कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम « Khabarhub

कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ- हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ ।

नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो ।

‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नम्बर ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

‘त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन् । कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रुपमा ब्राण्डिङ गर्नेगरी तालिमको आयोजना गरिएको हो’, उनले भने, ‘तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ । खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ ।’

नगरपालिकाको कृषि शाखाद्वारा सञ्चालित तालिमको सहजीकरण काठमाडौँबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमले गरेका थिए । दक्ष प्राविधिको सहजीकरणमा कोदोको परिकार बनाउने तालिम निःशुलक लिन पाएपछि सहभागीहरू व्यावसायिक बन्न उत्साहित बनेको नगरपालिकाले जनाएको छ ।

रैथाने बाली ‘कोदो’को बजार सम्भावनालाई आत्मसात् गर्दै स्थानीय युवाका लागि सीपमूलक उद्यमशीलता प्रति आकर्षित गर्नका लागि तालिमको आयोजना गरिएको नगरप्रमुख विमला राईले बताए । ‘तालिममा सहभागीले पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ एकैसाथ सिक्न पाएका छन् । उनीहरूलाई तालिमले केवल सीपमात्र होइन, आत्मविश्वास र प्रेरणा पनि थपिदिएको छ’, उनले भने, ‘कोदोको पोषण, स्वाद र प्रयोगशैलीको विविधता उजागर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिमले रैथाने बाली कोदोको उत्पादन तथा मूल्य वृद्धि र स्थानीय उद्यमशीलतालाई थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।’

तालिममा सहभागीलाई कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै गुणस्तरीय परिकार उत्पादन, ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणका पक्षमा पनि व्यवहारिक जानकारी र अभ्यास गराइएको नगरपालिकाले जनाएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्यानमा राखेर कोदो बालीलाई पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोड्ने प्रयास गरेको हो ।

तालिम समापन अवसरमा प्रशिक्षार्थीले उत्पादन गरेका सबै परिकारहरू कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले अवलोकन गर्नुका साथै स्वाद परीक्षण गरेका छन् । तालिममा सहभागी विद्यार्थीले उत्पादन गरेका कोदोको विभिन्न प्रकारका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको समापन कार्यक्रमका सहभागीले बताएका छन् ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा रैथाने बाली कोदो उत्पादन बढी हुने भएकाले पनि त्यसलाई प्रवर्द्धन गर्दै कोदोको विभिन्न प्रकारका परिकार उत्पादन गरेर बजारीकरण गर्न तालिमको आयोजना गरिएको जनाइएको छ ।

तालिमले विशेषगरी युवालाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने कृषि बाली उत्पादनको संरक्षण तथा सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । (रासस)

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ८ : २३ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर