सुर्खेत– कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा विपद् साहसिक पुरस्कार वितरण गरेको छ । प्रदेश सरकारले कर्णालीका विभिन्न जिल्लामा खटेर विपद्का घटनामा खोज, उद्धार र पुनर्स्थापना कार्यमा पाँच जनालाई पुरस्कार दिइएको हो ।
विपद् साहसिक पुरस्कार पाउनेमा नेपाल प्रहरी दुई जना, नेपाली सेनाका दुई जना र सशस्त्र प्रहरीका एक जना रहेका छन् । उनीहरूलाई जनही ३० हजार नगद, खादा तथा प्रमाणपत्र दिएर सम्मान गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक धर्मेन्द्र खडकाले १७ कार्तिक २०८० मा जाजरकोट भूकम्पमा पुरिएका, घाइते भएका, मृत लासहरुको खोज, उद्धार र राहतमा उल्लेखनीय योगदान दिएकामा र हवलदार प्रेमबहादुर चुनारालाई ११ साउन २०८१ मा सुर्खेतको वीरेन्द्रनगर–१३ मा खम्ब बुढाको घर भत्किदा उनको १४ बर्षिया छोरी सुशीला बुढा च्यापिएको अवस्थामा सकुशल उद्धार गरेकोमा साहसिक पुरस्कार दिइएको हो ।
नेपाली सेनाका पिउठ विजय कोइरालालाई २५ चैत्र २०८० मा डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका–४ भवानी सामुदायिक वनमा आगलागी नियन्त्रण गर्न अदम्य साहस देखाउँदा आफै घाइते भएको (हालसम्म उपचारमा नै रहेको) र पिउठ केवल कटुवाललाई १७ कार्तिक २०८० मा जाजरको भूकम्पका कारणले जोखिम पूर्ण चट्टान व्यवस्थापनको ‘अपरेसन सिमपानी रक्षा’ कार्यमा बाह्य धनजनको क्षति हुन नदिई आफै घाइते भएका कारणले साहसिक पुरस्कार दिइएको हो ।
त्यस्तै, सशस्त्र प्रहरीका सहायक हवलदार धनबहादुर पुनलाई ३ पुष २०८१ मा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनास्थित सिटी हल नजिकै रहेको पुलबाट भेरी नदीमा हाम फालेका व्यक्तिलाई सकुशल उद्धार गरेका कारणले साहसिक पुरस्कार दिएको हो ।
प्रतिक्रिया