काठमाडौँ– प्रमुख सत्तारुढ नेकपा (एमाले)मा दुई लाइन संर्घष बढाइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा फरक मत दर्ता गराउने तयारी गरेकी छन् ।
आगामी भदौ २०-२२ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भनिएको विधान महाधिवेशनमा फरक मत दर्ता गराएर भण्डारी पक्षले औपचारिक रुपमा दुई लाइन संघर्षलाई चर्काउन लागेको हो ।
गत साउन ५-६ गतेको नवौँ केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले आफ्नै विगतको घोषणा र बोलीविपरीत पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगराउने निर्णय गराइसकेका छन् ।
तर राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउँदा केही फरक नपर्ने पुराना सार्वजनिक अभिव्यक्तिलाई बिर्सिँदै ओलीले विद्यालाई रोक्न गरेको निर्णयको असर पालिकासम्मै परेको छ ।
कोशी प्रदेश कमिटी, बागमती प्रदेश कमिटी, सुदूरपश्चिम प्रदेश कमिटी हुँदै मोरङ, भोजपुर, खोटाङसहित कयौँ जिल्लामा विद्यालाई छेक्ने निर्णय एमालेकै लागि आत्मघाती हुने कुरा उठिसकेको छ। जिल्ला र प्रदेश कमिटीका नेताहरूले अहिलेको सरकारको अक्षमता र पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णयका कारण ०८४ को चुनावमा एमालेले धक्का व्यहोर्ने बताइरहेका छन् ।
तर ओली अहिलेसम्म आफ्नो निर्णयबाट तलमाथि भएका छैनन् । गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रमबाट एमालेको राजनीतिमा सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपतिले भदौ ५ गते काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय खोलिसकेकी छन् ।
मदन भण्डारीको हीरक जन्मोत्सव मनाउने तयारीस्वरूप उक्त कार्यालय थापागाउँको लाखेचौरमा साउन ५ गते खोलिएको हो । भण्डारीले आफू भंगालबाट थापागाउँ झरेर कुनै बेला मदन भण्डारीको कार्यालय रहेको घरबाटै सक्रिय हुने निर्णय लिइसक्दा एमालेको दोस्रो विधान महाधिवेशनमा पनि नजिकिएको छ ।
यद्यपि प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओलीको चीन र भारत भ्रमणको व्यस्तताका कारण महाधिवेशन मिति सर्न सक्ने सम्भावना पनि बलियो । ओली भदौ १४ गते चीन गएर १८ गते मात्रै फर्किँदैछन् । त्यसपछि उनी भदौ ३१ गतेदेखि असोज २ गतेसम्मलाई भारत जाँदैछन् ।
रोकियो केन्द्रीय कमिटी
पूर्वराष्ट्रपति भण्डारीले साउन ५ गते थापागाउँमा कार्यालय खोल्दा एमालेका शीर्ष नेताहरूसमेत पुगे । ओलीले कारबाही गर्ने चेतावनीला बेवास्ता गर्दै यसरी पुग्नेमा वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, अर्का उपाध्यक्ष युवराज ज्ञवाली भण्डारीको कार्यक्रममा पुगेका थिए । त्यसैगरि स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेताहरू विनोद ढकाल, केन्द्रीय सदस्य रमेश पौडेल, सीता न्यौपाने, कृष्णप्रसाद दाहाल, बागमती अध्यक्ष कैलाश ढुंगेल, केन्द्रीय सदस्य बाबुराम गौतम पनि पुगेका थिए ।
भण्डारीलाई पार्टीका कुनै पनि मञ्च नदिन ओलीले चेतावनी दिए पनि लाखेचौरमा एमाले कार्यकर्ताको भिडले एमालेमा दुई लाइन संघर्ष अझै चर्किने संकेत गर्थ्यो ।

त्यही कार्यक्रममै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशनमा लिखित फरक मत राख्ने चर्चा चल्यो । ओलीले जुन बैठक डाक्छन्, त्यसमै फरक मत दर्ज गर्ने तयारीमा भण्डारी पक्ष थियो ।
त्यहीअनुसार वरिष्ठ उपाध्यक्ष पोखरेलले फरक मतको दस्तावेज लेखनलाई पनि अगाडि बढाएका थिए । यता एमालेले विधान महाधिवेशनलाई लक्षित गर्दै भदौ १३ गतेका लागि केन्द्रीय कमिटीको दशौँ बैठक डाक्यो ।
केन्द्रीय कमिटी डाकिएपछि भण्डारी पक्षले त्यहीँ फरक मतको दस्तावेज पेश गर्ने योजना बनाइसकेको थियो । यस पटक अनौठो चाहिँ के भयो भने केन्द्रीय कमिटी राख्नुअघि सचिवालय बैठक राख्ने परम्पर तोडिँदै थियो ।
यसअघि साउन पहिलो साताको सचिवालय बैठकमा पूर्वउपाध्यक्ष भण्डारीबारे ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरे र उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितको चर्काचर्की भएको थियो । यस पटक पनि त्यही दृश्य दोहोरिने निश्चित भएपछि ओलीले एकैचोटि भदौ १३ लाई केन्द्रीय कमिटी बैठक डाके।
सामान्यत: एमालेमा सचिवालय बैठक एजेन्डा तय गरेपछि तिनलाई प्रस्तावका रुपमा केन्द्रीय कमिटीमा लैजाने परम्परा छ । तर दोस्रो विधान महाधिवेशनसम्बन्धी प्रस्तावहरू यस पटक सिधै केन्द्रीय कमिटीमा लैजाने गरी ओलीले आन्तरिक तयारी गरिरहेका थिए ।
अचानक मंगलबार केन्द्रीय कमिटी बैठक रोकियो । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अब विधान महाधिवेशनको अघिल्लो दिन भदौ १९ गते बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
‘देशभरबाट विधान संशोधनसम्बन्धी सुझावसहितका प्रस्ताव धमाधम आइरहेका छन्’, गौतमले भने, ‘ती सुझावहरूलाई एकमुष्ट संकलन गरेर केन्द्रीय कमिटीमा लैजान समय लाग्ने देखियो । त्यहीकारण बैठक स्थगित गरिएको हो ।’
गौतमले देशभरबाट विधान संशोधनबारे सुझाव संकलनको अन्तिम समय साउन १० लाई तोकिए पनि धेरै ठाउँबाट नआइसकेपछि बैठक स्थगित गर्नुपरेको बताए । उनले विधान महाधिवेशन भदौ २०-२२ मै हुने बताए । उक्त मितिमा कुनै तलमाथि नहुने गौतमले खबरहबलाई बताए ।
देशभरबाट आएका सुझावहरू कम्पायल गर्न नभ्याउने अवस्था भएपछि अध्यक्ष ओली चीनबाट भदौ १८ मा फर्किएको भोलिपल्ट केन्द्रीय कमिटी राख्ने योजना एमालेको छ।

तर उक्त बैठक पनि छोटो समयलाई राखेर विधान महाधिवेशनमा लैजाने विभिन्न प्रतिवेदनहरू पास गराउने तयारीमा ओली छन् । यद्यपि केन्द्रीय कमिटीसँगै विधान महाधिवेशनको मिति नै पनि केही महिनालाई पछाडि धकेलिन सक्छ । त्यसका लागि ओलीलाई भारत भ्रमण तयारीको बहाना मिल्न सक्छ ।
केन्द्रीय कमिटी बैठक स्थगितको पछाडि ओलीको चीन भ्रमण एउटा कारण हो भने अर्को भण्डारी पक्षले पेश गर्ने फरक मतको दस्तावेज । वरिष्ठ उपाध्यक्ष पोखरेलले यसअघिको बैठकमा राख्न नसकेको लिखित फरक मत यस पटक राख्ने गरि लिपिवद्ध गरिरहेका थिए ।
उनीनिकट स्रोतका अनुसार पोखरेलले तीन पृष्ठको दस्तावेज लेखिसकेका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई अपमान र अन्यायपूर्वक रोकिएको निष्कर्षमा पुगेको यो समूहले विधान महाधिवेशनमै उक्त दस्तावेज लगेर दुई लाइन संघर्षलाई बढाउने रणनीतिसहित अघि बढेको छ ।
यस्तो अवस्थामा केन्द्रीय कमिटी बैठक स्थगित गरिनुलाई भण्डारी समूहले शंकाको नजरले हेरेको छ। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी बैठक अचानक स्थगित गरिनुमा केही गडबडीको आशंका गरेका छन् । तलबाट आएका सुझावहरूबारे सचिवालय र केन्द्रीय कमिटीमा राम्रोसँग छलफल नगरी विधान महाधिवेशनमा जानु ठिक नहुने उनको तर्क छ ।
उता स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले यसअघि पनि लिखित फरक मत राख्न नसकेकाले यस पटक कुनै हालतमा दस्तावेज दर्ता गरेर केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने अडान लिएका छन् ।
उता प्रधानमन्त्री ओली भारत जाँदा आफूलाई कमजोर बनाउने कुनै पनि निर्णय भएको सन्देश सुन्न चाहँदैनन् । त्यहीकारण विधान महाधिवेशन नै अन्योलमा पर्ने सम्भावना पनि बलियो छ।
यस पटक ओली पक्षले विधान महाधिवेशनलाई ‘सेलिब्रेसन’का रुपमा आयोजना गर्ने तयारी गरिरहेको छ । यो महाधिवेशनमा दस्तावेजहरूमाथि गम्भीर छलफल गर्ने भन्दा ओलीलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्दै ‘सेलिब्रेसन’का रुपमा आयोजना गर्ने तयारीबीच भण्डारी पक्षले काउन्टर दिन लागेको हो ।
उनीहरूले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) कार्यान्वयनमा देखिएका नेतृत्वले गरेका कमजोरी र ओलीको स्वेच्छाचारी प्रवृत्तिमाथि प्रश्न उठाउने तयारी गरेका छन् । पार्टी विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कायमै राख्नुपर्ने मत पनि भण्डारी पक्षले विधान महाधिवेशनमा लाँदैछ ।
एमालेले दोस्रो विधान महाधिवेशनको मूल नारा ‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्पः समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ बनाएको छ। तर उक्त महाधिवेशनका लागि सार्वजनिक पहिलो पोस्टरमा ओलीलाई मात्रै देखाइएको छ । दोस्रो पोस्टरमा पुष्पलाल, मनमोहन र मदनको फोटो राखिए पनि जनताको बहुदलीय जनवाद गायब पारिएको छ । दुवै पोस्टरमा ओलीलाई केन्द्रमा राखेर संस्थापक नेताहरूभन्दा ठूलो देखाइएको छ।
विवादबीच यो महाधिवेशनमा २ हजार ३ सय ७९ जना सहभागी हुने एमालेले जनाएको छ। २०७८ मंसिरमा चितवनमा भएको दशौँ महाधिवेशनका प्रतिनिधि नै विधान महाधिवेशनमा आउनेछन् ।
महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान मस्यौदा र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमार्फत् विधान महाधिवेशनमा लगिनेछ ।
प्रतिक्रिया