काभ्रेपलाञ्चोक– सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढीले आवेदन फारम भरेका छन् ।
गत साउन र भदौ महिनामा छ हजार ३५० जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।
साउनदेखि नै यससम्बन्धी सेवाग्राहीको चाप बढ्न थालेपछि कार्यालयले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिई अलग्गै स्टेशन व्यवस्थापन गरी फोटो खिचाइरहेको छ । हाल कार्यालयमा तीन स्टेशनबाट नागरिकलाई सेवा प्रदान गरिरहेको हो ।
केही स्थानीय तहले कार्यालयको समन्वयमा वडास्तरमा समेत नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन् । जिल्लामा समग्रमा उक्त सङ्ख्यामा राष्ट्रिय परिचयपत्रका लागि आवेदनसहित फोटो खिचाएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई महिनाको अवधिमा राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएकामध्ये एक हजार ५५७ नागरिकले कार्ड लिइसकेका छन् ।
यसैबीच कार्यालयबाट यस अवधिमा एक हजार ३८२ ले नयाँ नागरिकता लिएका छन् भने दुई हजार २१६ जनाले नागरिकताको प्रतिलिपि लिएका जनाइएको छ । दुई महिनाको अवधिमा तीन जनाले नागरिकता परित्याग गरे भने चार जनाको नागरिकता रद्द गरिएको छ । यही अवधिमा राहदानीका लागि दुई हजार ८२६ जनाले आवेदन दर्ता गरेकामध्ये दुई हजार ८७६ जनाले राहदानी प्राप्त गरेका छन् ।
नाबालक परिचयपत्र ११२ जनाले लिएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयले राहदानी, सङ्घ संस्था दर्ता तथा नवीकरण तथा अन्य शीर्षकमा दुई महिनाको अवधिमा तीन करोड १६ लाख २६ हजार ३९७ रुपैयाँ आम्दानी गरेको जनाइएको छ । रासस
प्रतिक्रिया