इरानको क्रान्ति र निरङ्कुश शासन : नेपालले सिक्नुपर्ने पाठ | Khabarhub Khabarhub

इरानको क्रान्ति र निरङ्कुश शासन : नेपालले सिक्नुपर्ने पाठ



इरान सधैँ विश्व राजनीतिको केन्द्रविन्दुमा रहँदै आएको छ । शिया इस्लाम धर्म मान्ने मुस्लिमहरूको बाक्लो जनसङ्ख्या भएको यो देश प्राचीन सभ्यता र अपार प्राकृतिक स्रोतका लागि परिचित छ । विशेषगरी, इरानको विशाल तेल भण्डारले यसलाई विश्व अर्थतन्त्रमा विशिष्ट स्थान दिएको छ । देशको शासन प्रणालीमा सर्वोच्च नेता अयातुल्लाह अली खोमेनेइको निर्णायक प्रभाव छ । जसका निर्देशनहरूले इरानको आन्तरिक र बाह्य नीतिहरू निर्धारण गरिन्छ ।

हाल विश्वको ध्यान इरान, इजरायल र अमेरिकाबीचको तनावमा केन्द्रित छ । सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा यी सम्बन्धका घटनाहरूले प्रचण्ड चर्चा पाएका छन् । यस्तो विवाद नेपालमा समेत पुगिसकेको छ, जहाँ मानिसहरू इरानका राजनीतिक घटनाक्रमलाई चासोका साथ हेर्दैछन् । यद्यपि भौगोलिक रूपमा टाढा भए पनि नेपाल र इरानबीच केही ऐतिहासिक र सांस्कृतिक समानताहरू पाइन्छन् ।

केही मानवशास्त्रीहरूले इरानलाई नेपालका आर्य पुर्खाहरूको मूलभूमि मानेका छन्, जसले दुई देशबीच सांस्कृतिक सम्पर्कको सम्भावना देखाउँछ । जसको चर्चा नेपालसम्म पनि हुन्छ । यद्यपि उहिले असल दौत्य सम्बन्ध भएका नेपाल र इरानबीच दिर्घकालीन गहिरो सम्बन्ध छैन । तर, मध्यपूर्वका अन्य देशहरूमा जस्तै रोजगारीका लागि नेपाली युवाहरू त्यहाँ पुगेका छन् । तथापि, इरानमा नेपालीहरूको सङ्ख्या थोरै छ ।

हाल उपलब्ध तथ्याङ्कअनुसार, इरानमा करिब २० नेपाली नागरिक छन्, जसमा रोजगारीमा १५ र विभिन्न कारणले जेलमा ५ जना छन् । कठोर इस्लामी कानून र राजनीतिक अस्थिरताका कारण नेपालीहरू इरानलाई रोजगारीको गन्तव्यको रूपमा प्राथमिकता नदिएको स्पष्ट छ ।

इरान र नेपालबीच भिन्नताहरू थुप्रै छन् । भूगोल, धर्म, शासनप्रणाली, संस्कृतिदेखि सामाजिक संरचनासम्म । यद्यपि केही गहिरा समानताहरू छन्, जुन इतिहास र मानव उत्पत्तिका सन्दर्भमा उल्लेखनीय छन् । इरानलाई कतिपय मानवशास्त्री र इतिहासकारहरूले हाम्रो पुर्खाको भूमि मानेका छन् । आर्य सभ्यताको प्रसारसँगै, दक्षिण एशिया र मध्य एशियाका बीचको सांस्कृतिक एवं जातीय सम्बन्ध झल्किन्छ ।

यिनै सन्दर्भहरूमा भनिएको पाइन्छ कि, नेपालमा बसोबास गर्ने कतिपय जाति र समुदायका पूर्वजहरू कुनै समय इरान क्षेत्र हुँदै हिमालयतर्फ सरेका थिए । त्यसैले इरान केवल टाढाको देश मात्र होइन हाम्रो ऐतिहासिक स्मृतिको एउटा बिन्दु पनि हो । मानव सभ्यताको यात्रामा, इरान र नेपालबीचको सम्बन्ध कुनै न कुनै रूपमा जोडिएको पाइन्छ ।

