अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या | Khabarhub Khabarhub

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या



काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको छ ।

विभिन्न समूहमा छलफल गरेर मन्त्रीहरूको नाम टुङ्ग्याउनुपर्ने चुनौती आएपछि आइतबार पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान पदभार ग्रहण गरे पनि मन्त्रिपरिषद् विस्तार गर्न सकिनन् ।

आइतबार बिहानै जेन-जी अनिल बानियाँले बेलुकासम्ममा केही मन्त्रीहरूको नाम टुङ्गो लाग्ने बताएका थिए ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्रिपरिषद् गठन कहिलेसम्ममा भइसक्छ भन्ने टुङ्गो लागेको छैन।

‘मिल्दैछ दुई चार दिनभित्रमै मन्त्रीपरिषद् गठन हुन्छ होला। चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ’, स्रोतले भन्यो ।

राष्ट्रपति कार्यालय बेखबर

आइतबार केही मन्त्रीहरूले सपथ ग्रहण गर्ने दाबी केही जे‍न-जीले गरेका थिए । तर दिनभर र साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुन सकेन। कारण जेन-जीको आन्तरिक किचलो हो । जेन-जीबीच पछिल्लो समय आपसमा विवाद छ। आइबार रिपोर्टर्स क्लबमा दुई समूहबीच हात हालाहाल नै भएको छ।

आइतबार पनि कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा समस्या बाँकी नै रहेको आँकलन गरिएको छ ।

आइतबार शपथ हुने भनिए पनि राष्ट्रपतिको कार्यालयमा कुनै खबर थिए । मन्त्रीहरूको शपथबारे जानकारी थियो भन्ने प्रश्नमा राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्का अधिकारीले थाहा नभएको बताइन् । उनले मन्त्रीहरूको शपथ हुने भए आफूहरूलाई जानकारी आउने भन्दै साँझ ६ बजेसम्म कार्यालयमा रहेर निस्केको बताइन्।

‘सबै कर्मचारी ६ बजेसम्म बसेर निस्केका छौँ । हामीलाई मन्त्रीहरूको शपथबारे कुनै जानकारी थिएन । सायद शपथ कार्यक्रम नभएरै जानकारी नभएको होला’, खड्काले खबरहबलाई भनिन, ‘शुक्रबार प्रधानमन्त्रीको शपथबारे हामीलाई जानकारी थियो। तर अहिले सबै कर्मचारी बिदा भएर घर घरमा छौँ।’

भाग मिलाउन मुस्किल

जेन-जीका अनुसार मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले पनि मन्त्रिमण्डलमा मागेका छन्।

तर उनलाई जेनजी युवाहरू भाग दिन तयार छैनन्। यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहनिकटलाई पनि मन्त्रीमण्डलमा राख्नुपर्ने बाध्यता छ।

यता धरानका मेयर हर्क साम्पाङले पनि आफ्ना मान्छे मन्त्रिमण्डलमा समायोजन गर्नुपर्ने माग राख्दै फर्किएका छन्। जेन-जीहरूका विभिन्न समूह र टिम भएकाले उनीहरूलाई पनि समावेश गर्नुपर्ने चुनौती छ। यहीकारण मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइन्छ । तर यसबारे प्रधानमन्त्री कार्कीले केही कुरा खोलेकी छैनन् ।

आज दिउँसो पनि रिपोर्ट्स क्लबमा जेनजी युवाबीच कुटाकुट भएको थियो । घुसपेट भएका आशंकामा उनीहरूको कुटाकुट भएको दाबी गरिएको छ ।

यसबारे प्रश्न गर्दा जेनजी बानिया भन्छन, ‘हामीले एक्सपर्ट मान्छेहरु पठाउन लागेका छौं । त्यसको तयारीका लागि केही गृहकार्य भइरहेको छ।’

बानियाँका अनुसार सबै मन्त्रालयमा मन्त्री नियुक्त गरे पनि पुरानो ढर्रामा सचिवालय बनाइने छैन ।

नेतालाई मन्त्री बनाउन खोजेको भन्दै आपत्ति

जेन-जीले राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेता तथा पहिला राजनीतिमा भएका र अहिले असक्रिय केही नाम मन्त्रिपरिषद्का लागि तयार पारेका थियो।

तर ती व्यक्तिहरूमा राजनीतिक गन्ध आउने भन्दै सार्वजनिक भएका छैनन्। अहिलेसम्मको गृहकार्यमा विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ मात्रै मन्त्री बन्ने पक्कापक्की छ। अन्य केही नाम बाहिरिए पनि विवाद कायमै रहेको जेन-जी बताउँछन् ।

‘साथीहरुले केही नाम तयार पार्नुभएको रहेछ । तर ती व्यक्तिहरूमा राजनीतिक गन्ध आउने भएकाले हामीले लामो छलफलपछि अर्को नाम ल्याउने योजना बनाएका छौं’,जेन-जी आन्दोलनका एक अभियन्ताले भने, ‘प्रधानमन्त्रीसँगको निचोडमै मन्त्रिपरिषद् गठन गर्नेछौँ। हामीले अभिभावकीय भूमिकामा प्रधानमन्त्री पाएका छौँ । उहाँले मिलाएर जानुहुन्छ।’

युवाको भावना समेट्ने अठोट

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले युवाको भावना समेटेर अगाडि बढ्ने बताएकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै कार्कीले युवाले ठूलो आन्दोलन गरेर परिवर्तन ल्याएको भन्दै उनीहरूको भावना समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिइन ।

तर कहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ भन्नेबारे उनी बोलेकी छैनन्। उनीनिकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य जारी छ । तर मतभेदका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

यता संविधानविदहरू पनि मन्त्रीपरिषद् विस्तारका लागि कार्कीलाई ठूलै चुनौती भएको बताउँछन्। राजनीति विश्लेषक श्याम श्रेष्ठ कार्कीले मन्त्रिपरिषद् गठन गर्दा नेपाली जनताको भावना समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिन्छन् । उनी कार्कीले जनताको भावना समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा ढुक्क छन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : ४३ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र