इस्लामाबाद– कश्मीर विषयमा भारत–पाकिस्तानबीच फेरि चर्किएको तनावको बीचमा पाकिस्तानले दोस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार जारी एक विज्ञप्तिमा पाकिस्तान सेनाले १२० किलोमिटर दायरा भएको मिसाइल सफलतापूर्वक परीक्षण गरिएको जानकारी दिएको छ ।
परीक्षणको उद्देश्य सैनिक तयारी र प्रविधिगत पक्षहरूको प्रमाणीकरण रहेको बताइएको छ । यसअघि शनिबार पनि पाकिस्तानले ४५० किलोमिटर दायरा भएको अर्को क्षेप्यास्त्र परीक्षण गरिसकेको थियो ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अरागची इस्लामाबाद आइपुगेका छन् र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका छन् । उहाँ यही साता भारत पनि जाने कार्यक्रम रहेको छ । इरानले भारत–पाकिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ ।
प्रधानमन्त्री शरीफले सेना ‘राष्ट्रिय सुरक्षाका लागि पूर्ण रूपमा तयार’ रहेको बताए। भारतमा गत महिनाको पर्यटकमाथिको आक्रमणलाई लिएर दुई देशबीच तनाव बढेको हो, जसमा २६ जनाको ज्यान गएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ, तर पाकिस्तानले त्यसको खण्डन गर्दै स्वतन्त्र छानबिनको माग गरेको छ ।
विश्व समुदायले दुबै देशलाई संयम अपनाउन आग्रह गरेको छ । अमेरिका, रूस र अन्य मुलुकहरूले स्थिति थप जटिल नबनोस् भन्ने आशङ्का व्यक्त गरेका छन् ।
प्रतिक्रिया