‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ? | Khabarhub Khabarhub

धनाढ्यको झगडा

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

मस्कका कम्पनीलाई विस्थापन गरी विकल्प खोज्न ट्रम्प प्रशासनलाई पनि छैन सहज


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका अनुसार यतिखेर विश्वमा तीन हजार २८ जना व्यक्ति तथा घराना डलर अर्बपति छन्‌ । नेपाली रुपैयाँमा सम्पत्ति हिसाब गर्दा ती व्यक्ति खर्बपति हुन्‌ ।

फोर्ब्सले सन्‌ २०२५ मार्च ७ तारिकमा प्रविष्ट गरेको विवरणअनुसार, संसारका डलर अर्बपति सूचीको पहिलो नम्बर अमेरकी धनाढ्य एलन मस्कले ओगटेका छन्‌ । उनको सम्पत्ति ३४२ बिलियन अमेरिकी डलर बराबर छ ।

अटोमोटिभ व्यवसायी मस्कसँग भएको सम्पत्ति नेपाली रुपैयाँमा हिसाब गर्दा चार नील ६५ खर्ब १२ अर्ब रुपैयाँ हुन आउँछ । अर्थात्‌; नीलपति मस्कसँग ४६५ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति छ ।

मस्ककै देशका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि फोर्ब्स अर्बपति सूचीमा छन्‌ । घरजग्गा कारोबारी ट्रम्प संसारका ७००औं शीर्ष धनाढ्य हुन्‌ । ट्रम्पको कुल सम्पत्ति ५.१ बिलियन अमेरिकी डलर अर्थात्‌ पाँच अर्ब १० करोड अमेरिकी डलर बराबर छ ।

नेपाली रुपैयाँमा यो रकम ६ खर्ब ९३ अर्ब ६० करोड रुपैयाँ हुन आउँछ । अर्थात्‌, नेपाली रुपैयाँमा सम्पत्ति हिसाब गर्दा ट्रम्प पनि खर्बपति हुन्‌ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पसँग भन्दा उनको देशका व्यवसायी मस्कसँग ६७ गुणा धेरै सम्पत्ति छ ।

अमेरिकाका लागि ४७औँ राष्ट्रपति चुनिएसँगै खर्बपति ट्रम्पको प्रशासनमा यसबीच नीलपति मस्कको हालीमुहाली चल्यो । आफूलाई जिताउन चुनावमा अथाह डलर खर्चेका मस्कलाई ट्रम्पले अमेरिकी नीतिनिर्माणको शीर्ष तहमै नियुक्ति दिए ।

ट्रम्प-मस्कका कतिपय निर्णयले विश्वभर नै तहल्का मच्चायो । ट्रम्प र मस्क दिनानुदिन थप धनी बन्दै गए । यति धेरै निकटता बनाएका ‘बिलिनायर बड्डिज’हरू यतिखेर भने आश्चर्यजनक ढङ्गले दुश्मनजस्तै बनेका छन्‌ ।

मस्कले ट्रम्प प्रशासन छाडिसकेका छन्‌ भने ट्रम्पले पनि टेस्लाबाट आफूले किनेको कारसमेत बेचेर मस्कसँगको ‘सम्झना-बिर्सना’ नै मेट्न खोजेका छन्‌ ।

ट्रम्पसँग खटपट परेपछि मस्कले हालै आफू राजनीतिबाट पछि हट्ने घोषणा गरे । राष्ट्रपति ट्रम्पले ल्याएको कर र खर्चसम्बन्धी विधेयकप्रति उनको असन्तुष्टि थियो । जिम्मेवारीबाट हटेपछि मस्कले ट्रम्पविरुद्ध वाकयुद्ध नै गरिरहेका छन्‌ ।

खर्बपति राष्ट्रपति र नीलपति शीर्ष धनाढ्यबीचको टकरावलाई यतिखेर विश्वले नै चाखपूर्वक हेरिरहेको छ । अमेरिकी राष्ट्रपति कार्यालयमा ट्रम्पको रितिथिती नै उदाङ्गो पारिरहेका मस्कको आउँदा दिनका प्राथमिकता त बदलिएका छन्‌, तर ती प्राथमिकताले उनको अपेक्षा पूरा नगर्ने जोखिम बढेको छ । मस्कले जनताको नजरबाट पर रहेर टेस्ला र आफ्ना अन्य कम्पनीको सम्पत्ति बढाउन ध्यान दिने अपेक्षा थियो ।

तर यतिखेर उनलाई आफ्नो व्यवसायको प्रमुख ग्राहकमध्ये एक अमेरिकी सङ्घीय सरकारबाटै बहिष्कारको धम्की आइरहेको छ । ट्रम्पसँगको टकरावकै कारण बिहीबार टेस्लाको शेयर मूल्यमा पनि ठूलो गिरावट देखियो । कम्पनीको शेयरमूल्य एकैदिन १४ प्रतिशतसम्म घट्यो, किनकि मस्कले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पविरुद्ध टिप्पणी गरिरहेका थिए ।

ट्रम्पसँगको चर्काचर्की शुक्रबार केही मत्थरजस्तो भएपछि मस्कका कम्पनीको शेयरमूल्यमा केही सु्धार देखियो । तर, फोन छाडेर काममा लाग्न सल्लाह दिइरहेका लगानीकर्ता र विश्लेषकहरूका अनुसार; अबका दिनमा मस्कको कम्पनीको अवस्था त्यति राम्रो हुने देखिँदैन ।

व्यवसायमा गहिरो तनाव

सर्सर्ती हेर्दा त ट्रम्पसँगको तनावले मस्कलाई आगामी दिनमा समस्या पार्ने देखिन्छ । धनाढ्यको सूचीमा आफूभन्दा ७०० स्थान तल भए पनि ट्रम्प संसारकै शक्तिशाली मुलुक अमेरिकाका राष्ट्रपति हुन्‌ ।

मस्क निकटहरूका अनुसार मस्क पछिल्लो चर्काचर्कीभन्दा पनि ठूलो तनावमा छन्‌ । त्यो तनाव निकै गहिरो छ ।

सूचना-प्रविधि क्षेत्रका वरिष्ठ पत्रकार कारा स्वीसरले त यसै साता सान फ्रान्सिस्को शहरमा आयोजित मिडिया समिट परिसरमा भनिदिए, ‘टेस्ला अब बर्बाद भइसकेको छ ।’

उनका अनुसार; टेस्ला एक राम्रो कम्पनी थियो । चालकरहित कार प्रतिष्पर्धामा टेस्ला अब्बल हुन सक्थ्यो, तर अबलाई निकै पछि परिसकेको छ ।

टेस्ला कम्पनीको कारले पछिल्लो निकै समययता प्रतिद्वन्द्वी वेमोसँग प्रतिष्पर्धा गरिरहेको छ । वेमो गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले उत्पादन गरेको कार हो ।

सान फ्रान्सिस्कोका सडकमा पछिल्ला वर्षहरूमा वेमोका कार दौडिरहेका देखिइन्छन्‌ । अमेरिकाका अन्य कयौँ शहरहरूमा पनि वेमो कार देखिन थालेको छ । यसको अर्थ हो – घरेलु बजारमै टेस्लाको हिस्सा अन्य कम्पनीले हडप्दैछ ।

यसै महिना मस्क टेक्सासको अस्टिनमा टेल्लाको स्वचालित ट्याक्सी अनावरणमा पुग्नेछन्‌ । पछिल्लो साता उनले सामाजिक सञ्चाल एक्समार्फत जानकारी दिएका थिए कि टेस्लाले ड्राइभररहित मोडल वाइ कार परीक्षण गर्दैछ ।

अमेरिकी शेयरबजारमा कम्पनीहरूको धितोपत्र विश्लेषण गर्ने वेडबुश सेक्युरिटिजका विश्लेषक ड्यान इवेसले यही साता बीबीसीसँग भनेका छन्‌, ‘आउँदा दिनमा टेस्लाको कुला सम्पत्तिको ९० प्रतिशत हिस्सा स्वचालित र रोबोटिक्स कार बिक्रीबाट आर्जित कमाइको हुनेछ ।’

तर, मस्कले धेरैतिर ध्यान दिएकाले टेस्लाको यो परियोजना सफल हुन लामो समय लाग्ने अनुमान गरिएको छ । अर्कातर्फ यो परियोजनाप्रति मस्क आफैँ कति उत्साहित छन्‌ भन्ने कुराले सफलता निर्धारण गर्नेछ ।

चिन्तित छन्‌ त मस्क ?

सूचना-प्रविधिको वैश्विक केन्द्र मानिने सिलिकन भ्यालीमा मस्कले कुनै कुरामा बदलाव ल्याउने भन्दा पनि त्यसप्रति उनी चिन्तित छन्‌ कि छैनन् भन्नेबारे चर्चा चलिरहेको छ ।

जरबर कावासाकी वेल्थ एण्ड इन्भेष्टमेन्ट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोस ग्रेबर भन्छन्‌, ‘मस्क जब कुनै कुरामा केन्द्रित हुन्छन् भने उनी निकै शक्तिशाली देखिइन्छन्‌ । यसअघि विद्युतीय सवारीसाधन बनाउने मामिलामा उनले आफूलाई सिद्ध गरेका थिए । यस्तो प्रविधि जो कोहीले बनाउन सक्दैन । रकेट बनाउने मामिलामा पनि उनी प्रमाणित भए । उनले धेरै कुरा प्रमाणित गर्नुपर्नेछ ।’

टेस्लाको शेयरमा लामो समयदेखि लगानी गरिरहेका जरबर यतिखेर भने त्यति उत्साही देखिँदैनन् । ट्रम्पको दक्षिणपन्थी राजनीतिमा मस्कले कदम राखेपछि नै उनले टेस्लामा रहेको आफ्नो हिस्सा घटाउँदैछन्‌ । ट्रम्प र मस्कबीच चलिरहेको टकरावलाई लिएर उनी थप चिन्तित छन्‌ ।

टेस्लाको सकस

एलन मस्कका अघि खास समस्या यो हो कि डोनाल्ड ट्रम्पलाई दुश्मन बनाउनु अघि नै उनको कार कम्पनी (टेस्ला) विरुद्ध आम तहमा सोसल मिडिया क्याम्पेन सुरु भइसकेको थियो ।

जब मस्कको समर्थन र सहयोगबाट चुनाव जितेका ट्रम्पले राष्ट्रपति पद सम्हाल्दै थिए, त्यतिखेरै टेस्लाविरुद्ध कयौँ शहरमा प्रदर्शन भएको थियो । यसैकारण चालु वर्षको पहिलो त्रैमासमा टेस्लाको कार बिक्रीमा २० प्रतिशत गिरावट आयो । कम्पनीको मुनाफा ७० प्रतिशतभन्दा बढीले घट्यो भने शेयरमूल्य पनि गिर्‍यो ।

फेब्रुअरीमा क्यालिफोर्नियाको बर्कलेमा टेस्ला डिलरसीप बाहिर प्रदर्शनमा सहभागी लिन्डा कोइस्टिननन भन्दै थिइन्‌, ‘सरकारलाई विभिन्न टुक्रा लगाएर हाम्रो लोकतन्त्रको भविष्य फैसला गर्ने अधिकार मस्कलाई छैन । मस्क जे गरिरहेका छन्‌, त्यो सही छैन ।’

