फेसबुक जस्तै सामाजिक सञ्जाल नेपालमा सम्भव छैन ? « Khabarhub

फेसबुक जस्तै सामाजिक सञ्जाल नेपालमा सम्भव छैन ?

बन्द गर्नुपूर्व पूर्वाधार तयार गर्नुपर्छ



काठमाडौं – सरकारले बुधबार मात्रै नेपालमा सात दिन भित्र दर्ता हुन नआउने सामाजिक सञ्जाल बन्द गर्न सक्ने चेतावनी जारी गरेको छ । अहिले नेपालमा फेसबुक, एक्स, इन्स्टाग्राम, ह्वाट्सएप लगायत दर्जनौँ सामाजिक सञ्जालमा लाखौँ प्रयोगकर्ता जोडिएर सञ्चालन भइरहेका छन् । तर, ती मध्ये अहिलेसम्म भाइबर, टिकटक र विटक बाहेकका कुनै पनि सामाजिक सञ्जाल कानूनी प्रक्रियाअनुसार दर्ता भएका छैनन् ।

सरकारले पटक–पटक दर्ता हुनको लागि आग्रह गर्दै आए पनि कुनै सामाजिक सञ्जालले स्वीकार गरेका छैनन् । सरकारले पछिल्लोपटक जारी गरेको सूचनाका आधारमा सामाजिक सञ्जाल दर्ता हुन आउँछन् वा आउँदैनन् त्यो हेर्न बाँकी छ । अहिलेको युगमा कुनै पनि देश वा समाजलाई सामाजिक सञ्जालबाट भने बञ्चित गर्न सकिने अवस्था देखिँदैन । जुन सूचनाको हक र विश्वव्यापीकरणको विरुद्धमा हुनजान्छ । तर, नेपालको कानुन परिपालना गर्न नचाहने तर सञ्चालन भइरहने सामाजिक सञ्जाललाई नियमन आवश्यक छ । यो शैलीलाई राज्यमाथिको चुनौती हो भनेर मान्न सकिन्छ । के नेपालमा नै सामाजिक सञ्जाल स्थापना गर्न सम्भव छैन भनेर खबरहबका नारायण अर्यालले एआई सोलुसन आर्किटेक्ट तथा साइबर सेक्युरिटी स्पेसियलिस्ट इन्जिनियर लोकेस गुप्तासँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :

नेपालमा फेसबुक/एक्स जस्तै सामाजिक सञ्जाल स्थापना गर्न सम्भव छ ?
सम्भव छ । नेपालमा सजिलै खोल्न सक्छौँ, यसको लागि त्यस्तो गाह्रो वा कठिन केही पनि छैन । यसमा आईटी क्षेत्रको, एउटा डेभलपमेन्ट र अर्को सर्भर म्यानेजमेन्ट गरेर केही निश्चित पार्ट हुन्छन्। त्यसलाई व्यवस्थापन गर्न सकिन्छ ।

डेभलपमेन्टको लागि हेर्यो भने हामीले नेपालमा बसेर अमेरिकाको लागि पनि ठूलो–ठूलो काम गरिरहेका छौँ । सामान्य फेसबुक वा सामाजिक सञ्जाल बनाउनु भनेको त्यस्तो ठूलो काम होइन । नेपालमा त्यो सजिलै गर्न सकिन्छ ।

सामाजिक सञ्जाल स्थापना गर्न लगानी र जनशक्तिको हिसाबले कसरी सम्भव छ ?
हामीले ठूलो–ठूलो काम नेपालबाट गरिरहेका छौँ, आईपी टिभीको सफ्टवेर नेपालमा नै बनेर नेपालमा नै चलिरहेको छ । सुरक्षासँग सम्बन्धित डिजिटल वालेट/मोबाइल बैंकिङ लगायत फाइनान्सियल कुरा सबै चलाइरहेका छौँ । ती काम गरिरहेका छौँ भने यो सामान्य फेसबुकजस्तो बनाउन नसक्ने भन्ने त हुँदैन । त्यो सजिलै गर्न सकिन्छ, त्यो ठूलो कुरा होइन ।
यसमा आर्थिक रूपले हेर्यो भने पनि फेसबुकजस्तो सामाजिक सञ्जालको लागि बढी लागत लाग्यो भने १५ हजार रुपैयाँसम्म मासिक खर्च आउँछ । जनशक्ति नेपालमा जति पनि छ । यसको लागि लगानी पनि सानो भए पुग्छ ।

नेपालको जनसंख्या तीन करोड कटेको छैन । जसमध्ये ५० प्रतिशतले पनि फेसबुक प्रयोग गर्दैनन् । नेपालको कुल जनसंख्यामध्ये दुई करोडले चलाउलान्, दुई करोडको लागि ठूलो मात्रामा डेटा सेन्टर, सर्भरको आवश्यकता पर्दैन ।

सामाजिक सञ्जाल स्थापना गर्दा ठूलो डेटा सेन्टर स्थापना गर्नको लागि ठूलो लगानी लाग्ने सम्भावना हुँदैन र ?
हाम्रो जनसंख्या एकदमै धेरै भएको भए सोच्नुपर्ने कुरा थियो । नेपालको अहिलेसम्मको जनसंख्या भनेको तीन करोड कटेको छैन । जसमध्ये ५० प्रतिशतले पनि फेसबुक प्रयोग गर्दैनन् । नेपालको कुल जनसंख्यामध्ये दुई करोडले चलाउलान्, दुई करोडको लागि ठूलो मात्रामा डेटा सेन्टर, सर्भरको आवश्यकता पर्दैन । अहिले सिंहदरबारमा पनि जुन सर्भर छ, त्यही सर्भरले धान्न सक्छ । त्यही सर्भरमा थपथाप गरेर, केही ठाउँमा विकेन्द्रीकरण गरेर राख्यो भने पुग्छ ।

काठमाडौंमा ३० प्रतिशत कारोबार फेसबुकबाट चल्छ । सुनचाँदी पसल, रेष्टरेन्ट लगायत सबै व्यवसायीले एउटा फेसबुक पोर्टल बनाएर राखेका छन् । त्यसमा सरकारले कारोबार अनुसार मासिक वा वार्षिक शुल्क लिने व्यवस्था गर्यो भने राम्रो व्यवसाय भइरहेको सन्दर्भमा १०/२० रुपैयाँ दिन त्यति ठूलो कुरा हुँदैन ।

त्यसो गर्दा ठूलो मात्रामा पैसा समेत जम्मा हुनसक्छ । जसको लागि सरकारले समेत लगानी गर्नु पर्दैन, बरु सरकारको राम्रो आम्दानीको स्रोत समेत बन्न जान्छ । त्यसोगर्दा सरकारले आम्दानी गर्न सक्छ, जागिर दिन सक्छ, सर्भर तथा डेटा सेन्टरमार्फत् आईटी व्यवसाय पनि बुम हुन्छ । त्यसो गर्दा सकारात्मक कुरा धेरै छन्, नकारात्मक कुरा केही पनि देख्दिन ।

सामान्यतया डेटा सेन्टरदेखि सर्भरसम्म स्थापना गरेर सुरुवात गर्न खोज्यो भने कतिसम्म लगानीबाट सुरूवात गर्न सकिन्छ ?
यस्तोमा लगानी गर्दा एकैपटक ठूलो मात्रामा गर्नु पर्दैन । यदि सुरूमा काठमाडौंको लागि मात्रै लन्च गर्ने हो भने डेभलपमेन्ट लागत बाहेक १५ हजार रुपैयाँको सर्भरले धान्छ । त्यसपछि त्यसमा व्यवसाय पनि दर्ता गर्न सुरु गर्छन्, सो आधारमा थाहा हुन्छ कि सर्भर कहाँ र कति थप गर्नु आवश्यक हुन्छ । तर, डेभलपमेन्ट र म्यानेजमेन्टको पाटोमा हुने खर्च छुट्टै हुन्छ ।

आईपी टिभी जो हामीले हेरिरहेका छौँ, नेपालभर टिभी चलाउँदा पनि दुई वटादेखि तीनवटा सर्भरले धान्छ । तर, डेटा सेन्टर नै आफैँ बनाउँछौँ भने ठूलो लगानी लाग्छ । त्यस्तो लगानी सरकारले गर्नु पर्दैन, किनभने सरकारसँग अहिले नै एउटा डेटा सेन्टर छ। सानो स्केलबाट जाने र त्यसलाई विस्तार गर्दै ठूलो–ठूलो बनाउँदै जान सकिन्छ ।

डिजिटल वालेट जे जति पहिला चलेको थियो, पहिला काठमाडौंमा मात्रै चलेको थियो । विस्तारै देशभर विस्तार भयो । त्यसैगरी नै विस्तार गर्दै जान सकिन्छ ।

सामाजिक सञ्जाल स्थापनाको लागि नयाँ कानून बनाउनुपर्ने आवश्यकता छैन, अहिले जे जति कानून छ यसैमा रहेर मजाले काम गर्न सक्छौँ ।

सामाजिक सञ्जाल स्थापना गरेर सञ्चालनको लागि कानुनको अवस्था कस्तो छ ?
सामाजिक सञ्जाल स्थापना गरेर अगाडि बढ्नको लागि कानुनी अवरोध कतै छैन । कानुनी पक्षले के भनेको छ भने डेटा सुरक्षित हुनुपर्यो, कसैको पनि व्यक्तिगत डेटा कसैलाई सेयर गर्न पाइँदैन । सामाजिक सञ्जाल स्थापनाको लागि नयाँ कानून बनाउनुपर्ने आवश्यकता छैन, अहिले जे जति कानून छ यसैमा रहेर मजाले काम गर्न सक्छौँ ।

