अब कहिले हुन्छन् आईपीएलका बाँकी खेल ? | Khabarhub Khabarhub

अब कहिले हुन्छन् आईपीएलका बाँकी खेल ?


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सीमामा भारत र पाकिस्तानको द्वन्द्वका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक साताका लागि स्थगित भएको छ। संसारको सबै भन्दा ठुला र आर्थिक क्षेत्रमा समेत प्रभाव पार्ने यो फ्रेन्चाइज लिग स्थगन भएपछि यसले धेरै प्रश्न उब्जिएको छ। फ्रेन्चाइजका कुल ७० मध्ये ५८ खेल सम्पन्न भएका छन् भने १२ खेल बाँकी छन्। संयोगवश यो निर्णय भएको एक दिनपछि नै अमेरिकी मध्यस्थतामा नै भारत र पाकिस्तानबीचयुद्ध विराम भएको छ।

एक सातापछि सुचारु हुन्छ या फेरि अर्को निर्णय हुन्छ भन्ने नै पहिलो प्रसङ्ग थियो। यो युद्ध विरामसँगै अर्को साता सुचारु हुने सम्भावना नै प्रबल छ। तथापि धेरै प्रश्न अझै कायम छन्। भारत पाकिस्तान संकटले धेरै विदेशी खेलाडी फर्कने सम्भावना देखिएको थियो। सायद, यो अहिले रोकिने छ। आईपीएलको सबैभन्दा निराशाजनक सम्भावना सायद यस युद्ध विरामले टारेको छ।

त्यसो त अर्को सातासम्म सीमाको अवस्था सामान्य बन्ने निश्चित भएको छ। १२ मे मा भारत र पाकिस्तानका अधिकारीबीच हुने वार्ताले अझ धेरै कुरा टुङ्गाउन सक्छ। शुक्रबार भने सबै स्टेक होल्डरसँग सल्लाह गरेर भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) एक साता स्थगनको निर्णयमा पुगेको थियो। सीमामा भएको तनावकै कारण अहिले यातायात सेवामा परेको अप्ठेरोका कारण स्थगनको अनिवार्य भएको जनाइएको छ।

धेरै विदेशी खेलाडी आफ्नो घर फर्कने योजनामा रहेपछि बिसिसिआईले समन्वय गर्दै यातायातमा सहयोग समेत गर्न थालेको थियो। बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटलका बिचमा खेल भइरहेको समयमा ब्ल्याक आउट भएर खेल मात्र रोकिएन। त्यहाँबाट फर्कनका लागि खेलाडीका माझमा समस्या उत्पन्न भएको थियो।

दुवै टोली धर्मशालाबाट जालन्धरसम्म बसमा यात्रा गरेर त्यसपछि रेलको यात्रा गरेर दिल्ली पुगेका थिए। आईपीएलमा अझ १२ खेल बाँकी छन्। एक सातापछि सुचारु भएन त्यसपछि भारतका धेरै घोषित शृङ्खला छन्। यसले आईपीएल यस वर्ष सम्पन्न हुने कुरामा नै धेरै कठिनाइ उत्पन्न हुन पनि सक्थ्यो।

‘भारतका लागि क्रिकेट पक्कै पनि महत्त्वपूर्ण हो। तर, त्यो भन्दा पनि महत्त्वपूर्ण अन्य केही हो,’ भारतीय क्रिकेट टोलीका पूर्व विकेटकिपर दीपदास गुप्ताले भने। गुप्ता आफै पनि शुक्रबार हुने भनिएको लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर बंगलोरु बीचको खेलको कमेन्टेटरको काम गर्न लखनउ पुगेका थिए। उनले घर गएका विदेशी खेलाडी नफर्किए आईपीएल अर्को साता अघि बढ्न कठिन हुने बताएका छन्। इङ्ल्यान्डका धेरै खेलाडी घर फर्कने क्रममा थिए भने अस्ट्रेलियाका खेलाडीले तयारी गरेका थिए। वेस्ट इन्डिजका खेलाडी भने भारतमा नै छन्।

कारोबारमा संकट
आईपीएलको प्रसारणका लागि सन् २०२२ मा नै ६ दशमलव ०२ अर्ब अमेरिकन डलरमा सम्झौता भएको थियो। यस भन्दा पछि आईपीएल सरेमा इङ्गल्यान्ड र वेल्स क्रिकेट बोर्डका खेलाडीको विवाद बढ्न सक्छ। सेप्टेम्बर भने इङ्लिस खेलाडीका लागि उपयुक्त महिना हुनसक्छ। यस परिस्थितिलाई बुझेर जियो स्पोट्सले सहज वातावरण बनाएकोमा बिसिसिआईले आभार व्यक्त गरिसकेको छ।

भारत र पाकिस्तानको यो तनावको असर विश्वव्यापी रूपमा हुने प्रतियोगितामा समेत देखिन सक्छ। दुवै देश क्रिकेटका शक्ति हुन्। आइसिसीका सबै प्रतियोगितामा दुई देशको सहभागिता रहने गरेको छ।

अक्टोबर महिनामा महिला विश्वकप भारतमा आयोजना हुनेछ। त्यसका लागि पाकिस्तान छनोट भइसकेको छ। पाकिस्तानी टोली भारत जाने सम्भावना न्यून छ। यसै कारण पनि आयोजकले अर्को स्थान खोज्नु जरुरी छ।

आईपीएलको अर्को सम्भाव्य मिति ?
बिसिसिआईको लक्ष्य मे महिनामा नै सक्ने हो। यस अघि निर्धारित समय अनुसार २५ मे मा सकिने थियो। जुन महिनामा भारतको इङ्गल्यान्डको टेस्ट शृङ्खला सुरु हुनेछ। मे या जुनका सुरुवाती दिनसम्ममा हुन सकेन भने अर्को सम्भावना भएको मिति अगस्ट र सेप्टेम्बर हो। अगस्टमा हुने भनिएको बङ्गलादेश भ्रमण पनि भारतले रद्द गर्ने सम्भावना छ। सेप्टेम्बरका लागि तय भएको एसिया कप पनि हुने सम्भावना कम छ। त्यसै समयमा आईपीएलको सम्भावना छ। यस अवस्थामा युद्ध विराम भए पछि १५ मेबाट आयोजनाको तयारी गरेको छ। यो बीचमा घर गएका विदेशी खेलाडीलाई फर्काउनका लागि यो समय माग गरिएको हो।

इङ्गल्यान्डमा आईपीएलको सम्भव होला ?
इङ्लिस क्रिकेट टोलीका पूर्व कप्तान माइकल भौनले बाँकी रहेका खेल इङ्गल्यान्डमा गर्न सुझाव दिएका थिए। यसअघि पनि यदाकदा आईपीएलका खेलहरू भारत भन्दा बाहिर भएका थिए। सन् २००९ मा पनि दक्षिण अफ्रिकामा आईपीएलका खेल भएका थिए।

सन् २०१४ मा पनि एक चौथाइ खेल संयुक्त अरब इमिरेट्समा भएका थिए। कोभिड महामारीका कारण सन् २०२१ मा विदेशमा नै भएको थियो। भौनको विचारमा इङ्गल्यान्डमा खेल भएमा यसपछि हुने शृङ्खलाका लागि समेत भारतीय खेलाडीका लागि सहज हुनेछ।

आईपीएल स्थगनको निर्णय पछि भारतीय स्टार विराट कोहलीले सामाजिक सञ्जालमा लेख्दै सेनाप्रति सम्मान गर्दै यस समयमा सबै भारतीय सेनाको पक्षमा रहनुपर्ने बताएका थिए।

पिएसएल पनि स्थगित
पाकिस्तानको फ्रेन्चाइज पिएसएल पनि स्थगित भएको छ। सुरुवातमा यो फ्रेन्चाइज युएईमा हुने भनिएको थियो। शुक्रबार प्राय खेलाडी त्यहाँ पुगेका थिए। त्यहाँ पुगिसकेपछि शुक्रबार नै पाकिस्तानी क्रिकेट बोर्डले स्थगनको निर्णय सुनाएको थियो।

इमिरेट्स क्रिकेट बोर्डले सुरक्षाको कारण जनाउँदै कुनै जोखिम लिन नचाहेको बताउँदै पाकिस्तानी बोर्डलाई सहयोग गर्न तयार नभएको हो। युद्ध विराम नभएको भए युएईमा भारतीय फ्रेन्चाइजले पनि अवसर पाउने सम्भावना कम थियो।

यो घटनाले भारत र पाकिस्तानका दुवै फ्रेन्चाइज लिग सङ्कटमा परेका थिए। भारत र पाकिस्तानका क्रिकेट बोर्डले आइतबार फ्रेन्चाइजका बारे निर्णय गर्ने छ।

यी दुई मध्य पिएसएल भन्दा आईपीएलको प्रभाव धेरै छ। यसले सायद फ्रेन्चाइजको आर्थिक कारोबारमा पनि संकट आउन सक्ने छ। यसको बारे सबै लेखाजोखा भने भएको छैन।
स्रोत : क्रिकइन्फो, बिबिसी, फस्ट पोस्ट

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : १२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु