अमेरिकासँग तनाव बढ्दा नजिकिए भारत–चीन, सिधा हवाई उडान थाल्ने सहमति « Khabarhub

अमेरिकासँग तनाव बढ्दा नजिकिए भारत–चीन, सिधा हवाई उडान थाल्ने सहमति


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारत र चीनले तीन बिन्दु हुँदै सीमा व्यापार पुनः सुरु गर्ने भएका छन् । उनीहरूले सिधा उडान सञ्चालन गर्ने सहमति पनि गरेका छन् ।

दुवै देशले कैलाश–मानसरोवर यात्रालाई विस्तार गर्ने र सीमा व्यवस्थापनका लागि नयाँ संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्।

चिनियाँ विदेश मन्त्री वाङ यीको नयाँ दिल्ली भ्रमणपछि दुवै पक्षले छिट्टै भारत र चीनबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने सहमति गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

‘दुवै पक्षले छिट्टै प्रत्यक्ष उडान सेवा पुनः सुरू गर्ने र अद्यावधिक हवाई सेवा सम्झौता अन्तिम गर्ने सहमति गरेका छन्। साथै दुवै मुलुकका पर्यटक, व्यापारी, सञ्चारकर्मी तथा अन्य आगन्तुकका लागि भिसा सहज बनाउने निर्णय गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

उक्त उडान डोकलामनजनिक गलवान उपत्यकामा दर्जनौँ सैनिक मारिने गरी भएको झडपपछि स्थगित भएको थियो । कोभिड–१९ महामारीका कारण त्यसलाई सुचारु गर्न अझ ढिला भएको हो।

त्यसैगरी दुवै पक्षले २०२६ बाट सुरु हुने गरी कैलाश/ग्याङ रेनपोचे र मानसरोवर/मापाम युन त्सो यात्रालाई निरन्तरता दिने मात्र नभई विस्तार गर्ने सहमति पनि गरेका छन्।

तीन बिन्दु हुँदै सीमा व्यापार

चीन र भारतले तीन बिन्दुबाट व्यापार सुरु गर्ने भएका छन् । ‘लिपुलेक पास, शिप्कि ला पास र नाथु ला पासमार्फत सीमा व्यापार पुनः सुरु गर्ने दुवै पक्ष सहमत भएका छन्,’ मन्त्रालयले भनेको छ ।

त्यस्तै, सीमा व्यवस्थापनका लागि कम्तीमा तीनवटा नयाँ संयन्त्र गठन गर्ने विषयमा पनि सहमति भएको छ। विदेश मन्त्रालयका अनुसार दुवै देशले विद्यमान कूटनीतिक तथा सैन्य माध्यम प्रयोग गरी ‘सीमा व्यवस्थापन’ र तनाव कम गर्नेबारे वार्ता सुरु गर्नेछन्।

मोदी र वाङ यी भेट

यो सहमति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित आफ्नै निवासमा चिनियाँ विदेश मन्त्री वाङ यीलाई भेट गरेपछि सार्वजनिक भएको हो। वाङले यसअघि राजधानीमा भएका उच्चस्तरीय छलफलहरू सम्पन्न गरेका थिए।

‘भारत र चीनबीच स्थिर, विश्वसनीय र रचनात्मक सम्बन्ध क्षेत्रीय मात्र नभई विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री मोदीले वाङसँग भेटपछि सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्।

यो घोषणा चिनियाँ विदेश मन्त्री वाङ यीको दुई दिने भारत भ्रमणको अन्त्यमा आएको हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भारत–चीन लामो समयदेखि रहँदै आएको सीमा विवाद समाधानबारे २४औं चरणको वार्ता गरेका थिए।

यसअघि सोमबार वाङले भारतीय विदेश मन्त्री एस. जयशंकरसँग भेट गरेका थिए भने मंगलबार उनले राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग उच्चस्तरीय वार्ता गरेका थिए।

चीनको विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार वाङले डोभाललाई भारत–चीनबीच स्थिर र रचनात्मक सम्बन्ध राख्नु दुवै मुलुकको साझा हितमा रहेको बताए।

उनले संवादमार्फत् आपसी विश्वास निर्माण गर्नुपर्ने, सहयोग विस्तार गर्ने र विशेषगरी सीमा व्यवस्थापन र वार्तामा सहमति जुटाउन काम गर्नुपर्नेमा जोड दिए।

डोभालले पनि प्रधानमन्त्री नरेन्द्र मोदी ८ भदौ र ९ भदौ (अगस्ट ३१ र सेप्टेम्बर १) मा चीनको टियानजिनमा हुने एससीओ शिखर सम्मेलनमा सहभागी हुने जानकारी औपचारिक रूपमा दिएका छन्। उनले यसअघि भएका विशेष प्रतिनिधि वार्ताले यस भ्रमणलाई अझै महत्वपूर्ण बनाएको बताए।

वाङ यीको भारत भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने निर्यातमा ५० प्रतिशत (अतिरिक्त २५ प्रतिशतसहित) भन्सार लगाउने निर्णय गरेपछि नयाँ दिल्ली–वासिङ्टन तनाव बढेको बेला चीन अघि सरेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : २६ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन