जब डाइलासिस गर्दै गरेका बिरामीमाथि ढुंगामुढा हुन थाल्यो… « Khabarhub

जेन–जी आन्दोलन 

जब डाइलासिस गर्दै गरेका बिरामीमाथि ढुंगामुढा हुन थाल्यो…

लुटियो गौशाला धर्मशालाको दानपेटिका



काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनमा संसद् भवन, सिंहदरबार, अदालत र नेताहरूको घरमात्रै जलेनन् ,पशुपतिस्थित धर्मशालाको दानपेटिकासमेत प्रदर्शनकारीहरूले छोडेनन् । धर्म कमाउने आशाले भक्तजनहरूले सेवाभाव राखेको दानसमेत प्रदर्शनकारीहरुले उठाएर लगेका छन् । 

पशुपति धर्मशालाका निर्देशक विनय बुढाथोकीले खबरहबसँगको कुराकानीमा भने धर्मशालाको दानसमेत उठाएर लाने वास्तविक जेन–जी नभएको बताएका छन् । उनले भने, ‘जेन–जी आन्दोलनको बारेमा हप्तौ दिन अगाडिबाट अवगत थियौँ । उनीहरूको मागको बारेमा स्पष्ट थियौ । तर उक्त आन्दोलनको फाइदा उठाएर अन्य समूह लुटपाटमा संलग्न भयो ।’

‘देशमा विभिन्न कालखण्डमा आन्दोलनहरू भएको छ । तर धर्मशालामाथि प्रहार भएको कहिले पनि थाहा भएन । धर्मनिरपेक्ष देश भएपनि हिन्दुहरुको आस्था रहेको पशुपतिनाथ र त्यससँग जोडिएका संरचनामाथि हमला भएको थिएन, उनले थप भने, ‘पशुपति मन्दिरसमेत तोडफोड गर्न पुगेको भिड जेन–जी थिएन । मन्दिर तोडफोड गर्न आर्मीले रोकेपछि उक्त भिड धर्मशाला तोडेर गयो ।’

प्रारम्भिक मुचुल्का अनुसार दुई करोड ६० लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको बढाथोकी बताउँछन । 

भन्छन्, ‘दुईवटा शव बाहन जलेको छ । धार्केबाट गाईलाई खुवाउन ल्याइने घाँस बोक्ने बलेरो गाडी पनि जलाइदिएका छन् । त्यो बलेरो त्यो दिन धर्मशाला परिसरभित्रै थियो । कर्मचारीहरूको पाँच वटा मोटरसाइकल र १५ वटा साइकल जलेर नष्ट भएको छ । कार्यालयको फर्निचर, कम्प्युटर, फोनसेट लगायत सबै जलेका छन् ।’

धार्केमा धर्मशालाको अर्को गौदान रहेको छ । पशुपतिस्थित गौशालामा नअटेको गाई तथा बाच्छाहरु त्यहाँ लगेर राख्ने गरिएको छ । धर्मशालाको अनुसार धार्केमा ६२ रोपनी जग्गामा घाँस लगाइएको छ । 

धर्मशालाको १५० वटा कोठाको चाबी प्रदर्शनकारीहरूले फुटाएको विनयले बताए । धर्मशालाको सबै झ्यालका सिसाहरू तोडफोड भएको छ । हरेक कोठामा तालहरू सबै फुटालिएको छ । जुन जुन कोठामा भक्तालुहरू बसिरहेका थिए । त्यसमा चाबी लगाउने कुरा भएन । तर भक्तालु नभएको कोठामा चाबी लगाइन्छ । ती सबै चाबी फोरिएको छ, उनले भने । 

‘प्रदर्शनकारीहरु चोर्ने मनसायले आएको स्पष्ट हुन्छ । धर्मशाला भित्रको कोठा –कोठामा केही भेटिन्छ कि भनेर चाबी फोरेका छन्, उनी थप्छन्, ‘जेन–जी हरुले यो हर्कत नगरेको भए, त्यो भिडको फाइदा अन्य बदमासहरुले लिन खोजेका छन् । जो लगभग सबै तोडिएको छ ।’

त्यसैगरी प्रदर्शनकारीहरूले धर्मशालासँगै रहेको डाइलासिस सेन्टरमाथि पनि प्रहार गरेका छन् । डाइलासिस सेन्टरमा ३० वटा बेड रहेको छ । डाइलासिस गर्दै गरेका बिरामी छन् भनेर कर्मचारीहरूले हात जोडेर बिन्ती गर्दा पनि ढुङ्गा हान्न नछोडे पछि बिरामीहरूलाई बोकेर पछाडिको कोठामा सारिएको भन्दै बुढाथोकीले दुखेसो पोखे । 

‘उनीहरुले अस्पताल हो र यहाँ बिरामी पनि छन् भन्ने थोरै मानवताको पनि ख्याल नगरेको पाइयो । धर्मशालाको कर्मचारी सुरक्षागार्डदेखि प्रशासनका कर्मचारी र डाक्टरहरूले बिन्ती बिसायौँ । प्रदर्शनकारीहरूलाई ढुङ्गा नहान्न अनुरोध गर्यौं’ उनी थप भन्छन्, ‘उक्त भिडले बिन्ती सुन्ने पक्षमा नदेखिएपछि हामीले बिरामी बोकेर पछाडिपट्टिको कोठामा सारेर दुर्घटना हुनबाट जोगायौं । आधा डाइलासिस भएका बिरामी बोकेर हिँड्नु पर्यो । जबकी ती बिरामीलाई बेडबाट उठाउन हुँदैन ।’ 

डाइलासिस सेन्टरका कम्प्युटरहरू गायब छन् । धर्मशाला र सेन्टर दुवैतिर सीसीक्यामेरा जडान गरिएको थियो । तर त्यो सबै क्षति भएको छ । कुनैपनि कुराको रेकर्ड छैन । 

धर्मशालाको बीमा नभएको बुढाथोकीले बताए । भन्छन्, ‘बीमा गर्ने भनेर हामी प्रक्रियामै थियौँ । हामीले काम गर्न नभ्याउँदै क्षति भयो । एउटा गाडीको मात्रै बीमा थियो । को–कसले तोडफोड गरे भनेर हेर्नसमेत पाइएन । सीसी क्यामेरामा हेर्न पाएको भएर दुईचार जनालाई भएपनि पक्राउ गर्न हुन्थ्यो । त्यो सम्भावना कमै रह्यो ।’ 

गौशाला धर्मशालामाथिको प्रहारले तीर्थालुहरूमा गतल सन्देश गएको विनयको बुझाइ छ । ‘विशेष भारतीय तीर्थालुहरू बस्छन् । उनीहरुसमेत निकै आत्तिए । पशुपतिनाथको दर्शन गरेर मन शान्ति गर्न आएका तीर्थालुहरुप्रति निकै नकारात्मक सन्देश गयो । आफ्नो देश पुगेपछि आन्दोलनको बारेमा कुरा गर्नेछन् । अर्को धर्मशालासमेत सुरक्षित नभएको सन्देश बोकेर गए । यो हरेक नेपालीको लागि दुखद कुरा हो ।’

‘हामीले तीर्थालुहरुलाई सुरक्षित राख्न सफल भयौं । उनीहरूको उद्धार गरेर सुरक्षित ठाउँमा स्थानान्तरण नगरेको भए मानवीय क्षति पनि बेहोर्नुपर्ने थियो । कम्तिमा त्यो हुन दिएनौ’ उनले भने, ‘आगलागी भएको कोठाहरू पुनर्निर्माणमा जुटिसकेका छौ । रङरोगन गरिदैछ । केही कोठाहरू मान्छे बस्न सक्ने बनाएर तीर्थालुहरू राखिसकेका छौ । आन्दोलनको बारेमा थाहा नपाएर पशुपति दर्शन गर्न आउनेहरू प्रशस्तै हुनुहन्छ । उहाँहरूको लागि सेवा सुचारु भइसकेको छ ।’

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ५ : २९ बजे

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा