‘जेन–जी’ आन्दोलन : अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना | Khabarhub Khabarhub

‘जेन–जी’ आन्दोलन : अधुरै रह्यो बाबुआमालाई झापा लैजाने कमलको सपना


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

पाँचथर– वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताएर गत वैशाखमा झापा आएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुगेकै थिएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उनी झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाउँदै थिए ।

गत भदौ तेश्रो साता मोबाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दसैँसम्ममा घरको भुईं तलाको काम सक्ने बताएका थिए । ‘दसैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो’, गणेशले भने, ‘तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो ।’ गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहा नै थिएन ।

घर निर्माण गरिरहेका कमल ‘जेनजी’ आन्दोलन चर्किएको समयमा भदौ २४ गते साँझ आन्दोलनमा सहभागी हुन झापाको विर्तामोड गएका थिए । कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिनँ । एकैछिन आन्दोलनमा गएर आउँछु’ भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लागेका थिए ।

रात पर्दै गएपनि कमलको फोन उठेन । श्रीमती सीता, बहिनी मायालगायतले रातैभर मोबाइलमा फोन गरे । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशङ्का पसिसकेको थियो । बहिनी मायाका अनुसार गत भदौ २५ गते बिहान १० बजे कमलको फोन बिएण्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए ।

सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ । आएर लिएर जानु’ भने । ‘हामीलाई केही थाहा नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्’, मायाले भनिन्, ‘दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।’

जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला भदौ २४ गते साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड गएका थिए । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएण्डसी अस्पताल लगेका थिए ।

कमलका परिवारजनले भोलिपल्ट मात्रै उनी ‘भेण्टिलेटर’मा भएको जानकारी पाए । ‘दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो’, बहिनी मायाले भनिन्, ‘चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनु भएन भन्नुभयो । हामीले थाहा नै पाएनौँ भोलिपल्टसम्म । तर त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।’

कमलको शवलाई भदौ २८ गते अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बसेका छन् । ५७ वर्षका बाबु गणेश आफैँ बिरामले थलिएका छन् । बिरामी आमा खगमाया राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ ।

बिरामी बाबु गणेशका गला अवरुद्ध छन् । गर्भवती श्रीमती सीता अझैसम्म ‘अर्धचेत’ छिन् । सिकुवामा ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेर ३० वर्षका छोराको तस्वीर राखिएको छ । आफन्त र छरछिमेकी घरभरि छन् । तर गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास ।

झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गर्दै आएका थिए । परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै । ‘हामीलाई पनि घर बनाइसकेर झापा नै लैजाने भन्दै थियो । तर खोइ आज के आइलाग्यो ?’, भक्कानिदै बाबु गणेशले भने । भुइँ तला ढलान सकिएको घर फिनिसिङ गर्न बाँकी छ ।

तीस वर्षीय कमलको आठ वर्ष खाडीमै बितिसकेको थियो । खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरीद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ ।

कमलका पाँच वर्षका छोराले अब कहिल्यै बाबु भेट्ने छैनन्, गर्भमा रहेको सन्तानले बाबु देख्न पनि पाउने छैन । अर्धचेत श्रीमती सीताले सहयात्राको सात वर्षमै श्रीमान् गुमाउनु परेको छ । ‘यिनीहरुको भविष्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ’, काका शान्तिरामले भने ।

शहीद परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन् । ‘हामीलाई भेट्न वडाध्यक्षसमेत आएका छैनन्’, शहीद कमलकी बहिनी मायाले भनिन्, ‘देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ बित्दा कसैले वास्ता पनि गर्नुभएन ।’ जेनजी आन्दोलनका सहादत प्राप्त गरेकाका परिवारलाई दिइने भनेको राहतबारे पनि भण्डारी परिवार जानकार छैन । (रासस)

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ६ : ४९ बजे

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

गण्डकी– पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

धुलिखेल–सूर्यविनायक खण्डअन्तर्गत जनागालबाट कालोपत्र सुरु

काभ्रे– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गतको काभ्रेपलाञ्चोकको जनागाल–भैँसेपाटीमा कालोपत्र सुरु गरिएको

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन