केराबारीको गाउँ बडीमालिकाको कोर्ध, बर्सेनि करोड आम्दानी | Khabarhub Khabarhub

केराबारीको गाउँ बडीमालिकाको कोर्ध, बर्सेनि करोड आम्दानी


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

धनगढी – जहाँ केराकाे झाङ नभएको कुनै घर छैन । सबै घरका आँगन केराका बोटले भरिएका छन् । आगँन होस् कि बारीका पाटा, त्यहाँ पनि केराकै थाम ।

बाजुराको बडीमालिका–६ कोर्ध, पालिकाकै सिङ्गो एउटा वडा हो – जहाँ ४ सय ७७ बढी परिवारको बसोबास छ । उनीहरू सबैका घरमा केराका झाङ देख्न सकिन्छ । गाउँको माटो र हावापानी केरा खेतीका लागि उपयुक्त छ । सामान्य घरपरिवारले पनि केरा बिक्रीबाट मासिक ५ सय देखि ३ हजार रुपैयाँसम्म आम्दानी गरेका छन् ।

केरा : आम्दानीको मुख्य स्रोत तर व्यवसायिक छैनन् किसान

कोर्धबासीको आम्दानीको प्रमुख स्रोत केरा खेती भए पनि व्यवसायिक रूपमा खेतीको प्रवर्द्धन गरिएको छैन ।

‘केरा खेतीमा उत्ति मिहिनेत पनि पर्दैन, व्यवसायिक रुपमा कोही काम पनि गर्दैनन्, तर प्रत्येक घरमा केराका झाङ छन्, बिक्री गरेर घर खर्च पनि जुटाउँछन्,’ बडीमालिकामा पूर्वनगर प्रमुख पदम बडुवाल भन्छन् । उनी कोर्धका स्थानीय पनि हुन् ।

बडुवालका अनुसार ‘केरा खान कोर्ध दानीवाडा जानु’ भन्ने पुरानै उखानै रहेको छ । बडुवाल आफूले पनि भैंसी पालन, आलु र केरा खेती थालेका छन् । सबैलाई केरा खेतीमै लाग्न र राम्रो आम्दानीमा जोडिन वडुवाल सुझाव दिन्छन् ।

कोर्धअन्तर्गत दानीवाडा, ऐराडा, साउँदवाडा, पिसीया, खड्कावाडा, गैरीबजार, चौराडाँडा, काफलडाँडा, ठूलाघर, खाली, बाँगेकोट र फणिल्ला टोल पर्छन् ।

‘केरा उत्पादनका लागि कोर्ध उर्वरभूमिका रुपमा रहेको छ,’ बडीमालिका–६ का वडाध्यक्ष कृष्ण खड्का भन्छन्, ‘सहज बाटो छैन, नजिक बजार छैन, त्यो भन्दा बढी किसानमा व्यवसायिक खेती गर्ने इच्छाशक्ति छैन ।’

व्यवसायिक रुपमा केरा खेती गरे बर्सेनि करोडौंको आम्दानी हुने वडाध्यक्ष खड्काको बताउँछन् । खड्काका अनुसार हालको आम्दानी आँकलन गर्दा पनि कोर्धका स्थानीयले बर्सेनि एक करोड रुपैयाँ भन्दा बढी आम्दानी केरा खेतीबाटै गर्छन् ।

एक परिवारले मासिक ५ सय देखि ३ हजारसम्म कमाइ गरेका छन् । ४ सय ७७ परिवार सबैको आम्दानी जोड्दा वर्षभरि गाउँमा केरा खेतीबाटै डेढ करोडसम्म आम्दानी हुने गरेको अनुमान वडा कार्यालयको छ ।

‘सबैले बिक्री गर्छन् भन्ने छैन्, केही आफैँ खान्छन्, कोही बिक्री गर्छन्, तर आम्दानी हेर्दा एउटै गाउँमा व्यवसायिक खेतीबिनै उल्लेखनीय आम्दानी छ, व्यवसायिक रुपमा खेती गर्ने हो भने त झन धेरै आम्दानी हुनेथ्यो,’ वडा सदस्य परे बडुवाल भन्छन् ।

स्थानीय चन्द्र खड्का, कालु खड्का, खन्टे खड्का, दल खड्काका परिवारको मुख्य आम्दानीको स्रोत केरा खेती नै हो ।

नजिक बजार नहुँदा मार्तडी पुर्‍याउन बाध्य

कोर्धमा उत्पादन हुने केराका लागि नजिकै बजार छैन । सदरमुकाम मार्तडी बोकेर ल्याउनु पर्ने बाध्यता छ ।

केराको बिक्रीबाट आउने–जाने गाडी भाडा पुर्‍याउन नसकिने अवस्था छ । गाउँ पुग्न सडक त बनेको छ तर कच्ची छ । नियमित सवारी सधान चल्दैनन् । चले पनि मार्तडी पुग्न ३ सय रुपैयाँसम्म एकतर्फी भाडा तिर्नुपर्छ ।

बजार समस्याले व्यवसायिक खेतीलाई निरुत्साहित गरिरहेको स्थानीयको गुनासो छ । उसो त गाउँमा कृषि उपज सङ्कलन केन्द्र पनि बनेको छ । तर पनि ढुवानी समस्या कायमै छ । बजारको ग्यारेन्टी छैन ।

मिहिनेतबिना पनि केरा खेती उत्पादन भइरहेको छ । सीप अनुभवकै प्रयोग गरेर व्यवसायिक खेती गर्न सके, बाजुराका लागि आवश्यक केरा कोर्धमै उत्पादन हुने देखिन्छ ।

कोर्धलाई केरा खेतीको केन्द्र बनाउने नगरको योजना

कोर्धलाई केरा खेतीको केन्द्र बनाउने योजनासहित लागि परेको नगर प्रमुख अमर खड्का बताउँछन् ।

‘कृषि एम्बुलेन्स किनिसकिएको छ, अबका योजना पनि उत्पादन र आम्दानीसँग जोडेर नै तय गर्ने योजना छ’ नगर प्रमुख खड्काले भने, ‘कोर्धलाई केरा खेतीकै हब बनाउने उद्देश्य छ ।’

नगर प्रमुख खड्का आफैं दुई पटक गाउँ पुगेर किसानसँग छलफल गरिसकेका छन् । पालिकामा भौतिक विकाससँगै उत्पादनका गतिविधिमा जोड दिने योजनामा रहेका खड्का बताउँछन् ।

‘उत्पादन किसानले गरिदिनु पर्‍यो, बजार र बाटोको ग्यारेन्टी हामी गर्छौं, किसानले मिहिनेतको आम्दानी पाउने नीतिगत व्यवस्थासहित बजेट विनियोजन गर्छौं ।’ नगर प्रमुख खड्काले भने ।

गाउँ पुगेका नगर प्रमुखलाई किसानले प्राविधिक नै गाउँमा पठाएर आवश्यक ज्ञान, सीप दिन अनुरोध गरे ।

‘कोर्धको जमिन भिरालो र पाखो छ । जताततै केरा खेती गर्न सकिने सम्भावना छ । भीरमा समेत आफैं उम्रिएर केरा फलेका छन् ।’ नगर प्रमुखलाई किसानले भने ।

केरा पकाएर बेच्नु भन्दा काँचो घरी बिक्री गर्दा किसानलाई फाइदा हुने भएकाले त्यतातिर पनि ध्यान दिन नगर प्रमुख खड्काले किसानलाई आग्रह गरे ।

कोर्धको एकमात्रै विकल्प कृषि

कोर्धका स्थानीय पशुपालन, जडीबुटी, दलहन र पर्यटनका क्षेत्रमा लागेका छन् । तर अधिक सम्भावना भने कृषिको क्षेत्रमा छ । कम लगानीमा राम्रो आम्दानीका लागि केरा खेतीको ठूलो सम्भावना रहेको कृषि विज्ञहरूको सुझाव छ ।

भौगोलिक रुपमा केरा खेती गर्न सहज हुने भएकाले महिलाहरूलाई जोड दिनुपर्ने नगर उपप्रमुख नन्दाकुमारी थापाको जोड छ । वडाको जनसङ्ख्या २ हजार २ सय बढी छ । ती मध्ये हाल ४ सय ६० जना बढी वैदेशिक रोजगारका लागि भारतसहित देशका विभिन्न क्षेत्रमा गएको वडाको तथ्याङ्क छ ।

स्थायी जागिरे कमै छन् । व्यापारमा पनि संलग्नता कमैको छ । यो अवस्था सुधारका लागि कृषि खेतीबाहेक अर्को विकल्प नभएको वडाध्यक्ष कृष्ण खड्का बताउँछन् ।

‘जमिन जति पनि छ, जङ्गल छेउमा खेती गरे पनि उत्पादन मनग्गे हुने देखिन्छ, यो वर्षको प्राथमिकता नै केरा खेतीमा हुनेछ ।’ खड्काले भने ।

नगरपालिकाले पनि आलु, तरकारी, सीमी मकै, मुला र केरा खेतीलाई प्राथमिकतामा राखेर नीति बनाउने लक्ष्य लिएको छ । वडाका स्थानीयले पनि केरा खेतीकै लागि बजेटको माग गरेका छन् ।

यहाँ केरा खेतीबाहेक सुन्तला खेती पनि गर्ने गरिएको छ । भैंसी पालनको प्रचुर सम्भावना र आलु खेतीको पकेट क्षेत्र पनि कोर्ध । महको समेत यहाँ उल्लेखनीय उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १० : ४५ बजे

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर – गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा

वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट

शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छः शिक्षा मन्त्री पन्त

कास्की – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा