काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता डा. कोइरालाले जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले आफू हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ रहेको बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त पनि गरेका छन् । साथै, उनले पार्टीका सभापति शेरबहादुर देउवा लगायतका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
‘सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमण जस्ता जघन्य अपराधको म घोर भत्र्सना गर्दछु ।’ उनले भनेका छन् ।
आन्दोलनपश्चात मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यकता रहेको औल्याउँदै उनले यसका लागि देशभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता रहेको उल्लेख गरेका छन् । यसतर्फ जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने उनको विश्वास छ ।
‘जेनजीको भ्रष्टाचार र बेथिति सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा मेरो दृढ विश्वास छ । करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गर्दछु ।’ उनले लेखेका छन् ।
संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहल सराहनीय रहेको बताउँदै उनले यस पहलमा सबैको साथ र समर्थन रहने पनि विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया