित नभएको भन्दै ऊर्जा सचिव सुरेश आचार्यलाई गत चैत २९ मा २४ घण्टे स्पष्टीकरण सोधे ।
ललितपुरको जावलाखेलमा चैत २५ गते भएको कार्यक्रममा सचिव उपस्थित नभएपछि राज्यमन्त्री तामाङले आक्रोश व्यक्त गर्दै स्पष्टीकरण सोधेका थिए ।
सिँचाइ दिवसको अवसरमा आफ्नो प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको मञ्चमा पटकपटक बोलाउँदासमेत सचिव उपस्थित नभएको भन्दै राज्यमन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ सचिव आचार्यले कहिल्यै दिएनन् ।
तर, सचिवलाई स्पष्टीकरण सोधेका उनै राज्यमन्त्री तामाङले बुधबार पदबाट हात धुनुपरेको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवाकै निकटमध्ये एक उनी ऊर्जामन्त्री र सचिव दुवैसँग भिड्न थालेपछि पद गुमाउन पुगेका हुन् ।
उनै तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेपछि योसम्मको समस्या आउन सक्ने आँकलन गरिएको थियो । ‘राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगर्नुको साथै पदीय गरिमा समेत कायम गर्ने नसकेको, नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउने गरी कार्यक्रम बहिष्कार गरेको तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो ?’, उनले चैत २९ मा सचिव आचार्यलाई सोधिएको स्पष्टीकरणमा भनेका थिए ।
मन्त्री तामाङले विभागीय मन्त्रीलाई अवहेलना गरेको हो भन्दै प्रश्नसमेत गरेका थिए । ‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अवहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?’, स्पष्टीकरणमा भनिएको थियो ।
संयोग कस्तो भयो भने मंगलबार मात्रै आएका भारतीय विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर फर्किएलगत्तै तामाङको पद पनि गएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता हुँदा तामाङ कतै देखिएका थिएनन् ।
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आएका भारतीय विद्युत्मन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण सम्झौता भएको थियो। दुई देशबीचका मन्त्रीको उपस्थितिमा काठमाडौं र संखुवासभामा विभिन्न कार्यक्रम हुँदा पनि तामाङ भूमिकाविहीन थिए
गरेका थिए कुलमानको बचाउ
नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमै ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन जोडबल गरेका थिए ।
नभन्दै, पटक पटकको स्पष्टीकरणपछि सरकारले गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकमार्फत् घिसिङलाई सरकारले बर्खास्त गर्यो ।
घिसिङलाई बर्खास्त गरेर प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएको थियो । यो निर्णयमा पनि तामाङले आपत्ति जनाएका थिए ।
उनै तामाङले सार्वजनिक रुपमै कुलमानको बचाउ गरिरहेका थिए । गत फागुन ११ गते सार्वजनिक रुपमै उनले कुलमानलाई स्पष्टीकरण सोध्ने ऊर्जामन्त्री खड्काको कदमको खुलेर विरोध गरेका थिए ।
तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने कुरा उनले संसद् भवन परिसरमै फागुन ११ मा बताएका थिए ।
राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिले नाफाको अवस्थामा ल्याएको भन्दै प्राधिकरणबाट हटाउन नहुने बताएका थिए ।
नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्त्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै उनले हटाउने विषयमा आफ्नो असहमति प्रकट गरेका थिए ।
उनले त्यसबेला आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेकाले फेरि चार वर्षका लागि मौका दिनुपर्ने जिकिर गरेका थिए ।
तर उनको यो भनाइ ऊर्जामन्त्री खड्का र गठबन्धन सरकारको स्वार्थविपरीत थियो । कांग्रेसबाटै राज्यमन्त्री बनेका उनी कांग्रेसकै ऊर्जामन्त्रीसँग स्वार्थ बाझिने गरी टिप्पणी गरिरहेका थिए ।
कुलमानलाई हटाउन सारा शक्ति लगाएका कांग्रेस-एमालेका लागि तामाङको गतिविधि र टिप्पणी स्वीकार्य हुन सकेन । त्यहीकारण गृहमन्त्री रमेश लेखकले तामाङलाई मंगलबार मात्रै राजीनामा दिन सुझाएका थिए । तर, तामाङले राजीनामा नदिने अडान लिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगकै सल्लाहमा बर्खास्त गरेका हुन् ।
प्रतिक्रिया