सामाजिक सञ्जालमा चलाइएको ‘टेस्ला टेक डाउन’ अभियान चलाउनेमध्ये एक डिसइन्फर्मेसन रिसर्चर जोन डोनोवनले भने, ‘मामिला प्रविधि या टेस्ला कम्पनीको होइन । यो अभियान त्यसको विरोधमा हो – जसरी टेस्लाको शेयरलाई हतियार बनाइएको छ । यसले मस्कलाई यस्तो स्थानमा पुर्‍याइदिएको छ – जहाँ उनलाई पारदर्शीता बिनाको अथाह शक्ति प्राप्त भएको छ ।’

डोनोवन ट्रम्प प्रशासनमा मस्कको आवद्धताबारे बोल्दै थिए ।

मस्कको व्यापार साम्राज्यको अर्को एक हिस्साले पनि आलोचकहरूमा असन्तुष्टि बढाइदिएको छ । त्यो हो – उनको सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्वीटर) । डोनोवन भन्छन्‌, ‘फुर्तीफार्ती गर्न र एक झट्कामै करोडौँ मानिसहरूसम्म पुग्न मस्कले ट्वीटर खरिद गरेका हुन्‌ ।’

व्यक्तिगत ब्राण्ड

ट्रम्पसँगको ‘हाइ-प्रोफाइल टकरावले मस्कलाई ती मानिसबीच पुनः स्थान बनाउन सहयोग पुग्ने/नपुग्ने निश्चित छैन । किनकि ट्रम्पनिकट हुनासाथ मस्कसँग धेरै मानिसहरूले निकटता तोडेका थिए ।

तर, मुर इन्साइट्स एण्ड स्ट्राटेजीका मुख्य विश्लेषक पैट्रिक मुरहेड पूर्वसमर्थकमाझ मस्कको पुनःस्थान सम्भव देख्छन्‌ । उनी भन्छन्‌, ‘अमेरिका अत्यन्त क्षमाशील देश हो । केही समय (समर्थकमाझ मस्कका हकमा) लाग्ला । पहिले पनि यस्तो नभएको होइन ।’

शीर्ष अर्बपति मध्येकै एक अमेरिकी नागरिक बिल गेट्सको उदाहरण दिँदै कारा स्वीसरले भनेकी छिन्‌, ‘गेट्सलाई उनको अहङ्कार र असभ्य व्यक्तित्वकै कारण सिलिकन भ्यालीका डार्क वाडर (व्यापारिक क्षेत्रका कुख्यात खलनायक) भनिन्थ्यो । आफ्ना कमजोरीबीच बिल गेट्स राम्रो छवि स्थापित गर्न धेरै हदसम्म सफल भए ।’

स्पेश एक्सको के होला ?

मस्कको अर्को हैरानी यो पनि हो कि उनी के गर्छन्‌ भन्ने कुराले मात्रै उनको कम्पनीको भविष्य टिकाउँदैन । बरु ट्रम्पले अब के गर्छन्‌ भन्ने कुराले चाहिँ मस्कका कम्पनीको भविष्य निर्धारण गर्ने देखिन्छ ।

राष्ट्रपति पदका लागि दौडमा रहँदा ट्रम्पलाई डलर खर्बपति मस्क आवश्यक थिए । तर, दुईबीच चर्काचर्की चलिरहँदा अब ट्रम्पलाई मस्क आवश्यक हुने/नहुने स्पष्ट छैन ।

नोआपिनियन सबस्टकका लेखक नोआ स्मिथले भनेका छन्‌ कि क्रिप्टोकरेन्सीमा ट्रम्पले प्रवेश गरेपछि मस्कप्रति उनको निर्भरता अन्त्य भइसकेको छ । मस्कको प्रभावबाट बाहिर निस्किन ट्रम्पले क्रिप्टोको बाटो रोजेको हुनसक्ने उनको अनुमान छ ।

