काठमाडौँ- उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्याउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका छन् ।
पूर्व योजनाकारमञ्च नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पौडेलले प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिनेगरि योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताए ।
अहिले बजेट निर्माणमा तीन करोडभन्दा साना योजना सङ्घीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्नसमेत चुनौती खडा भएको उनले बताए ।
उनले अपेक्षित रुपमा लगानी भित्र्याउन र देशभित्रकै लगानी परिचालनका लागि कानुनी सुधार गर्दै लगानीको वातावरण बनाउने जिकिर गरे ।
पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा समेत जोड दिए । |
उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए ।
कार्यक्रममा योजना जपज्ञहरूले मुलुकको समृद्धितर्फको यात्रालाई अन्तरराष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया