काठमाडौं– नेपाल पर्यटन बोर्ड र टिकटकले संयुक्त साझेदारीको घोषणा गरेका छन् । नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि यो सम्झौता भएको हो ।
यो पहलको केन्द्रमा ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स रहेको छ, जुन क्रिएटरले लिड गर्ने एक अभियान हो र यसले विशेष इन-एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरूलाई नेपालका घुम्नै पर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ ।
बोर्ड र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरुसँग सहकार्य गर्नेछन्, जसअनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरूको यात्रालाई छोटा आकर्षक भिडियो बनाएर त्यसमार्फत संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ ।
अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाइ टिकटकमार्फत् सार्वजनिक गर्नेछन् ।
पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने क्रिएटरहरुलाई स्वागत गर्नेछ र काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन नयाँ अध्यायको सुरुवात गरेको बताए ।
‘यस साझेदारीले टिकटकको विश्वव्यापी पहुँचलाई हाम्रो देशका सुन्दर र अविस्मरणीय अनुभवहरूसँग जोड्न र अझै धेरै पर्यटकहरूलाई आफ्नो आगामी गन्तव्यका लागि नेपाल नै रोज्न प्रेरित गर्ने विश्वास हामीले लिएका छौँ’, उनले भने ।
टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले बोर्डसँग सहकार्य गरी नेपालका प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्न उत्साहित रहेको बताइन् । उनले भनिन्, ‘नेपालमा संसारकै अद्भुत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभवहरूको आनन्द लिन सकिन्छ ।’
सम्झौता कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बोर्ड र टिकटकबीच भएको यो साझेदारी अन्तर्राष्ट्रिय प्रवर्द्धनमा मात्र सीमित नरहेको बताउँदै यसले हाम्रा स्थानीय समुदाय र सिर्जनाकर्ताहरूलाई सशक्त बनाउनमा पनि ध्यान केन्द्रित गर्ने बताए ।
उनले भने, ‘यस साझेदारी अन्तर्गत योजना गरिएका कार्यशाला र क्षमता अभिवृद्धि कार्यक्रमहरूले नेपाली युवा, उद्यमी र कन्टेन्ट क्रिएटरहरूलाई आफ्नो सम्पदा, संस्कृति र उद्यमहरू प्रदर्शन गर्ने सीप प्रदान गर्नेछन् ।’
पर्यटन नेपालको लागि उद्योग मात्र नभई यो हाम्रो सामाजिक-आर्थिक विकासको मेरुदण्ड पनि भएको मन्त्री पाण्डेले बताए ।
उनले भने, ‘यसले रोजगारी सिर्जना गर्दछ, साना र मझौला व्यवसायहरूलाई समर्थन गर्दछ, ग्रामीण समुदायहरूलाई सशक्त बनाउँछ र सांस्कृतिक परम्पराहरूको रक्षा गर्दछ।
यो साझेदारीले हामीलाई यी फाइदाहरू अझ व्यापक र समावेशी रूपमा बाँडिएको सुनिश्चित गर्ने अवसर दिन्छ ।’ समाचार श्रोत: नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया