जनकपुरधाम । मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेलाई वन निर्देशनालयका उपसचिव मनोज ठाकुरले थप्पड हाने छन् ।
मर्यादा तथा जिम्मेवारीअनुसार कर्मचारीतन्त्रको अनुशासन भङ्ग गर्नेगरी स्पष्टीकरण सोधिएका कर्मचारीको बचाउमा लागेको भन्दै उपसचिव ठाकुरले प्रदेश सचिव घिमिरेलाई बिहीबार बिहान जनकपुरधामको मधेश भवनस्थित उनको सरकारी निवासमै थप्पड हानेका हुन् ।
उपसचिव ठाकुर निर्देशनालयअन्तर्गतको समृद्धिका लागि वन परियोजना, प्रदेश परियोजना व्यवस्थापन इकाईका संयोजक हुन् । सचिवलाई थप्पड हानेपछि ठाकुरलाई सो जिम्मेवारीबाट हटाइएको छ ।
अधिकृत नवौँ तहका ठाकुरले उक्त परियोजना व्यवस्थापन इकाईका योजना शाखा प्रमुख तथा सातौँ तहका वन अधिकृत निरज साहलाई स्पष्टीकरण सोधेका थिए । त्यसपछि वन सचिव घिमिरेले मन्त्रालयसँग समन्वय र जानकारी नै नगराई स्पष्टीकरण किन सोधेको भनी ठाकुरलाई नै स्पष्टीकरण सोधेका थिए ।
ठाकुरसँग सोधिएको स्पष्टीकरणमा साहसँग बारम्बार फोन गर्दा सम्पर्कमा नआउने, इकाईको कामकाज तथा कार्यक्रममा समेत नआउने र त्यस्ता गैरजिम्मेवार आचरण नदेखाउन भनी स्पस्टीकरणसहित उपस्थित हुन किन पत्राचार गरेको भनी प्रश्न गरिएको छ ।
‘परियोजनाका लागि संयोजक नै कार्यालय प्रमुख हुन् । निर्धारित काममा हेलचेक्रयाइँ गर्ने, आफू मातहतका कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार कार्यालय प्रमुखमा निहित हुन्छ । यो कानुनी र व्यावहारिक अभ्यास पनि हो । तर, त्यसविपरीत सचिवले आफू मातहतको कर्मचारीलाई स्पष्टीकरण सोध्दा ठाकुरसँग नै त्यस विषयमा स्पष्टीकरण सोध्नु अत्यन्त अनुचित कार्य हो,’ निजामती सेवाका एक जानकारले बताए ।
उनले स्पस्टीकरण सोध्ने हाकिमसँग किन स्पष्टीकरण सोधेको भनी स्पष्टीकरण सोध्नु कर्मचारीको अनुशासन ध्वस्त पार्ने प्रक्रियाको आरम्भ भएको विश्लेषण सुनाए । ठाकुरले स्पष्टीकरणका विषयमा कुरा गर्न गएका बेला सचिव घिमिरेसँग वादविवाद हुँदा उनलाई चड्कन हानेको बताइएको छ ।
ठाकुरले स्पष्टीकरण सोधेका कर्मचारी साह वन तथा वातावरण मन्त्री त्रिभुवन साहका निकट व्यक्ति हुन् । लामो समयसम्म मधेश प्रदेशमा सचिवका रूपमा रहेका घिमिरे आफ्नो कार्यावधि लम्ब्याउन बेरीतपूर्वक ठाकुरसँग स्पष्टीकरण सोधेको भनाइ कर्मचारीहरूको छ ।
चड्कन हानेको विषयमा प्रदेश सचिव घिमिरे र उपसचिव ठाकुरले बोल्न चाहेका छैनन् । उनीहरुले त्यस्तो केही नभएको बताएपनि एक जना कर्मचारीले नामनखोल्ने सर्तमा कुटाकुट भएको पुष्टि गरे ।
प्रतिक्रिया