काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय लगायत विभिन्न मन्त्रालयको सरसफाइका साथै क्षतिको विवरण संकलन सुरु गरिएको छ ।
शनिबार कर्मचारीहरू आ-आफ्ना मन्त्रालय पुगेर सरसफाइका साथै क्षतिको विवरण संकलन गर्न थालेका हुन् । त्यस्तै क्षति पुगेका मन्त्रालयबाट बचेका फाइल लगायतका सामानहरूलाई सुरक्षित राख्न थालिएको छ । तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका परिसरमा सवारिसाधन समेत ध्वस्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनीका कारण क्षति भएपछि गृह मन्त्रालयको नवनिर्मित भवनमा सो कार्यालय सारिएको छ ।
सिंहदरबार बाहिर रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि आगजनीबाट पूर्णरुपमा जलेको छ । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालयमा क्षति भएको छ ।
त्यसैगरी शिक्षा मन्त्रालय, सामान्य प्रशासन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा बढी क्षति पुगेको छ ।
प्रतिक्रिया