बरहथवा– जिल्ला कारागार सर्लाहीका कैदी बन्दीले कारागार भवनको माथिल्लो तल्ला भागमा आगजनी गर्ने प्रयास गरेका छन् ।
आज बिहान एक्कासि कैदी बन्दीले कारागार तोडेर भाग्ने प्रयास गर्ने क्रममा आगजनी गरेका हुन् । कैदी बन्दीहरूले कारागारको माथिल्लो तल्लामा आगजनी गरेर भाग्ने प्रयास गरेपछि तीन वटै सुरक्षा निकायले अहिले नियन्त्रणमा लिएका छन् ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारै तिरबाट कारागार घेरा हालेका छन् । सुरक्षाकर्मीको बलियो घेरामा कारागार भवन रहेका कारागारका प्रमुख विशाल चौधरीले जानकारी दिए । कैदी बन्दी बिहान केही बेर तोडफोड प्रयास गरेपछि कारागार परिसरको अवस्था तनावग्रस्त बनेको उनले जानकारी दिए ।
‘बिहान अवस्था तनाव ग्रस्त बनेको थियो ।’ कारागार प्रमुख चौधरीले भने, ‘तत्काल नेपाली सेना, कारागार सुरक्षाकर्मी समेतले घेरा हाले पछि अहिले अवस्था नियन्त्रणमा आउने क्रममा छ ।’ कैदी बन्दीले लगाएको आगो पनि वारुण यन्त्रको सहायतामा नियन्त्रणमा लिने प्रयास भइहरेको जनाइएको छ ।
१६० जना पुरुष र ५० जना महिला गरी २१० जना क्षमताको यस कारागारमा महिला र पुरुष गरी ३९८ जना थुनामा छन् । यस्तै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभए सम्मको बिहान ८ः३० बजेबाट सर्लाहीमा निषेधाज्ञा आदेश जारी गरेको छ ।
ठाउँ ठाउँमा पालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जारी गरेको आदेशमा पूर्वमा महोत्तरी जिल्ला, पश्चिममा रौतहट जिल्ला, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भारतको सिमाना सम्म चार किल्ला भित्र आवतजावत, सभा, जुलुस, कुनै पनि किसिमको भेला, बैठक गर्ने निषेध गरेको उल्लेख छ । यस चार किल्ला भित्र नेपाली सेना सहितको सुरक्षाकर्मी परिचालन भएकोले घरमै सुरक्षित रहन भनिएको छ ।
निषेधाज्ञा अवधिमा पनि अत्यआवश्यक सेवाका एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी कूटनीतिक नियोगको सवारी सञ्चालनमा भने सहजीकरण गरिने उल्लेख छ ।
प्रतिक्रिया