बिहीबार ट्रम्पले गरेको एउटा टिप्पणीलाई खतरनाक मानिएको छ । उनले मस्कका कम्पनीसँग अमेरिकी सरकारले गरेका ठेक्का सम्झौता रद्द गर्ने आदेश जारी गर्न सक्ने बताएका थिए । यस्तो ठेक्का कम्तिमा ३८ अर्ब डलर बराबरको छ ।

यो ठेक्काको सबैभन्दा ठूलो हिस्सा मस्कको रकेट बनाउने कम्पनी स्पेसएक्सले प्राप्त गरेको छ । यदी ट्रम्पले ठेक्का तोड्ने निर्णय गरेमा उक्त कम्पनीको भविष्य खतरामा पर्न सक्छ ।

तर, ट्रम्पले धम्की दिए पनि स्पेसएक्ससँगको ठेक्का तोड्न अमेरिकी सरकारलाई मुस्किल पर्ने देखिन्छ । किनकि स्पेसएक्सको ड्रागन स्पेसक्राफ्टले मानिस र कार्गोलाई अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) सम्म पुर्‍याउन सक्छ । यतिखेर अमेरिकी उड्ययन तथा अन्तरिक्ष प्रशासन (नासा) का तीन अन्तरिक्षयात्री स्पेस स्टेशनमै छन्‌ ।

यस्तो स्थितिबाट के पुष्टि हुन्छ भने अमेरिकी अन्तरिक्ष तथा राष्ट्रिय सुरक्षा संयन्त्रभित्र मस्कको स्पेसएक्स निकै शक्तिशाली बनिसकेको छ । जसकारण मस्कलाई दिएको धम्कीलाई यथार्थमा बदल्न खोज्दा राष्ट्रपति ट्रम्प समस्यामा पर्नेछन्‌ ।

मस्ककै लगानीको इन्टरनेट स्याटेलाइन कम्पनी स्टारलिङ्कको अवस्था पनि उस्तै छ, जसलाई विस्थापित गरी विकल्प खोज्न अमेरिकी सरकारलाई सहज छैन ।

तर, यदि ट्रम्पले चाल्न सक्ने कदममा सीमा छन्‌ भने मस्कका हकमा पनि अवस्था उस्तै हो । टकराव बढेपछि मस्कले ड्रागन स्पेसक्राफ्टको काम बन्द गर्ने धम्की दिएका थिए । तर, केही घण्टाभित्रै उनले यस्तो धम्की फिर्ता लिए ।

एक्सका एक प्रयोगकर्ताले मस्कलाई ‘शान्त हुन’ सल्लाह दिएका छन्‌ । मस्कले प्रत्युत्तर लेखेका छन्‌, ‘सल्लाह राम्रो छ । ठीक छ, हामी ड्रागनको काम बन्द गर्दैनौँ ।’

अब एउटा कुरा चाहिँ प्रष्ट छ – ट्रम्प र मस्कको दोस्ती टुटेको छ । तर एक-अर्कोप्रति उनीहरूको निर्भरता सकियो या बाँकी नै छ भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

मस्कको व्यवसायिक भविष्य अबलाई जस्तो होस्‌ ! तर, यस्तो लाग्छ कि मस्कको व्यवसायमा ट्रम्प र उनको प्रशासनको कामकाजको असर चाहिँ ठूलै पर्नेछ ।

(बीबीसी कलेक्टिभ न्यूजरूमबाट अनूदित र सम्पादित सामग्री ।)

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ६ : ५७ बजे

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्यो, सावधानी अपनाउन आग्रह

काठमाडौं– उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह

कृषिसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको बैठक बस्दैछ

माओवादी स्थायी समिति बैठक बस्दै, अध्यक्षको प्रस्तावमा नेताहरूले धारणा राख्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक

भारतीको ब्याटिङमा जडेजाको कीर्तिमान : के-के बने रेकर्ड ?

काठमाडौं – इंग्ल्यान्डमा शृङ्खला जोगाउन सङ्घर्ष गरिरहेको भारतले ब्याटिङमा थुप्रै