प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ? | Khabarhub Khabarhub

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?



काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस चलेको छ । जेन‍-जीको दुई दिने आन्दोलनको बलले नेपाली कांग्रेस र नेकपा एमाले दुवै एक झट्कामा सत्ताबाहिर मात्रै पुगेनन्, एकसाता भूमिगत जस्तै हुनुपर्‍यो । यद्यपि संविधान दिवसको छेको पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सार्वजनिक भइसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा भने जेन-जीका नाममा सडकमा उत्रिएको समूहको कुटपिबाट गम्भीर घाइते भएकाले उपचाररत छन् । ठूला दललाई नेतृत्व परिवर्तनको दबाब बढ्दो छ । तर कांग्रेस र एमालेका नेताहरू तत्काल पार्टी नेतृत्व फेर्न तयार छैनन्। कांग्रेस र एमाले दुवैमा विशेष महाधिवेशनको आवाज उठिरहेको छ । जेन-जीको आन्दोलनपछि ओली र देउवा दुवैले राजीनामा दिनुपर्ने स्वर नचर्केको होइन तर नेतृत्व परिवर्तन विधिबाट गर्नुपर्ने कुरातर्फ बहस अघि बढेको छ । अर्थात्, यी दुई ठूला दलका शीर्ष नेताको राजीनामा आउने सम्भावना छैन । बरू विशेष महाधिवेशनमा गएर मात्रै नेतृत्व हस्तान्तरणको लबिइङ आफूनिकटबाट गराइरहेका छन् ।

ओली नेतृत्वमा बनेको दुईतिहाइको सरकार एक झट्कामा ढलेसँगै एमालेमा केही नेताहरू तीव्र असन्तुष्ट छन् । विद्या भण्डारीलाई पार्टीमा आउनबाट रोकेको निर्णयदेखि चुलिएको असन्तुष्टि जेन-जीको खहरेले सत्ता ढलेपछि छताछुल्ल भएको छ। एमालेमा केही नेताहरू मुखर भए पनि धेरैजसो ओलीबाट प्रतिशोध खेप्नुपर्ने डरले नेतृत्व परिवर्तनको पक्षमा बोल्न सकेका छैनन् । तर एमालेभित्रको असन्तुष्टि उकुसमुकुस अवस्थामा रहेको छ । सडकको आवाजले प्रधानमन्त्रीको कुर्सी खोसिँदा ओलीले पार्टी अध्यक्षबाट बिदा हुने संकेत गरेका छैनन् । बरू १० दिन सैनिक ब्यारेकमा बसेर भक्तपुरको गुन्डु ओर्लिएका उनी राजनीतिक भेटघाटमा सक्रिय छन् । शुक्रबार भएको संविधान दिवसमा सहभागी नभए पनि उनले आफू सक्रिय भइसकेको सन्देश नेताहरूलाई दिइसकेका छन् । अहिले पनि संकटका बेला ओलीलाई साथ दिएर एमालेलाई अघि लैजाने पक्षमा उनीनिकट पंक्ति अडिग छ ।

अन्य पार्टीमा नेतृत्व परिवर्तनले जोर पक्रिरहँदा एमालेको ठूलो पंक्ति मौन छ। एमालेले नसोचेको संकट भोगिरहेका बेला ओलीनिकट एकजना उपमहासचिव प्रदीप ज्ञवाली पनि पार्टी नेतृत्व परिवर्तनको विपक्षमा देखिएका छन् । उनले सार्वजनिक रुपमै नेतृत्वमाथि आक्रमण भइरहेका बेला प्रतिरक्षा गर्नुपर्नेमा परिवर्तनको कुरा उठाउनु उचित नहुने बताइसकेका छन् । उनको मत छ, ‘प्रश्न उठ्नेबित्तिकै नेतृत्व परिवर्तन गर्ने भन्ने हुँदैन ।’ तथापि, उनी जेन-जी आन्दोनको विषयमा एमाले ठन्डा दिमागले समीक्षा गर्ने पक्षमा रहेको उनी बताउँछन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्न लागेको प्रतिनिधि सभा चुनावमा एमाले सहभागी हुने कुरा उनले संकेत गरेका छन् । चुनावमा सहभागी हुन पार्टीले दुई कुरा अगाडि सार्ने उनले खुलाए । पहिलो, प्रतिनिधि सभा विघटनमा संवैधानिक प्रश्नको जवाफ । दोस्रो, शान्तिपूर्ण चुनावको ग्यारेन्टी । जेन-जी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट र दलहरूको अबको बाटोसहितका विषयमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग गरिएको संवादको सम्पादित अंश :

