तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै | Khabarhub Khabarhub

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्य धमाधम भइरहेको छ । 

परम्परागत जलाशययुक्त प्रणालीमा आधारित यस आयोजनाले नेपालको जलविद्युत् इतिहासमा पहिलो ‘कङ्क्रिट’युक्त बाँध निर्माण कार्य अघि बढाएको हो । 

आयोजनाका अनुसार मुख्य बाँध एक सय ४० मिटर अग्लो हुनेछ । हाल आयोजनास्थलमा बाँधको फाउन्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिट ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। 

उनले भने, ‘बाँध निर्माणको क्रममा मास कङ्क्रिटिङमा तापमान नियन्त्रण अति संवेदनशील हुने भएकाले अत्याधुनिक प्रविधिमार्फत तापमान सन्तुलन गरेर काम गर्ने गरिएको छ ।’ 

प्रमुख भण्डारीका अनुसार बाँधको संरचना अत्यन्तै जटिल र दीर्घकालीन सुरक्षासँग जोडिएको भएकाले तापमान नियन्त्रणमा विशेष ध्यान दिइएको हो ।  

उनले भने, ‘अब बाँधको उचाइ क्रमशः बढाउँदै लगिएको छ, अबको दुई वर्षभित्र कङ्क्रिट राख्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।’ 

प्याकेज–१ अन्र्तगत बाँध निर्माण र सेती नदी ‘डाइभर्सन’को काम पूरा गरी बाँधमा कङ्क्रिट राख्ने कार्य भइरहेको सो आयोजनाले जनाएको छ । प्याकेज–१ को ४२ दशमलव ५ प्रतिशत भौतिक प्रगति हासिल गरिएको छ । 

प्याकेज–१ को निर्माण सोङदा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल, जेभीले गरिरहेको छ । यस प्याकेजअन्तर्गत रिभर डाइभर्सन, स्लोप कटिङ, साइड व्यवस्थापन र दुई ठूला डाइभर्सन टनेल खन्ने कार्य सकिएका कारण भौतिक प्रगति बढेको हो ।  

तीनवटा प्याकेजमा निर्माण कार्य धमाधम भइरहेको छ । आयोजनाको समग्रमा ६७ प्रतिशत भौतिक प्रगति भइसकेको सो आयोजनाले जनाएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । 

यसका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको आयोजना प्रमुख भण्डारीले बताए। 

त्यसैगरी, प्याकेज–२ अन्तर्गत योजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका संरचना निर्माण गरिएको छ । यस योजनाको निर्माणको जिम्मा सिनो हाइड्रो कर्पोरेसन चीनले पाएको छ । 

त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ ।
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : १९ बजे

पर्सामा पोषण पूरकमा पाँच गुणाभन्दा बढी असुल्ने पक्राउ

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा

प्रधानमन्त्री ओलीसँग इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीको छुट्टछुट्टै भेटवार्ता

स्पेन – संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं – प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र