भिरमहको उत्पादन घट्यो « Khabarhub

भिरमहको उत्पादन घट्यो


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताए। पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेका थिए ।

हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले उत्पादन कम भएको पाइजाले बताए । म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा भिरपहरामा जेठ महिनामा मह सिकार गर्ने चलन छ ।

वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । गत वर्ष दुई हजार लिटर मह निकालेको धौलागिरि गाउँपालिका–२ खोरीयाका मह सिकारी मोतीप्रसाद पाइजाको टोलीले यस वर्ष ५०० लिटर मात्र निकालेको छ ।

धौलागिरिको गुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूर्णको हिस्तानमा रहेका भिरमा मह सिकार गर्न गएका सिकारी टोलीहरुले पनि मह उत्पादन घटेको बताएका छन् । खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बीच भागमा भिरमौरीको वासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन् ।

डोरीको सहायताले डरलाग्दो भिरमा झुन्डिएर निकालिने भिरमह प्रतिलिटर तीन हजारदेखि तीन हजार ५०० रुपैयाँका दरले भिरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक मानिने भिरमह धार्मिक कार्यका लागि पनि प्रयोग हुन्छ ।

विदेश गएका र सहरमा बस्नेहरुले भिरमह कोसेलीका रुपमा लैजाने गर्छन् । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टी रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिए पछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् मौरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।

मौरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । (रासस)

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै