नयाँदिल्ली- भारतले भोलि (बुधबार) पाकिस्तान सीमानजिक हवाई अभ्यास गर्ने भएको छ।
पाकिस्तानसँगको तनावबीचमा भारतीय वायुसेनाले भोलि पाकिस्तानी सीमा (एलओसी) नजिक हवाई अभ्यास गर्ने भएको हो। वायुसेनाले यसका लागि ‘नोटिस टू एयरमेन (नोटाम)’ जारी गरेको छ।
नोटाम जारी गर्नुको अर्थ पाइलट र हवाईजहाजसँग सम्बन्धित निकायहरूलाई आवश्यक जानकारी दिनु हो, ताकि उनीहरू उडानको समयमा सतर्क रहन सकून्।
बुधबारका दिन देशभरका २४४ क्षेत्रमा युद्धको बेला बच्ने अभ्यास (मोक ड्रिल) गरिने भारतले जनाएको छ । भारतीय गृह मन्त्रालयले यी क्षेत्रलाई ‘सिभिल डिफेन्स जिल्ला’ का रूपमा सूचीकृत गरेको छ। यी सामान्य प्रशासनिक जिल्लाभन्दा फरक छन्।
सिभिल डिफेन्स जिल्लाहरूलाई उनीहरूको संवेदनशीलताको आधारमा ३ श्रेणीमा विभाजन गरिएको छ। श्रेणी-१ सबैभन्दा संवेदनशील, र श्रेणी-३ कम संवेदनशील मानिन्छ। गृह मन्त्रालयले सोमबार नै सबै राज्यलाई मोक ड्रिल गराउन आदेश दिएको थियो।
मंगलबार दिल्लीस्थित गृह मन्त्रालयमा भएको उच्चस्तरीय बैठकमा मोक ड्रिलको तयारीको समीक्षा गरिएको थियो। बैठकमा राज्यका मुख्य सचिवहरू, सिभिल डिफेन्स प्रमुखसहित उच्च पदस्थ अधिकारी सहभागी थिए।
भारतको यस तयारीलाई लिएर पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भारतले नियन्त्रण रेखा (एलओसी) मा कुनै पनि बेला सैनिक कारबाही गर्न सक्ने बताउँदै त्यसको कडा जवाफ दिइने बताएका छन् ।
यो तनावबीच मंगलबार राँचीमा भएको कांग्रेसको ‘संविधान बचाओ र्याली’मा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भने पहलगामा आक्रमणबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी रहेको बताएका छन् ।
२२ अप्रिलको पहलगाम आतंकवादी आक्रमण हुनु तीन दिनअघि प्रधानमन्त्री मोदीसँग गुप्तचर (इन्टेलिजेन्स) जानकारी रहेको दाबी उनले गरेका हुन् । त्यही कारण मोदीले कश्मीर भ्रमण रद्द गरेको दाबी उनको छ । तर मोदीले सर्वसाधारणको सुरक्षाको व्यवस्था गर्न असफल भएको उनले बताए ।
‘पहलगाममा २७ जना निर्दोषको मृत्यु भयो । त्यस घटनामा सरकारले गुप्तचर असफलता स्वीकारेको छ । यदि उनीहरूलाई जानकारी थियो भने उपयुक्त सुरक्षा व्यवस्था किन गरेनन्?’, उनले सोधे ।
उता तनावबीच पञ्जाबको शहीद भगतसिंह नगर (नवांशहर)को जंगलमा प्रहरीले २ आरपीजी, २ आईईडी, ५ ह्याण्ड ग्रिनेड र एक वायरलेस उपकरण बरामद गरेको छ ।
प्रतिक्रिया