हुम्ला– हुम्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो ।
ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती ६ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमापास बनाएर चीन जाने र आम्दानी गरी फर्कने गर्दछन् ।
पछिल्ला वर्षहरूमा उनीहरू जङ्गलमा जडीबुटी सङ्कलन गर्न जानुभन्दा ताक्लाकोटमा घरायसीदेखि खेतबारीको काम गर्न चीनतर्फ जाने गरेका छन् ।
विगतका वर्षहरूमा युवाका लागि मात्र रोजगारीको केन्द्र बनेको ताक्लाकोट यो वर्षदेखि युवतीहरू पनि जान थालेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार विगतका वर्षभन्दा यो वर्ष सीमा पास लिने युवायुवतीको सङ्ख्या धेरै बढेको छ ।
उनका अनुसार झण्डै ५५ हजार जनसङ्ख्या भएको हुम्लामा ११ हजार हाराहारीका यहाँका नागरिकले सीमा पास लिइसकेका छन् । आजभोलि पनि दैनिक सीमा पास लिन आउने सङ्ख्या पनि उल्लेखनीय रहेको छ । जेठ र असार महिनाजस्तै चाप नभए पनि दैनिक पाँच, सात जना सीमा पास बनाउन आउने गरेको उनको भनाइ छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि कामको खोजीका लागि नयाँ सीमा पास र नवीकरण गर्नेको सङ्ख्या बढेको हो । वैशाखदेखि हालसम्म नयाँ सीमा पास लिनेको सङ्ख्या आठ हजार ९१३ रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए ।
त्यसैगरी नवीकरण गर्नेको सङ्ख्या दुई हजार ६६ जना रहेको छ । जिल्ला प्रशासन हुम्लाले हुम्लीको लागि चीनको समन्वयमा ६ महिनाका लागि अस्थायी सीमा पास दिने गरेको छ । अस्थायी सीमा पास लिएका हुम्लीले ६ महिना बस्न पाउँछन् । थप बस्नका लागि नवीकरण गर्ने गरेका छन् ।
चीनसँग जोडिएको यो हिल्सा नाका हिमपातका कारण वर्षमा ६ महिना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरू दैनिक सीमा पास लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए ।
छिमेकी राष्ट्र चीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी नाम्खा र सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चङ्खेली गाउँपालिकाका युवायुवतीले पनि जिल्ला प्रशासनबाट सीमा पास बनाएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ थियो ।
हुम्लाबाट कामको खोजीमा चीन पुगेका हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रूपमा काम गर्ने गरेको सिमकोट गाउँपालिका–२ निवासी कालु बोहराले बताए ।
हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा २५ देखि १५० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका प्रेम भण्डारीले बताए । कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रूपैयाँ कमाउने गर्छन् ।
गत वर्ष ताक्लाकोटमा ३०० सम्म चिनियाँ युवान कमाउने भए पनि यो वर्ष न्यून ज्यालामा काम गरेर चित्त बुझाउन परेको उनले सुनाए । यो वर्ष दैनिक ज्यालाको मूल्य निकै घटेको छ । सोचेअनुसारको पनि काम नपाउने उनको भनाइ थियो । यतिबेला चीनको पुराङ्ग काउन्टी, ताक्लाकोटा आसपासका गाउँहरूमा उवा, जौ, भित्र्याउने काम पाउने गरेको छ । (रासस)
प्रतिक्रिया