कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिने बताएका छन् ।
आज शुक्लाफाँटा नगरपालिका(४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा कल्की फाउण्डेसनले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले शिक्षामा गरेको लगानी व्यापार नभएर वर्षौँपछि प्रतिफल दिने दिगो योजनाका रूपमा रहेको धारणा राखे। सामुदायिक विद्यालयमा पूर्वाधार विकाससँगै पढाइको गुणस्तर वृद्धिका लागि आधारभूत तहबाट सुधार गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।
‘अहिलेका अभिभावकले आफ्ना सन्तानलाई अङ्ग्रेजी भाषामा दखल बनाउने चाहना राख्छन् । अभिभावकको मनोभावलाई बुझेर आधारभूत तहदेखि अङ्ग्रेजीमा पढाउने व्यवस्था गरिनु आवश्यक छ’, नेता साउदले भने।
अङ्ग्रेजीमा पढाइ गर्ने सामुदायिक विद्यालयलाई अरु विद्यालयको तुलनामा प्रोत्साहित गर्न बढी अनुदानको व्यवस्था गरिनुपर्ने उनले दिए ।
पूर्वपरराष्ट्रमन्त्री साउदले शुक्लाफाँटा नगरपालिकामा सडक, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, प्रशासनिक भवन निर्माणलगायत योजनाका लागि एसियाली विकास बैंकको अढाई अर्ब सहुलियत ऋण सहयोग उपलब्ध भएकामा एक अर्बको मात्रै योजना बन्नुले जनप्रतिनिधिको प्रशासनिक क्षमता कमजोर भएको प्रमाणित गर्ने धारणा राखे। अहिले पनि एसियाली विकास बैंकको ८८ करोड बजेट आएकाले त्यसको सदुपयोग गर्दै गुणस्तरीय योजना बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए ।
पूर्व-पश्चिम राजमार्गको अत्तरियाबाट गड्डाचौकीसम्म छ लेनको सडक निर्माणका लागि २१ अर्ब बढी बजेट विनियोजन भएकाले सडक निर्माणले गति लिएपछि यस क्षेत्रको विकासमा नयाँ आयाम थपिने नेता साउदले विश्वास व्यक्त गरे ।
पूर्वमन्त्री साउदले आजै वडा नं ४ को सनवोरा र स्याली नदीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। निर्माण भएका सडक, नगर अस्पताललगायत भौतिक पूर्वाधारको निरीक्षण गर्दै निर्माणमा भएका प्रगतिबारे उनले चासो राखेका छन् ।
प्रतिक्रिया