इरानको राजनीतिक इतिहासले नेपाललाई सिकाउने गहिरा पाठहरू समेटेको छ । लामो समय राजतन्त्रमा जीवन बिताएका इरानी जनताले स्वतन्त्रता र न्यायको खोजीमा क्रान्ति गरेका थिए । १९७९ को जनताको क्रान्ति विशेष गरी भ्रष्टाचार र दमनको विरुद्धमा थियो । त्यो समयका विद्यार्थीहरूले पश्चिमी गीतहरू बजाउँदै सडकमा आन्दोलन गरे । लोकतान्त्रिक व्यवस्था र नागरिक स्वतन्त्रताको माग गरे ।

यद्यपि त्यो राजतन्त्र पूर्ण लोकतान्त्रिक थिएन । नागरिकहरूलाई केही हदसम्म व्यक्तिगत स्वतन्त्रता थिए । त्यसै वर्ष सन् १९७९ मा विशाल जनआन्दोलनको दबाबमा इरानका शाह मोहम्मद रजा पहलवीले सत्ता त्याग्न बाध्य भए । शाहको शासनकालमा चरम भ्रष्टाचार, असमानता र अमेरिकी प्रभावको कारण जनतामा आक्रोश बढेको थियो ।

राजतन्त्र अलोकतान्त्रिक थियो । तर केही हदसम्म व्यक्तिगत स्वतन्त्रता भने नागरिकले भोग्न पाएका थिए । लोकतान्त्रिक व्यवस्था र नागरिक अधिकारको माग गर्दै सहर सहरमा प्रदर्शनहरू चर्किएका थिए । विद्यार्थी, महिलाहरू, मजदुर र मध्यम वर्गका मानिसहरू स्वतन्त्रता र सुधारको आशमा आन्दोलनमा उत्रिएका थिए ।

यद्यपि आन्दोलनमा सुरुदेखि नै धार्मिक वर्ग विशेष गरी शिया इस्लामी धर्मगुरुहरूको उपस्थितिले भविष्यमा सत्ताको स्वरूप कुन दिशामा मोडिनेछ भन्ने सङ्केत दिएको थियो । यस जनआन्दोलनको नेतृत्व अन्तत अयातुल्लाह रुहोल्लाह खोमेनीजस्ता धार्मिक विद्वानहरूको हातमा पुग्यो । खोमेनी, जो तत्कालीन इरानको धर्मिक समाजमा अत्यन्त प्रभावशाली थिए । क्रान्तिको प्रतीक बने र फ्रान्सको निर्वासनबाट फर्किएपछि नै उनी सत्ताको केन्द्रमा आए ।

उनको उपस्थितिले आन्दोलनलाई धार्मिक रूप दियो, र राजनीतिक स्वतन्त्रता खोज्नेहरूको अपेक्षा उल्टो मोडियो । शाहको राजतन्त्रको अन्त्यले नागरिकहरूलाई स्वतन्त्रताको आशा त दिलायो तर क्रान्तिपछि स्थापित ‘इस्लामी गणराज्य’ झन् कठोर र केन्द्रीकृत निकाय बन्यो । यसरी राजा मोहम्मद रजा पहलवी गद्दीबाट हटेपछि खाली भएको सत्ता कट्टरपन्थी धर्मगुरुहरूले सम्हाले ।

त्यसको परिणामस्वरूप इरान एक कठोर धार्मिक शासनतर्फ गयो । जुन धेरै आन्दोलनकारीहरूले सुरुवातमा कल्पनासमेत गरेका थिएनन् । सत्तामा धार्मिक कट्टरपन्थीहरू प्रभावशाली भएर उदाए । नयाँ शासनले कठोर शरिया कानुन लागू ग¥यो । राज्यले ‘विलायत–ए–फकिह’ नामक धार्मिक विद्वानद्वारा शासन प्रणाली अपनायो । जसमा सर्वोच्च नेताको भूमिका अत्यन्त सशक्त र केन्द्रीकृत रह्यो । रुहोल्लाह खोमेनीले एक दशकसम्म इरानको सर्वोच्च नेताको रूपमा शासन सम्हाले ।

उनको निधनपछि १९८९ मा अयातुल्लाह अली खोमेनेइले पदभार सम्हाले र आजसम्म पनि उनी सत्ता केन्द्रित छन् । खोमेनेइले इस्लामिक रिभोलुसनरी गार्ड स्थापना गरे । जसले राजनीतिक, सैन्य र सामाजिक क्षेत्रमा ठूलो प्रभाव राख्छ । साथै, ‘मोरल पुलिस’ को स्थापना गरी नागरिकहरूको निजी जीवनमा पनि कडाइ गरियो । यद्यपि इरानमा राष्ट्रपति निर्वाचित हुन्छन्, तर अधिकांश निर्णायक अधिकार सर्वोच्च नेताको हातमा छ ।

लोकतन्त्रको आशामा सडकमा निस्केका इरानी नागरिकहरूलाई दुवै सर्वोच्च नेताले निराश बनाए । खोमेनेइ र खएनीको उदयपछि त्यहाँका नागरिकले आफ्नो स्वतन्त्रता गुमाए । महिला माथि कडा नियमन आयो । हिजाब अनिवार्य गरियो । र, अभिव्यक्ति स्वतन्त्रता अत्यन्त सीमित भयो । प्रेस स्वतन्त्रता खतरामा प¥यो । र आलोचना गर्नेहरूलाई दमन गरियो । राजतन्त्रको तुलनामा नयाँ शासन प्रणालीमा जनताको अधिकार झनै कम भयो । धार्मिक सर्वोच्चताका नाममा आलोचना गर्नेहरूलाई कठोर सजायको सामना गर्नुप¥यो । जसले सामाजिक भय र दमनको वातावरण सिर्जना ग¥यो ।

महिलाहरूको अवस्था विशेषगरी चिन्ताजनक रह्यो । शिक्षा, रोजगार र सार्वजनिक जीवनमा उनीहरूको पहुँचमा कटौती गरियो । पुरुषप्रधान कानुनले महिला अधिकारमा प्रतिबन्ध लगायो र ‘मोरल पुलिस’ ले सामाजिक जीवनमा नियन्त्रण बढायो । शिक्षित र सचेत महिलाहरू पनि आफ्नो आवाज दबाउन बाध्य भए । यस्ता परिस्थिति एकदमै निराशाजनक थिए ।

इरानको आर्थिक अवस्था पनि झन् खराब बन्दै गयो । अन्तर्राष्ट्रिय प्रतिबन्ध, भ्रष्टाचार र पारदर्शिताको अभावले गर्दा देशको अर्थतन्त्र जर्जर भयो । तेल उत्पादनको बावजूद पनि जनतालाई भोकमरी, महँगो वस्तुहरू र बेरोजगारीको सामना गर्नु परेको छ । युवावर्ग विदेश पलायन हुन बाध्य छन् । जसले ‘ब्रेन ड्रेन’ लाई तीव्र बनाएको छ र उत्पादनशीलतालाई कमजोर पारेको छ ।

सरकारले जनताको जीवनस्तरभन्दा सामाजिक नियन्त्रणलाई प्राथमिकता दिएको छ । महिलाले टाउको ढाक्नुपर्ने नियमको पालना भए कि भएन भनेर ‘मोरल पुलिस’ कडाइ गर्दैछ । यसरी राज्यले व्यक्तिगत स्वतन्त्रतालाई कठोरतापूर्वक नियन्त्रण गरिरहेको छ । उहिले अंग्रेजी गीत बज्ने तेहरानमा मोरल पुलिसले कडा निरीक्षण गरिरहेको हुन्छ । त्यहाँ कसले कस्तो कपडा लगाएको छ भनेर मोरल पुलिसले निगरानी गरिरहेको हुन्छ ।

तीन वर्षअघि महसा अमिनी २२ वर्षकी युवती इरानको कुर्द क्षेत्रबाट तेहरान आएकी थिइन् । उनलाई मोरल पुलिसले राजधानीको सडकमा ’अशुद्ध तरिकाले हिजाब लगाएको’ आरोपमा गिरफ्तार गरेको थियो । उनको हिरासतमा मृत्यु भयो । उनको मृत्युपछि इरानमा महिला, युवा विद्यार्थी सडकमा आए । महसा अमिनीको हत्यापछि सुरु भएको आन्दोलनलाई ‘इरानको दोस्रो क्रान्ति’ पनि भनिएको छ ।

सन् १९७९ को क्रान्तिपछि यो नै सबैभन्दा व्यापक विरोध आन्दोलन थियो । शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका नागरिकमाथि खोमेनेइले निर्मम दमन गरे । तथाकथित सर्वोच्च नेताको आदेशमा सयौंको सङ्ख्यामा प्रदर्शनकारी मारिए । हजारौं जेल परे । र, धेरै महिलालाई अमानवीय यातना भोग्न बाध्य बनायो । इरानमा दुई प्रकारका सेना छन्— एक औपचारिक राष्ट्रिय सेना र अर्को खोमेनेइको नियन्त्रणमा रहेको ‘रिभोलुसनरी गार्ड ।’

यी दुवै सङ्गठनले राष्ट्रिय सुरक्षाभन्दा व्यक्तिगत र धार्मिक सत्ता संरक्षणलाई प्राथमिकता दिएका छन् । इरानमा राष्ट्रपति र उपराष्ट्रपति पनि छन्, तर ती पदहरू प्राय नाम मात्रका हुन् । यो प्रणाली हाम्रो उहिलेको पञ्चायती व्यवस्था जस्तो देखिन्छ । जहाँ प्रधानमन्त्रीसहित मन्त्रीपरिषद् भए पनि वास्तविक सत्ता दरबारमा केन्द्रित हुन्थ्यो । इरानमा पनि देखाउनका लागि राष्ट्रपति, उपराष्ट्रपति सहितको मन्त्रीमण्डल छ । तर शासनको बागडोर पूर्ण रूपमा सर्वोच्च नेता अयातुल्लाह अली खोमेनेइको हातमा छ ।

राजनीतिक निर्णय र प्रशासनिक कार्यहरूमा राष्ट्रपति र मन्त्रिपरिषद्को भूमिका सीमित छ । सर्वोच्च नेता (जसले धार्मिक र राजनीतिक दुवै अधिकारहरू सम्हाल्छ) ले देशको आन्तरिक र बाह्य नीति निर्धारण गर्दछ । इरानको वर्तमान संरचनाको शासन उहिलेको राजतन्त्रभन्दा पनि बढी निरङ्कुश छ । यसले नागरिकहरूमा असुरक्षाको भावना फैलाएको छ । यद्यपि राजालाई भ्रष्टाचारको आरोप लगाएर हटाइएको थियो । तर राजन्त्रको विकल्पमा आएको शासन व्यवस्था झन बढी निरङ्कुश र दमनकारी बनेको छ । जनताको राजनीतिक अधिकार र स्वतन्त्रता सीमित बन्यो । जसले राजनीतिक अस्थिरता र सामाजिक तनावलाई थप गहिरो बनायो ।

आन्दोलन व्यवस्थापन हुन नसक्दा परिवर्तनको मूल उद्देश्यहरू पूरा भएनन् । नेपालमा पनि अहिले केही समूहहरूले राजनीतिक दलहरूको कमजोरी र भ्रष्टाचारको आधारमा राजतन्त्रको पुनस्थापना गर्न खोजिरहेका छन् । यद्यपि, पुरानो निरङ्कुश शासन प्रणालीमा फर्किनु भनेको अधिकार र स्वतन्त्रताको पुनः हानी हो । सङ्घीय लोकतान्त्रिक व्यवस्थामा सुधार गरेर मात्र दीर्घकालीन समाधान सम्भव छ । निरङ्कुश शासनमा सुधार गर्ने सम्भावना न्यून छ ।

इरानको अनुभवले नेपाललाई स्पष्ट सङ्केत दिएको छ कि व्यवस्था परिवर्तनमा दूरदर्शिता र सचेत रणनीति आवश्यक हुन्छ । अधिकार गुम्ने अवस्था आउन नदिन जनतामा जागरूकता र लोकतन्त्रप्रति विश्वास कायम राख्नुपर्छ । नेपालमा गणतन्त्रको विकल्प राजतन्त्र होइन । यसले जनताको अधिकारको रक्षा गर्दछ र लोकतान्त्रिक सिद्धान्तलाई बलियो बनाउँछ ।

नेपालमा जनताको लामो सङ्घर्षपछि मात्र राजतन्त्र हटाएर गणतन्त्र स्थापित गरिएको हो । आजको चुनौती यस व्यवस्थामा सुधार ल्याउनु हो । पुरानो प्रणालीमा फिर्ता नजानु हो । राजनीतिक नेतृत्व र व्यवस्थामा सुधार गर्नुपर्ने भए पनि मूल व्यवस्थाको अवमूल्यन गर्नु उपयुक्त छैन । निर्वाचनमार्फत् जनताले असल नेतृत्व चयन गर्न सक्ने अधिकार राख्छन् ।

नेताहरूको विगत मूल्याङ्कन गरी सही निर्णय लिने अवसर लोकतन्त्रले प्रदान गरेको छ । यसैले जनताले सचेत भएर मतदान गर्नु आवश्यक छ । राजनीतिमा विकल्प हुनु लोकतन्त्रको आधार हो र यसबाट नै समाजमा सकारात्मक परिवर्तन सम्भव छ । राजतन्त्र फिर्ता गर्नु भनेको अन्धकार र निरङ्कुशतामा फिर्ता जानु हो । यसले अभिव्यक्ति स्वतन्त्रता समाप्त पार्छ । प्रेसलाई नियन्त्रणमा ल्याउँछ र अदालतलाई दरबारको अधीन बनाउँछ ।

यस्तो स्थिति संविधान र नागरिक अधिकारको पूर्ण उलङ्घन हो । हिजो हामी प्रजा थियौँ । आज नागरिक भएका छौँ । यस फरकलाई बुझेर मात्र समृद्धि र स्वतन्त्रताको मार्ग अपनाउन सकिन्छ । नेतृत्वको कमजोरी देखेर पूरै व्यवस्थालाई दोष दिने सोचले मात्र विगतको त्रुटि दोहो¥याउने खतरा बढ्छ । ‘सौताको रिसले ओछ्यानमा पिसाब गर्नु हुँदैन’ भन्ने नेपाली उखान यहाँ प्रासङ्गिक छ । व्यवस्था होइन, नेतृत्व सुधार्नुपर्ने आवश्यकता छ ।

अन्ततः निष्कर्ष के हो भने, नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । यदि राजतन्त्र फर्काइयो भने त्यसलाई हटाउन कठिन हुन्छ र त्यसले पुनः दमन र कुशासनको पुनरागमन गराउँछ । त्यसैले सचेत नागरिकका रूपमा हामीले लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा ध्यान दिनुपर्छ । लोकतन्त्रलाई निरन्तरता दिनु नै राष्ट्रिय समृद्धि, स्वतन्त्रता र न्यायको सुनिश्चितता हो ।

नेपालका लागि इरानको अनुभव एउटा गहिरो पाठ हो । जहाँ जनताको सङ्घर्षले राजतन्त्र त हटायो । तर विकल्पमा आएको शासन अझ कठोर बन्यो । स्वतन्त्रताको नाममा गरिएको क्रान्तिले स्वतन्त्रता झनै घटाइदियो । यसबाट सिक्नुपर्ने कुरा के छ भने व्यवस्था परिवर्तन मात्रै होइन । परिवर्तनपछिको बाटो, नेतृत्व, नीति र अभ्यासमा पनि जनता सचेत हुनुपर्छ । विकल्पको खोजी गर्दा विगतका गल्ती नदोहोरिने गरी सोच्न सक्नुपर्छ ।

नेपालमा गणतन्त्र आएको दशकभन्दा बढी समय भइसक्दा पनि अपेक्षित सुधार हुन नसकेको जनगुनासो रहनु स्वाभाविक हो । तर यसै आधारमा निरङ्कुश व्यवस्थाको पुनरागमन चाहनु भोलिका पुस्ताको अधिकारमाथिको खिल्ली हुनेछ । त्यसैले स्पष्ट छ, लोकतन्त्र आफैँमा दोषी होइन । दोष राजनीतिक अभ्यास र नेतृत्वको छ । गणतन्त्रलाई बलियो बनाउने उपाय भनेको निरन्तर सुधार, जवाफदेहिता र जनसंवेदनशीलता कायम राख्नु हो ।

नागरिकको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ । विवेकपूर्वक मतदान गर्नु, अधिकारको रक्षा गर्नु, र व्यवस्थाभित्रैबाट सुधारको माग गर्नु आजको आवश्यकताको केन्द्रमा छ । हामीले परिवर्तनका नाममा निरङ्कुशता भित्र्याउने हो भने त्यो फेरि हटाउन गाह्रो हुन्छ । त्यसैले लोकतन्त्रलाई कमजोर बनाउने होइन, सक्षम बनाउनेतर्फ सबैको ध्यान जानुपर्छ । लोकतन्त्रको संरक्षण र सुधारमा नै दीर्घकालीन समाधान छ । नत्र निरङ्कुशता फेरि जन्मिन सक्छ ।

इरानमा राजालाई सत्ताबाट हटाउनु ठीक थिएन । किनभने त्यसपछि आएको शासन अझ बढी निरङ्कुश र केन्द्रीकृत भयो । नेपालमा पनि गणतन्त्रको विकल्पमा राजतन्त्र फर्काउने अभियान गलत हो । लोकतन्त्रलाई बलियो बनाउँदै अघि बढ्नुपर्छ । पुरानो निरङ्कुश राजतन्त्रमा फिर्ता जाने बहस निरर्थक नै हो । इरानले सिकाएको यथार्थ र नेपालले लिनुपर्ने पाठ यही हो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ३८ बजे

एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र