लेकका च्याङ्ग्रा सहरमा « Khabarhub

लेकका च्याङ्ग्रा सहरमा


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मंगलबार पर्यटकीय सहर पोखरा झर्दै थिए । पोखरा–बागलुङ राजमार्गमा सवारीसाधन नै रोकिने गरी च्याङ्ग्राको लामो ताँती देखिन्थ्यो । व्यापारीहरू साइसाइ सुइसुइ गर्दै च्याङ्ग्रालाई हिँडाइरहेका थिए ।

च्याङ्ग्राको बथानले दसैँको छनक दिएको थियो । चाडबाडका लागि हिमालपारिको जिल्ला मुस्ताङदेखि च्याङ्ग्रा पोखरा झारिएको हो । 

यहाँ नवरात्र सुरु हुनुपूर्व नै च्याङ्ग्रा भित्रन सुरु गरेका थिए । पोखरामा बर्सेनि दसैँमा हजारौँ च्याङ्ग्राको खरिदबिक्री हुने गर्छ । व्यापारीले मुस्ताङदेखि ल्याएका च्याङ्ग्रालाई पोखराको सिमपानी क्षेत्रमा केन्द्रित गरी बिक्री सुरु गर्छन् । विशेष गरी दसैँको घटस्थापनादेखि च्याङ्ग्राको किनमेल बढी हुने गरेको छ ।   

दसैँका बेला पोखरा, बागलुङलगायत यहाँका सहरी क्षेत्रमा मुस्ताङ, डोल्पालगायत हिमाली भेगबाट च्याङ्ग्रा, भेँडा र चेलु ल्याउने गरिन्छ । दसैँलाई च्याङ्ग्रा लिन अधिकांश व्यापारीहरू हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् । हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यवसायी महेन्द्र केसी र ज्ञानबहादुर कार्की मिलेर यसपालि ५९ वटा च्याङ्ग्रा बागलुङ झारेका छन् । 

मुस्ताङको जोमसोम पुगेर च्याङ्ग्रा ल्याएको केसीले बताए। रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै रु ३८ हजार पाँच सय तिरेकाले बागलुङ ल्याएर बेच्दा रु ४५ हजार पुगेको उनको भनाइ छ । ‘रोज्जा च्याङ्ग्रा रु ४५ हजार र चेलु ४० हजारमा बिक्री भइरहेको छ’, केसीले भने, ‘पसलबाट बेच्दा च्याङ्ग्राको प्रतिकिलो  २२ सय र चेलुको १८ सय मूल्य पर्छ ।’ केसीले दसैँका बेला बागलुङ नगरपालिका–२ मा रहेको ‘नवदुर्गा मासु पसल’बाटसमेत च्याङ्ग्राको मासु बेच्दै आएका छन् । 

दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन थालेपछि आफैँले च्याङ्ग्रा ल्याएर बेच्न थालेको उनले बताए। केसीले च्याङ्ग्राको कारोबार गर्न थालेको एक दशक बितिसकेको छ । बागलुङमा पहिलेको तुलनामा च्याङ्ग्रा कम भित्रने गरेको उनको अनुभव छ । 

‘एउटै दसैँमा दुई हजारसम्म च्याङ्ग्रा आउने गर्थे, अहिले च्याङ्ग्राको मूल्य बढेपछि व्यवसायीहरू पनि कारोबार गर्न अनिच्छुक देखिएका छन्’, केसीले भने। 

कोभिड–१९ महामारीपछि झण्डै दोब्बरले च्याङ्ग्राको मूल्य बढेको व्यवसायी बताउँछन् । च्याङ्ग्रापालन कम हुनु, बढ्दो करजस्ता कारणले पनि मूल्य महँगिँदै गएको उनीहरूको भनाइ छ । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यापारीको गुनासो छ ।

मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरेका छन् । त्यहाँबाट म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा ल्याइपु¥याउन हप्ता दिनसम्म लाग्छ । मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौँसम्म पुग्ने गरेको छ । मुस्ताङका युवा व्यवसायी निरज थकालीले मङ्गलबार म्याग्दीको बैसरीबाट दस वटा ट्रकमा काठमाडौँ र दुई वटा ट्रकमा च्याङ्ग्रा पोखरा ल्याउन लागिएको बताए। 

एउटा ट्रकमा ८० देखि ९० वटासम्म च्याङग्रा अट्ने उनको भनाइ छ । व्यवसायी थकालीले आफूले ल्याएका दुई सय च्याङ्ग्रामध्ये एक सय पोखरा र एक सय काठमाडौँ पठाउन लागेको बताए।

‘यस वर्ष पोखरामा झण्डै दस हजार र काठमाडौँमा पाँच हजार मुस्ताङी च्याङ्ग्रा पुग्दैछ’, उनले भने, ‘कतिपय व्यापारी च्याङ्ग्रा लिएर फर्किसके र कोही बाटोमै छ्न्, यस वर्ष मुस्ताङबाट १५ हजार बढी च्याङ्ग्रा बाहिरिने अनुमान छ ।’ 

मुस्ताङदेखि बागलुङ, पोखरा हुँदै काठमाडौँसम्म ट्रकमा च्याङ्ग्रा लाने गरिएपनि केही व्यापारीले भने हिँडाएर पोखरासम्म ल्याउने गरेका छन् । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भएपनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दसैँ नै कुनुपर्छ ।

दसैँका बेला च्याङ्ग्राको मासु उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ ।
 

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ५६ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन