क्वेट्टा- पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा बढी अफगान नागरिकहरूलाई एक महिनाभन्दा कम समयमा अफगानिस्तान फिर्ता पठाइएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।
यसअघि पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अवैध अफगानहरूलाई स्वदेश फर्कन जुलाई ३१ को समय सीमा तय गरेको थियो ।
कागजात विहीन अफगानविरुद्ध कारबाही गर्न प्रहरी, एफआईए र जिल्ला प्रशासन मिलेर संयुक्त टोली गठन गरिएको डनले जनाएको छ ।
मङ्गलबार क्वेटा डिभिजनका आयुक्त शाहजेब खान काकरको अध्यक्षतामा बसेको बैठकमा प्रान्तमा रहेका अवैध अफगानहरूमाथि चलिरहेको दमनको समीक्षा गरिएको थियो ।
अधिकारीहरूले अवैध अफगानहरू विरुद्धको कारबाहीलाई गति दिन एजेन्सीहरूबिच समन्वय गरिएको जानकारी दिएका छन् ।
आयुक्तले कागजातविहीन अफगानहरूलाई लक्षित कारबाही सञ्चालन गरी अवैध बासिन्दाहरूको बैङ्क खाता र मोबाइल सिमहरूको रेकर्ड सङ्कलन गर्न निर्देशन दिएका थिए ।
उनले अपरेशनको क्रममा महिला र बालबालिकाको सम्बन्धमा विशेष ध्यान राख्न निर्देशन दिदै सबै विभागहरूलाई अफगानिस्तानमा सबै अवैध अफगानहरूको फिर्तीका लागि प्रभावकारी रणनीति बनाउन आग्रह गरे ।
पाकिस्तानी सेनाले क्वेटा डिभिजनमा अवैध अफगानहरू विरुद्धको कारबाहीमा बलुच लिबरेशन आर्मी र तेहरीक–ए–तालिबान पाकिस्तानका सदस्यहरूसहित ५० जना आतङ्ककारीहरूलाई मारेको दाबी गरेको छ ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सेनाले मारिनेहरूमा बलुचिस्तान लिबरेशन आर्मी र तेहरीक–ए–तालिबान पाकिस्तानका सदस्यहरू रहेको बताएको छ । दुवै समूहलाई पाकिस्तानमा आतङ्कवादी सङ्गठन घोषित गरिएको छ, यो समूह सुरक्षा बलमाथि बारम्बार आक्रमणमा संलग्न छ ।
सेनाका अनुसार अपरेसनले मुख्यतया बलुचिस्तान प्रान्तका केही भागहरूमा अतिवादी समूहविरूद्ध लक्षित थियो ।
प्रतिक्रिया