जेन-जी आन्दोलनले उथलपुथल ल्यायो । अहिले हरेक दलमा नेतृत्व परिवर्तनको बहस चलिरहेको छ । एमालेमा के हुन्छ नि ?

हरेक चिजको समय सन्दर्भ र प्रक्रिया हुन्छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सेनाको सुरक्षा घेराभित्र रहेको बेला यस्तो ढंगले बहस चलाउनु कुनै अर्थमा शोभनीय थिएन । उहाँ १० दिनपछि बाहिर आइसक्नु भएको छ । उहाँ बाहिर आएको अवस्थामा परिस्थिति सामान्य बन्दै गएपछि अब पार्टीको बैठक बस्छ । नेतृत्व फेर्ने-नफेर्ने सबै विषयमा हामी पार्टी‍ निर्णयअनुसार अगाडि बढ्छौँ । अहिले ‘नेतृत्व परिवर्तन गर्ने बहस’ समय र सन्दर्भ दुवै हिसाबले उपयुक्त होइन ।

त्यसो भए एमालेमा विशेष महाधिवेशनको सम्भावना छैन ?

हाम्रो विधान महाधिवेशन भदौ २२ गते मात्रै सकिएको हो । छिटोभन्दा छिटो नियमित महाधिवेशन गर्ने हाम्रो तयारी हो । हामी महाधिवेशनमार्फत् अगाडि बढ्छौँ, त्यहीँबाट नेतृत्वको पनि टुंगो लगाउँछौँ ।

जेन-जी युवा आन्दोलनमामा एमालेसहितका ठूला दलको नेतृत्वमाथि चर्को असन्तुष्टि देखियो । तपाईंहरू अहिले नेतृत्वको विकल्प देख्नु हुन्न । ओलीको निरन्तरता युवाहरूको भावनाविपरीत भएन र ?

भदौ २३ र २४ गतेको घटनाबारे पार्टीले ठण्डा दिमागले आन्तरिक समीक्षा गर्छ । तर, अहिलेको अवस्थामा हामी सबै इमोसनमा छौँ । जताततै पीडा र सन्त्रास छ । यसभन्दा अगाडि के हुने हो ? अन्योलको अवस्था छ । अन्योल र तनावका बेला कुनै पनि कुराको वस्तुनिष्ट समीक्षा हुन सक्दैन । त्यसका लागि स्थितिलाई अलिकति सहज हुन दिनुहोस् । हामी सम्पूर्ण रूपले समीक्षासहित तपाईंहरू र पार्टी कार्यकर्ताको बीचमा आउँछौँ ।

आमजनता र एमालेका शुभेच्छुक त नेतृत्वसँग रिसाएका देखिन्छन्, उनीहरूलाई के भन्नुहुन्छ ? यहाँहरू जस्ता नेतामाथि पनि प्रश्न उठेका छन् नि ?

प्रश्न हामी सबैमाथि उठेको छ । इतिहासको कठिन कालखण्डमा प्रत्येकले आफ्नो जवाफ त दिनुपर्ने नै छ । मूल प्रश्न, संकटकै घडीमा हो, कार्यकर्ता-नेता र शुभचिन्तकको परीक्षण हुने । सजिलो बेलामा जो पनि अगाडि सर्छन् । आज जे-जस्ता प्रतिकूलता खडा भएका छन्, त्यसलाई छिचोलेर धुलो टकटकक्याउँदै हामी उठ्छौँ । हाम्रा कमीकमजोरीलाई चिरेर, गल्ती सच्याएर नयाँ ढंगले अगाडि बढ्छौँ ।

नेत्तृवको विषयमा पनि उठेका प्रश्नबारे छलफल हुन्छ । यो बेला आफू सम्हाल्दै अरुलाई पनि सम्हाल्ने हो । दैनिक र नियमित आवश्यक विषयहरू निमार्ण गरेर जान्छौँ । देश निमार्णमा लाग्छौँ । तर कतिबेला के कुरा प्रथमिकतामा राख्ने भन्ने विषय पनि हुन्छ होला नि ।

जेन-जी आन्दोलनकै सन्दर्भमा भदौ २३ गते नै प्रधानमनत्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको भए अथवा संवाद थालेको भए यो सबै हुने थिएन होला नि ?

मलाई बिलकुल त्यस्तो लाग्दैन । भदौ २३ र २४ गतेको घटनाको दोषी सम्पूर्ण रुपमा एमाले होइन । एमालेबाट केही गल्ती भए होला । तर २४ गतेको घटना २३ गतेको गोली प्रहारको घटनाले भएको होइन । यसमा महिनौँ अगाडिदेखिको तयारी देखिन्छ । ठाउँ-ठाउँमा गुगल म्यापबाट हेरेर, सर्भे गरेर, हरेक नेताको घर-घरलाई पोइन्ट आउटसहित आक्रमणको योजना बनाइएको रहेछ।

सहरका हरेक कोणमा टोली राखेर कुनले कहाँ हान्ने र कहाँ जाने खाका बनाइएको रहेछ । यो एकै रातमा गरिएको तयारी र आवेगको कुरा हुँदै होइन । योजनाबद्ध र लामो प्रयत्नपछि गरिएको हो । भदौ २३ गते नहुनुपर्ने घटना भयो । निषेधित क्षेत्र तोड्नुको उद्देश्य गोली प्रहार होइन । त्यो कुरा गम्भीर रहेकाले छानबिनको विषय बन्नुपर्छ । यो गलत कुरा हो । तर २४ गतेको घटना कुनै आकस्मिक आवेग र आक्रोशले गरिएको सामान्य तोडफोड होइन । हेरीहेरी छानीछानी आक्रमण गरिएको छ । यसको उच्चस्तरीय छानबिन हुनुपर्छ भन्ने हाम्रो आग्रह हो ।

योजना बनाइएको भन्नुभयो, कसले बनाएको रहेछ त ?

अनुसन्धान गर्नुपर्छ । हामीले यो भन्दैनौँ । गहिरो अनुसन्धान र छानबिन गरेर कारवाही हुनुपर्छ ।

खासमा एमाले-कांग्रेस सरकारले युवाका भावना समेट्न नसकेरै जेन-जी सडकमा आउनुपरेको देखिन्छ । किन यहाँहरूका अध्यक्षले युवाका कुरा सुन्न नसक्नु भएको ?

युवाका अपेक्षाप्रति हामी कुनै बिमति राख्दैनौँ । उहाँहरूका विषय र मुद्दा पनि स्वभाविक छन् । भदौ २३ गतेसम्म उहाँहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहनुभएको थियो । त्यो बेलासम्मको स्थितिलाई एक कोणबाट हेर्नुपर्छ । जब शान्तिपूर्ण भनेर आयोजक स्वयमले हाम्रो उद्देश्य पूरा भयो, सडकबाट फिर्ता हुनु, घुसपैठ भयो भनिसकेपछि घटनाक्रम जसरी विकसित भयो, त्यो त्रासदिपूर्ण छ । आयोजकले ब्याक हुनु भनिसकेको अवस्थामा १९ जना युवा त्यसैदिन मारिएका छन् ।

भदौ २४ गतेको घटना विशुद्ध आपराधिक हो । यसलाई चाहिँ एक किसिमले राष्ट्रलाई असफल बनाउने संगठित प्रयत्नको अभिव्यक्तिका रुपमा हामीले लिएका छौँ । सबै घटनालाई सामान्यीकरण गर्नु उचित हुँदैन । त्यस घटनाप्रति हामी दु:खी छौँ । यसबारे छानबिनबाट सत्य तथ्य पत्ता लागोस् भन्ने योजनामा छौँ । हामी कठोर भएको होइन । हाम्रा पनि गल्ती भए छनबिन होस् ।

निर्वाचन मिति घोषणा भएको छ, एमाले निर्वाचनमा जान्छ कि प्रतिनिधि सभा पुनर्स्थापनातिर लाग्छ ?

हामी निर्वाचनको फेस गर्छौँ । त्यहाँ जानुभन्दा अगाडि दुईवटा कुरा हुनुपर्छ ।

पहिलो, सदनका ८ वटा दलले प्रतिनिधि सभा विघटन संविधानसम्मत नभएको भनिसकेका छन् । त्यो कुरा विगतमा सर्वोच्च अदाततले गरेका आफ्नै फैसलासँग पनि मेल खाँदैन । यो कुरामा संवैधानिकताको परीक्षण हुनुपर्छ । प्रतिनिधि सभामा ८ दलले उठाएका प्रश्नलाई केही होइन भन्न मल्दैन । संविधान जोगाउन अदालत पनि जान सकिन्छ ।

दोस्रो, निर्वाचन मिति कसरी घोषणा भयो भन्ने छ । चुनाव के शान्तिपूर्ण हुन्छ त भन्ने प्रश्न गम्भीर छ । नेपाली सेनाको ५ सय मिटर अगाडि रहेको सिंहदरबार पनि सुरक्षित नभएको अवस्था छ । राष्ट्रपतिको कार्यलय पनि सुरक्षित नभएको अवस्था छ । यो त्रासबाट समाज बाहिर आएको छैन । यो अवस्थामा प्रत्येक नागरिकले निर्भयर्तापूर्वक मतदान केन्द्रसम्म पुग्न सक्छन् भन्ने विश्वासको आधार छैन । ढुक्क्ले भोट हाल्ने वातावरण बनाउने जिम्मा सरकारको हो । सरकारले पहिले त्यो अवस्था बनाओस् । अहिले त्यो स्थिति बनिसकेको देखिँदैन ।

जेन-जीका कारण आएको उथलपुथलले एमालेलाई निर्वाचन सामना गर्न गाह्रो होला नि ?

अहिले एमाले सजिलो-अप्ठ्यारो भन्दा पनि मुलुक र संविधानकै रक्षा हुन्छ हुँदैन भन्ने प्रश्नको जवाफ खोजिरहेको छ । लोकत्रान्त्रिक गणतन्त्रकै रक्षा हुन्छ हुँदैन भन्ने द्विविधाको अवस्थामा हामी छौँ। लिकबाहिर गएको राष्ट्रिय राजनीतिलाई कसरी लिकमा ल्याउन सकिन्छ भन्ने कुरामा केन्द्रित छौँ । एमालेले विगतमा धेरै चुनौती सामना गर्दै आएको हो । न माघ १९ मा हामीलाई सजिलो थियो न ०६४ सालको पहिलो प्रतिनिधि सभा निर्वाचनमा सजिलो थियो । हामी हरेक अप्ठ्यारो अवस्थासँग जुधेर नै यहाँसम्म आएका हौँ। अहिलेको अप्ठ्यारोलाई पनि विगतको जस्तै पार लगाएर हामी अगाडि जानछौँ ।

अन्तिममा, अध्यक्ष ओली १० दिनपछि बाहिर निस्किएलगत्तै संविधान दिवसको बहानामा यहाँहरूले सेलिब्रेस गर्नु भयो । यो जरुरी थियो र ?

के को सेलिब्रेसन हुनु । हामीले सेलिब्रेसन गरेको होइन, यो त्यस्तो बेला पनि । हामी त संविधानको रक्षाका निम्ति आवाज उठाउँदै आएका हौँ । संविधानको रक्षाका लागि हामी आवाज उठाइरहन्छौँ, यो कसैका लागि चुनौतीको विषय होइन ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ८ : ५५ बजे

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौं– समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र

काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी

२ सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को भदौसम्म २३६ परियोजनाका लागि

लहान मुटु अस्पतालद्वारा सेवा विस्तार

सिरहान – लहान मुटु अस्पतालले सेवा विस्तार गर्दै अत्याधुनिक परीक्षण

पर्साका आधा दर्जनभन्दा धेरै पालिकाको खाता सञ्चालनमा आएनन् 

वीरगञ्ज– पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि