भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारले जस्तापाताको छानो पाएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छानो फेर्न नसकेको एक सय आठ परिवारले जस्तापाताको छानो पाएका हुन् ।
जस्तापाताको छानो वितरणसँगै वडा फुसको छानोमुक्त भएको छ । आगलागी जस्ता घटनाबाट बचाउँदै वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरूपता ल्याउने लक्ष्यले गरिब तथा विपन्न परिवारलाई जस्तापाताको छानो दिइएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।
विभिन्न आर्थिक वर्षमा वडाले बजेट विनियोजन गरेर ४३ परिवार र सघन शहरी कार्यालयबाट ६५ परिवार गरी एक सय आठ परिवारलाई जस्ताको छानो वितरण गरिएको उनको भनाइ छ । ‘हाम्रो वडा फुसको छानोमुक्त बनेको छ,’ वडाध्यक्ष नेपालले भन्नुभयो, ‘यहाँका गरिब तथा विपन्न एक सय आठ परिवारको छानो फेरेका छौँ । जस्ताको छानो फेरेसँगै स्थानीयलाई सहजता भएको छ ।’
गरिवीका कारण वर्षौँबाट खरको चुहिने घरमा बस्दै आएको अवस्थामा जस्तापाताको छानो पाउँदा सहजता भएको स्थानीयवासी चिनामाया भारतीले बताइन् ।
चुहिने घरमा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले छानो दिएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी कृष्ण गिरीले बताए । घरमा जस्तापाताको छानो लगाएकोले बर्सेनी छानो फेर्नुपर्ने वाध्यताको अन्त्य भएको उनको भनाइ छ । (रासस)
प्रतिक्रिया