गुन्डू ओर्लिएपछि ओली भन्दैछन्- विदेशीले खेले, बरू चरेस खानू, हरेस नखानू | Khabarhub Khabarhub

गुन्डू ओर्लिएपछि ओली भन्दैछन्- विदेशीले खेले, बरू चरेस खानू, हरेस नखानू

सचिवालयमा बहुमत जुटाउन एकपछि अर्को नेता भेट्दै


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


957
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भदौ २३ र २४ गतेको राजनीतिक उथलपुथलपछि बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टर चढेर शिवपुरीतिर लागेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि असोज २ गते भक्तपुरको गुन्डूमा ओर्लिए ।

दश दिन लामो सैनिक ब्यारेक बसाइपछि भक्तपुरको गुन्डुस्थित एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत छिमेकी टोलमा झरेका ओली अहिले त्यहीँबाट निरन्तर सक्रिय छन् ।

असोज ३ गतेको संविधान दिवसमा सहभागी हुन जेन-जीका नाममा जलाइएको च्यासलस्थित केन्द्रीय कार्यालयमा ओली आउने अपेक्षा थियो । तर, उनलाई सुरक्षा चुनौती भन्दै गुन्डू छाड्न दिइएन ।

पुर्ख्यौली थलो तेह्रथुम, झापाको दमक र भक्तपुरको बालकोटसहित तीनै स्थानका घर जलाइएपछि डेरामा बस्न बाध्य ओलीका लागि अहिलेको मुकाम गुन्डू नै भएको छ।

ओली गुन्डूमा रहिरहँदा दुई दिनअघि उनकी पत्नी राधिका शाक्य बालकोटस्थित जलाइएको घरमा छिरिन् । उनले संग्रहालय बनाएर राज्यलाई सुम्पिने योजना बनाइएको घरको खरानीको टीको लगाएर बाहिरिइन् ।

जेन-जीको आन्दोलनपछि एमाले नेताहरूले पार्टीको नेतृत्वको फेर्नुपर्ने बहस गरिरहेका बेला उता ओली भने सचिवालयका एक-एकजना सदस्यहरूलाई गुन्डूमै बोलाएर पार्टीमा पकड कायमै राख्ने दाउमा छन् ।

उनले त्यही योजनानअनुसार पहिले पार्टी सचिवालयमा बहु्मत कायम गरेर मात्रै बैठक बोलाउने रणनीतिअनुसार बाक्लो संवाद गरिरहेका छन् ।

सचिवालयमा रहेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल त ओलीको साथमै छन् । तर हाल कायम १८ सदस्यीय सचिवालयमा आधाभन्दा धेरै आफ्नो विपक्षमा रहेको बुझेपछि ओलीले हरेकसँग एक्ला एक्लै संवाद गरिरहेका छन् । १९ सदस्यीय सचिवालयमा सचिव टोपबहादुर रायमाझी निलम्बित रहेको अवस्थामा हाल १८ जना छन् ।

गुन्डूलाई मुकाम बनाएका ओलीले शनिबार उपाध्यक्ष एवम् आफ्नो क्याबिनेटका अर्थमन्त्री विष्णु पौडेललाई बोलाएर लामो छलफल गरेका थिए । त्यसपछि आइतबार उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि बोलाएर संवाद गरे ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीबाट पाखा लगाउने क्रममा ओलीले दुवैतिर संवादमा रहेका पौडेल र गुरुङद्वयलाई आफ्नो पोल्टामा तानेका थिए । आगामी ११ औँ महाधिवेशनका लागि निर्णायक पात्रमध्ये यी दुईजनालाई ओलीले शक्तिशाली मन्त्रालय दिएर आफ्नो पोल्टामा राखेका थिए ।

अहिले ओलीको पक्षमा माहोल बनाउन महासचिव पोखरेल, उपमहासचिव ज्ञवाली र रिमाल खटिएका छन् । यस्तोमा ओलीले सचिवालयमा बहुमत जुटाउने गरी थालेको यो छलफलले उनले तत्कालै एमालेको नेतृत्व नछाड्ने रणनीति बनाएको नेताहरू बताउँछन् ।

उता सचिवालयकै सदस्यहरू योगेशकुमार भट्टराई र गोकर्ण विष्टसहितले पार्टी पुनर्निर्माणका लागि अहिलेको नेतृत्वको विकल्प पनि खोज्नुपर्ने बताइसकेका छन् । जेन-जीको आन्दोलनअघि नै वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले आफूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलाइसकेका छन् ।

उनीहरूले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता रोक्ने ओलीको निर्णयमा फरक मत नै व्यक्त गरिसकेका छन् । ओलीको विपक्षमा खडा भएका भनिएका उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य र गुरू बराल अझैसम्म मौन छन् । उता मा‌ओवादीबाट आएका सचिव लेखराज भट्ट पनि मौन छन् । विधान महाधिवेशन अघिसम्म उनी नेतृत्व फेर्न नहुने पक्षमा थिए ।

सचिवहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्या अर्यालले मौनता साँधेका छन् । यिनमा गुरू बराल, लेखराज भट्ट र पद्मा अर्यालले ओ‌लीलाई साथ दिन सक्ने छन् ।

उता भदौ २० देखिको विधान महाधिवेशनअघिको सचिवालय बैठकमा उपाध्यक्ष बादलले आफूलाई ओलीको निर्णयको विपक्षमा उभ्याएका थिए ।

गुरू बराल ओलीकै अग्रसरतामा उपाध्यक्ष बनेका हुन् । अष्टलक्ष्मीलाई जेन-जी आन्दोलनपछि नयाँ नेतृत्वका रुपमा अघि सार्नुपर्ने बहस एमालेको एउटा पंक्तिले चलाइरहेको छ। उनले एमालेबाट कार्यकारी पदमा दुई कार्यकाल हटाउने र ७० वर्षे पनि नराख्ने प्रस्तावमा असहमति जनाएकी थिइन्

ओलीले सचिवालयमा बहुमत जुटाउन थालेको संवादसँगै गुन्डूमै बसेर सामूहिक भेटघाट र छलफल पनि चलाइरहेका छन् । जिल्ला कमिटी, प्रदेश कमिटि र विभिन्न जनसंगठका नेता-कार्कयर्तासँग पनि उनले बाक्लो भेट गरिरहेका छन् ।

ओली भन्छन् : विदेशीले खेले

गुन्डू पुगेर ओलीलाई भेटेका एक नेताका अनुसार अहिले नै उनी एमालेको नेतृत्व छाड्न तयार छैनन् । भेटका क्रममा ओलीले कुनै निराशा र पश्चातापको भाव देखाएका छैनन् ।

‘बरू उहाँले जेन-जीका नाममा विदेशीले खेलेको बताइरहनु भएको छ’, भेटपछि फर्किएका एकजना नेताले भने, ‘बरू चरेस खानु, हरेस नखानु भनिरहनु भएको छ। उहाँ ११ औँ महाधिवेशनसम्म नेतृत्व छाड्ने मुडमा देखिनु भएको छैन ।’

ओलीलाई भेट्न केही दिनअघि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल पनि पुगेका थिए । ढुंगेलले खबरहबसँगको कुराकानीमा ओलीसँग सद्भावना भेट भएको बताए ।

‘बदलिँदो राजनीतिक परिस्थितिमा उहाँलाई गएर भेटेको हो’, उनले भने, ‘केवल सद्भावना भेटका रुपमा यसलाई मैले ब्याख्या गरेको छु । उहाँसँग पार्टीको भावी रणनीतिबारे केही कुरा भएका छन् । तर यो भेट केवल सन्चो-बिसन्चो बुझ्नका लागि मात्रै भएको हो ।’

ओलीले पछिल्ला केही दिनयता प्रेस चौतारी, युवा संघ नेपालदेखि अन्य जनवर्गीय संगठनका नेताहरूसँग पनि छलफल गरेका छन् । ‘हामीले बुझेसम्म उहाँका कुरा सुन्दा एमालेलाई आफैंले हाँकेर लैजाने आशय बुझेका छौँ’, आइबार गुन्डू पुगेका एमालेका एक नेताले भने, ‘भदौ २३-२४ को उथलपुथल जेन-जीले भन्दा पनि विदेशी शक्तिले खेलेकाले भएको निचोड उहाँले हामीलाई सुनाउनु भएको छ।’

विदेशीले खेलेर अहिलेको अवस्था आएकाले आफूले नेपाली राजनीतिमा चाँडै कमब्याक गर्ने कुरा ओलीले नेता कार्यकर्तालाई सुनाइरहेका छन् । ‘उहाँ अहिले नेतृत्व अरूलाई छाडेर विश्राम लिने पक्षमा देखिनु भएन । सचिवालयका एक-एकजना सदस्यसँगको छलफल हेर्दा फेरि पकड बनाउने योजनामा रहनु भएको बुझ्यौँ’, गुन्डू पुगेर फर्किएका अर्का नेताले भने, ‘उहाँनिकट पदाधिकारीहरू पनि अहिले तलैसम्म माहोल बनाउन लाग्नु भएको छ । त्यहीअनुसार भेटघाट र छलफललाई अघि बढाउनु भएको छ।’

यही कुरालाई पुष्टि गर्ने गरी अघिल्लो आइतबार भूमिगत अवस्थामा गरिएको जुम मिटिङमा एमाले महासचिव शंकर पोखरेलले अहिले ओलीको विकल्प खोज्ने अवस्था नरहेको बताएका थिए । उनले अहिलेको चुनौतीपूर्ण अवस्थामा विपक्षीहरूले पनि घेराबन्दी गरिरहँदा नेतृत्व फेर्ने भन्दा पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने राय महासिचव पोखरेलले राखेका थिए ।

उता उपमहासचिव प्रदीप ज्ञवालीले पनि संकटको बेलामा नेतृत्वलाई समस्यामा पार्ने भन्दा बलियोसँग साथ दिएर जानुपर्ने मत सार्वनजिक रूपमै राखेका छन् । उनीहरू दुवैले कम्तीमा नियमित ११ औँ महाधिवेशन या विशेष महाधिवेशनमा गएर मात्रै नेतृत्व फेरबदलको कुरा गर्नुपर्ने तर्क गरिरहेका छन् ।

अहिलेको अवस्थामा आलोचनाको अर्को केन्द्र बनेका उपमहासचिव विष्णु रिमालले भने सार्वजनिक रुपमा केही बोलेका छैनन् । यद्यपि एमालेको एउटा पंक्तिले रिमालकै कारण ओली असफल भएको आरोप लगाउँदै आएका छन् । तर रिमाल पनि भित्रभित्रै ओलीको पक्षमा माहोल बनाउन लागिसकेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १२ : ३२ बजे

प्यालेस्टिनी राज्य वार्ताबाट मात्र सम्भव : जर्मनी

एजेन्सी– जर्मनीले सोमबार इजरायल–प्यालेस्टिनीबीच वार्ता नगरी दुई-राज्य समाधान सम्भव नहुने

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कर्णाली– ट्रकको ठक्करबाट सुर्खेतमा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ

भाटभटेनी जलेपछि कविताको चित्कार- दुःख गरेर खानी भाँडो पापीहरूले रित्याए

काठमाडौं– स्याङ्जा कालीगण्डकी गाउँपालिकाकी कविता पाण्डेय विगत चार वर्षदेखि भाटभटेनी सुपरमार्केटमा

नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ

काठमाडौं– नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

दसैँको समयमा राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता

दोधारा चाँदनी – दसैँको समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे