सुर्खेत– कालीकोटको महावै गाउँपालिकाले शहर पसेका भत्ता खाने नागरिक खोजी गरेको छ । गाउँपालिकाले भत्ता खाने नागरिकका लागि सुर्खेतमा वायोमेट्रिक शिविर सञ्चालन गरेको हो ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा बस्ने वृद्ध आमा–बुबाको सहजताका लागि भन्दै एक हप्ते वायोमेट्रिक शिविर सञ्चालन गरेको छ । शिविर साउन १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ ।
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि शिविर सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
विगतमा सामाजिक सुरक्षा भत्ता लिनका लागि नवीकरण गरे मात्रै पुग्ने गरेको यो वर्षदेखि बायोमेट्रिक अनिवार्य गर्नु पर्ने भएकाले गाउँपालिकाले सुर्खेत, बर्दिया बाँके र कैलालीमा बस्ने वृद्धवृाद्धाहरुका लागि सुर्खेतमा शिविर राखिएको शिविरका सम्पर्क व्यक्ति मनराज कार्की बताए ।
‘अहिले व्यक्ति नै उपस्थित हुनुपर्छ,’ उनले भने,‘सामाजिक सुरक्षा लिने वृद्धवृाद्धाहरु सबै गाउँमा हुनुहुन्न । कोही बिरामी भएर वा आफन्तको बस्नु भएकाले गाउँपालिकाले सुर्खेतमा शिविर राखिएको हो ।’
शिविर सञ्चालन भएदेखि १५ साउनको १२ बजेसम्म ८२ जना वृद्धवृाद्धाले सेवा लिएको कार्कीले जानकारी दिए । उनका अनुसार यो संख्या अझै बढ्दै जाने अनुमान गरे ।
पालिकाका अधिकांस लाभग्राहीहरू औषधि उपचार लगायतका कामले शहर बस्ने गरेका कारणले सुर्खेतमा शिविर चलाउनु परेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए ।
‘पालिका वृद्धवृद्धा लाभग्राहीहरू औषधि उपचार लगायतका कामले शहरमा हुनुहुन्छ । उहाँहरू कोही हिँडेर जाने सक्ने अवस्थामा हुनुहुन्न,’ उनले भने,‘त्यसैले शहरमा नै वा उहाँहरू भएको ठाउँमा सेवा दिनु परेको हो ।’
प्रतिक्रिया