तपाईंको विचारमा के सामाजिक सञ्जालको स्थापनामा निजी क्षेत्रले सरकारलाई पनि साझेदार बनाएर अगाडि बढ्न सम्भव हुन्छ ?
सकिन्छ । यसमा सरकारलाई सहभागी गराएरै गरेको राम्रो हुन्छ । पहिला सरकारले नै एटदरेट एनिथिङ डट जिओभी डट एनपी भनेर ल्याएको थियो । जसमा इमेल ठेगाना लगायतका छन् । तर सरकारमा साक्षरता नपुगेको वा सचेतना नपुगेको हो वा शक्ति पुग्‍न नसकेको हो, सरकार आफैँले पनि आफ्नो इमेल आइडी प्रयोग नगरिकन जिमेल प्रयोग गरेको छ । जिमेल प्रयोग गर्नु त भएन । सरकारले नै आफैँ नेपालको उत्पादनलाई प्रवर्धन गर्दैन ।

अहिले हामी सबै प्रकारका सामाजिक सञ्जालमा पूर्णरूपमा परानिर्भर छौँ, त्यसमा पनि झण्डै सबैजसो सामाजिक सञ्जाल नेपालमा दर्ता समेत हुन मानिरहेका छैनन् । यस्तो अवस्थामा के नेपालमा आफ्नै प्रकारको सामाजिक सञ्जाल आवश्यक छ जस्तो लाग्छ ?
हो । आवश्यक छ । तर, सरकारले बन्द गर्छु भन्नु र साँच्चिकै बन्द गर्नु फरक कुरा हो । यसमा सरकारले चाहेर पनि बन्द गर्न सक्दैन । पूर्वाधार तयारी नगरिकन बन्द गर्न मिल्दैन । नेपालमा जतिपनि मोबाइल छन्, सबैजसो मोबाइल जिमेल आइडीबाट चल्छ, गुगल नै बन्द गर्यो भने केही चल्दै चल्दैन, सबैथोक ठप्प हुन्छ । बन्द गर्नुपूर्व हामीले आफ्नो पूर्वाधार तयार गर्नु उचित हुन्छ ।

नेपालमा सामाजिक सञ्जाल बनाउन र सञ्चालन गर्न सक्षम जनशक्ति छ, तर पनि किन सामाजिक सञ्जाल स्थापना गर्ने र सञ्चालन गर्ने प्रयत्न भइरहेको छैन ?
यो विषयमा हामीले सिंहदरबारमा पनि छलफल गरेका छौँ । मुख्य कुरा सिंहदरबारले यहाँका मान्छेलाई विश्वास गर्दैन । सरकारले पहिलो कुरा के निकाल्छ भने नेपालमा जनशक्ति पुग्दैन । भोलिका दिनमा यहाँको जनशक्ति सबै विदेश लगिदिए भने झन के हुन्छ ? यहाँ समस्या जनशक्ति नभएको होइन, भएको जनशक्ति च्यानलाइज नभएको हो । व्यवस्थापन गर्न नसकेको हो ।

अब हामीले यहाँ सामाजिक सञ्जाल सुरू गर्दा डेढ करोडसम्म मानिस जोडिएलान्, डेढ करोड प्रयोगकर्ता लिएर अर्बौं प्रयोगकर्ता भएको सञ्जालसँग प्रतिस्पर्धा गर्न सकिन्छ ? त्यसरी प्रतिस्पर्धा गर्न जानु भनेको बहादुरी हुन्छ कि मुर्खता ?

कुनै पनि काम गर्दा पहिलो उत्प्रेरणा भनेको व्यवसाय हुन्छ । व्यवसाय गर्दा उसले आफ्नो प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । मैले सामाजिक सञ्जाल स्थापना गरेँ भने फेसबुकसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, जसले विश्वव्यापी व्यवसाय गरिरहेको छ, उसँग अर्बौंको संख्यामा प्रयोगकर्ता छन् ।

अब हामीले यहाँ सामाजिक सञ्जाल सुरू गर्दा डेढ करोडसम्म मानिस जोडिएलान्, डेढ करोड प्रयोगकर्ता लिएर अर्बौं प्रयोगकर्ता भएको सञ्जालसँग प्रतिस्पर्धा गर्न सकिन्छ ? त्यसरी प्रतिस्पर्धा गर्न जानु भनेको बहादुरी हुन्छ कि मुर्खता ? त्यसो भएर हामीले प्रतिस्पर्धा गर्न खोजेनौँ । जे छ, चलिरहेको छ ठिक छ भनेर बसेको अवस्था हो ।

सरकारले उसको उत्पादन नै बन्द गरेर नेपालमा बनेको उत्पादनलाई प्रवर्द्धन गर्ने नीति लियो भने त्यो सम्भव छ । तर, हाम्रो मनसाय त्यो छैन । भएका उद्योग पनि सबै बन्द हुँदै गएका छन् । यो अवस्थामा चुनाैती कसले माेल्ने भन्ने प्रश्न उठ्छ । राज्यले अगुवाइ गरेन भने फेसबुकलाई बिट गर्ने, फेसबुकसँग कम्पिट गर्ने क्षमता हाम्रो हुँदैन । व्यवसाय भनेको खाली भावनामा मात्रै चल्दैन ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ११ : २७ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल