प्रचण्डका विकल्प : कार्यकारी अध्यक्ष दिएर निर्वाचन फेस गर्ने कि महाधिवेशनपछि नेतृत्व छाड्ने ?  | Khabarhub Khabarhub

प्रचण्डका विकल्प : कार्यकारी अध्यक्ष दिएर निर्वाचन फेस गर्ने कि महाधिवेशनपछि नेतृत्व छाड्ने ? 

नारायणकाजी र जनार्दनलाई अरू नेताको पनि साथ



काठमाडौं– जेन–जी आन्दोलनपछि अहिले ठूला दलका शीर्ष नेताहरू घेराबन्दीमा छन् । पद छाडेर युवालाई दिनुपर्ने दबाब बढिरहँदा नेताहरू पार्टीभित्र र बाहिरबाट पनि दबाबमा छन् ।

यस्तै दबाब झेलिरहेका छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि हुन् । उनीमाथि अहिले साँच्चिकै संकट देखिएको छ । कारण, केही समयअगाडि बसेको पदाधिकारी र केन्द्रीय समिति बैठकमा प्रचण्डको विकल्पबारे बहस चलेको छ । 

दोस्रो र तेस्रो तहका नेताले प्रचण्डको विकल्प खोजिरहेका बेला उनी त्यसका लागि अहिलेसम्म तयार देखिएका छैनन् । 

प्रचण्डलाई दुई विकल्प 

१.आफू स्वयम्सेवक भएर कार्यकारी अध्यक्ष वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिने, 
२.मंसिरमा हुने महाधिवेशनमा आफू अध्यक्षमा नउठ्ने लिखित प्रतिबद्धता गर्ने,

तर उनी यी दुई विकल्प नमान्ने पक्षमा छन् । बरु प्रचण्डले मङ्सिरमा विशेष महाधिवेशन गरेर आफैँ नेतृत्वमा आउने दाउमा छन् । तर, प्रचण्ड नेतृत्व छोड्न तयार नभए वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मासहितका नेताहरू जसरी पनि बिदा गर्ने दाउमा छन् । 

विकल्पमा नारायणकाजी

प्रज्ञा भवन कमलादीमा बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अब प्रचण्ड कार्यकारी भूमिकाबाट बिदा लिनुपर्ने प्रस्ताव राखे । यति मात्र होइन, श्रेष्ठले लिखित रूपमै आफूलाई कार्यवाहक अध्यक्ष दिनुपर्ने शर्त राखेका छन् । 

अनि, निर्वाचन फेस गरेपछि मात्रै महाधिवेशन गरिनुपर्ने उनले बताए । उनको यो प्रस्तावमा दोस्रो र तेस्रो तहका नेता पनि सहमत देखिएका छन्। 

यति मात्रै होइन, पार्टीमा निरन्तर प्रचण्डको विकल्प खोजिरहेका उपमहासचिव शर्माले पनि प्रचण्डको बहिर्गमनपछि श्रेष्ठले कार्यवाहक अध्यक्ष लिँदा उपयुक्त हुने मत राखिरहेका छन् । 

श्रेष्ठलाई सर्वसम्मत कार्यवाहक अध्यक्ष दिन वर्षमान पुनसहितका नेताहरू पनि तयार भएको देखिएको छ । प्रचण्डनिकट नेताहरू पनि नेतृत्व हस्तान्तरणको बहस अगाडि बढाउन सहमत छन् । उनीहरू अहिले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष दिएर निर्वाचनसम्म जान सकिने पक्षमा छन् ।
 
श्रेष्ठलाई कार्यवाहक दिएर अगाडि बढ्दा घाटा नहुने उपमहासचिव शक्तिबहादुर बस्नेत, वर्षमान पुन र भर्खरै पार्टी उपाध्यक्ष भएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र महासचिव देव गुरुङ पनि तयार भएको स्रोत बताउँछ । उनीहरू प्रचण्ड पक्षका नेता भए पनि पार्टी रूपान्तरण र युवाको भावना समेट्न यसो गर्दा उपयुक्त हुने मनसायमा छन् । 

उनीहरूले औपचारिक रूपमा यी नेताहरूले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष दिएर अगाडि बढ्दा उपयुक्त हुने बताइसकेका छैनन् ।

यता उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव जनार्दन शर्मा, हरिबोल गजुरेल, नेताहरू हितमान शाक्य, सचिवद्वय राम कार्की, देवेन्द्र पौडेल लगायत नेताहरू कार्यकारी अध्यक्ष श्रेष्ठलाई दिनुपर्ने मतमा छन्। 

उपमहासचिव शर्माले त लिखित रूपमै प्रचण्डको राजीनामा मागिसकेका छन्। उनले राजीनामा दिन तयार नभए कार्यकारी श्रेष्ठलाई दिनुपर्ने मत जाहेर गरिरहेका छन् । यति मात्रै होइन, शर्मा अहिलेकै नेतृत्वको अपील जनताले नसुन्ने भएकाले नयाँ पुस्तालाई हस्तान्तरण गरेर अगाडि बढ्नुपर्ने मतमा छन् ।

शर्मा आफूले पटक–पटक युवा अगाडि सार्न भने पनि प्रचण्डले आनाकानी गरेका संगठन नै संकटमा परेको बताउँदै आएका छन् । 

प्रचण्डलाई हटाउने कसरत 

कोशी प्रदेशका पूर्वअर्थमन्त्री तथा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो जसरी पनि प्रचण्डलाई हटाएर नारायणकाजीलाई कार्यकारी अध्यक्ष बनाउन नेताहरू लागिरहेको बताउँछन्। उनी श्रेष्ठलाई अध्यक्ष दिए पार्टीमा नेतृत्व हस्तान्तरणको विषय टुंगिने र पुस्तान्तरणको विषय विस्तारै समाधान हुँदै जाने बताउँछन्। 

‘अध्यक्ष कमरेडले वरिष्ठ उपाध्यक्षलाई कार्यकारी हैसियत नदिए अहिले विद्रोह गर्ने स्थितिमा छौँ । जनार्दन लगायत नेताको कुरा यही हो । यसका लागि अन्य पदाधिकारी तयार हुनुहुन्छ’, आङ्बोले खबरहबलाई भने, ‘हामीले त जसरी पनि निर्वाचनअघि नै नारायणकाजीलाई कार्यकारी पद दिएर जाऊँ भनिरहेकै छौँ । दुई महिनामै महाधिवेशन गर्न सम्भव छैन। अहिले श्रेष्ठलाई कार्यकारी बनाएर निर्वाचनमा जाऊँ, त्यसपछि महाधिवेशन गरे फरक पर्दैन।’ 

प्रचण्डले कार्यकारी नेतृत्व श्रेष्ठलाई नदिए दोस्रो र तेस्रो तहका नेताहरूले विद्रोह गर्ने तयारीमा रहेका उनले बताए । 

यता वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि माओवादीलाई रूपान्तरणसहित जनतामाझ अगाडि बढाउन आफूलाई कार्यकारी जिम्मेवारी दिएर पार्टी अगाडि बढ्नुपर्ने बताउँछन् । उनी दुई महिनाभित्रै महाधिवेशन गर्न देश र पार्टीको स्थितिले पनि नदिने बताउँदे कार्यकारी जिम्मेवारी सार्नेबाहेक विकल्प नभएको दाबी गर्छन् । 

केही समय अगाडि खबरहबसँग कुरा गर्दै माओवादी महासचिव देव गुरुङले नेतृत्व हस्तान्तरणको विषय महाधिवेशनले नै निर्क्योल गर्ने बताएका थिए । 

उनले महाधिवेशनअगाडि अध्यक्षले कुनै हालतमा नेतृत्व छोडेर नजाने तर्क गरेका थिए। तर कार्यकारी जिम्मेवारीको कुरा आएको छ नि भन्ने प्रश्नमा गुरुङले भनेका थिए, ‘अहिले हल्लाको भरमा बोल्ने कुरा भएन । केन्द्रीय समितिका साथीहरूले कस्तो विषय र कस्तो कुरा उठान गर्नुहुन्छ, त्यसमा भर पर्छ । हाम्रो अध्यक्षले साथीहरूले उठाएका कुरालाई इन्कार गरेको मलाई थाहा छैन । उहाँले उठेको विषयलाई ग्रहण गरेर जानुहुन्छ । तर केन्द्रीय कमिटी बैठकअगाडि यो विषय कुनै पनि हालतमा अगाडि बढ्दैन।’ 

जुटे नारायणकाजी र जनार्दन 

वरिष्ठ उपाध्यक्ष नारायणकाजी र उपमहासचिव जनार्दन अहिले एकै ठाउँ उभिएका छन्। यी दुवैले केन्द्रीय कमिटी नेताहरूलाई प्रचण्डले मङ्सिरमा महाधिवेशन गर्ने ग्यारेन्टी गरेर त्यसपछाडि पद छोड्न तयार रहनुपर्ने माग राख्दै आएका छन् ।

यदि प्रचण्डले मङ्सिरमा महाधिवेशन गरेर अध्यक्षमा उम्मेदवारी नदिने घोषणा नगरे कुनै हालतमा अगाडि बढ्न नसक्ने तयारीमा छन्। 

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा पनि धेरै नेताहरूले मङ्सिरमा महाधिवेशन गरेर प्रचण्डले पद छोड्नुपर्ने नभए, वरिष्ठ उपाध्यक्षलाई कार्यकारी जिम्मेवारी दिएर चुनाव फेस गर्नुपर्ने मत राखेका थिए। 

‘निर्वाचनअगाडि जसरी पनि अध्यक्ष कमरेडले नेतृत्व छोड्नुपर्छ । नभए पार्टीमा विद्रोह भएर जान्छ’, माओवादीका एक पदाधिकारीले भने, ‘बाहिर हामी बोलेका छैनौँ, तर भित्रभित्रै तयारी गरिरहेका छौँ । वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष कमरेडले जसरी पनि जिम्मेवारी दिनुपर्छ ।’ 

प्रचण्ड किन तयार भएनन् ? 

प्रचण्डले पार्टी बैठकमा औपचारिक रूपमा मङ्सिरमा भएको विशेष महाधिवेशनमा आफू नउठ्ने र त्यसपछाडि नेतृत्व हस्तान्तरण गर्ने बोलेका छैनन् । कारण उनी पदमा बसिरहन चाहन्छन् ।

पार्टीमा नेतृत्व हस्तान्तरणको बहस चले पनि उनले त्यसलाई बेवास्ता गरिरहेका छन्। तर यो पटक उनी थकित र गलेका पनि देखिन्छन् । केही दिनअगाडि बसेको पदाधिकारी बैठक र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा उनी केही गम्भीर र थकित मुद्रामा देखिए । शुक्रबार पनि उनको अनुहार गलेको देखिन्छ ।  

तर उनले आफ्नो उत्तराधिकारी अगाडि नसारेका कारण अहिले नेतृत्व छोड्न तयार नभएको बुझिएको छ । प्रचण्डले छोरी रेणु दाहाललाई पनि महाधिवेशनपछि नेतृत्वमा ल्याउन चाहेको देखिन्छ । तर छोरी रेणुसहित बुहारी बीना तामाङ, ज्वाइँ जीवन आचार्य र छोरी गङ्गा दाहाल पनि पदाधिकारीमा नभएकाले प्रचण्डले आफ्ना परिवारभित्र नेतृत्व दिन सक्दैनन् । 

के भन्छन् युवा नेता ?  

युवा नेता रञ्जित तामाङले पार्टीमा अहिले नेतृत्वको भन्दा विचार र क्षमताको कुरा आएको बताउँछन् । उनी महाधिवेशनले कस्तो नेतृत्व दिने भन्ने हिसाब निकाल्ने बताउँदै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस उठे पनि उपयुक्त मोडिलाटी तयार नभइसकेको बताउँछन् ।

‘हामीले नेतृत्व परिवर्तन भनेका छौँ । तर कस्तो किसिमको नेतृत्व खोजेको हो, गम्भीर बहस हुनु जरुरी छ’, उनले भने, ‘पार्टीमा नेतृत्व भन्दा भिजन र क्षमताको विषय महत्त्वपूर्ण हुन्छ, कुन व्यक्तिले कस्तो भिजन र क्षमता प्रस्तुत गरेर अगाडि आउँछ, त्यो महत्त्वपूर्ण छ । उनी सुशीला कार्की युवा नभएर भिजन भएको कारण प्रधानमन्त्रीको रूपमा युवाले अगाडि सारेको बताउँछन् ।  

यता अखिल क्रान्तिकारीकी पूर्वअध्यक्ष पञ्चा सिंह आफूहरू नेतृत्व लिन तयार रहेको बताउँछिन् । उनी अध्यक्षले कार्यकारी जिम्मेवारी दिएर अहिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र महाधिवेशनपछि पुस्तान्तरणको विषय अगाडि आउने तर्क गर्छिन् । 

‘अहिले नेतृत्व हस्तान्तरण गरेर जाऊँ भनिरहेका छौँ । महाधिवेशनपछि नेतृत्व पुस्तान्तरण भएर जान्छ । त्यसमा हामी पनि सहभागी हुन्छौँ,’  सिंहले खबरहबसँग भनिन, ‘हामीले पटक–पटक भन्दै आएका हौँ । केन्द्रीय समिति बैठकमा पनि यो विषय उठाउँछौँ। पार्टीलाई वैचारिक रूपमा अगाडि बढाएर चलायमान बनाउन अब नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय उठ्नै पर्छ ।’

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : ४७ बजे

कोठामै जलेको अवस्थामा भेटिनुअघि आँचललाई आएको थियो मार्ने धम्की

काठमाडौं– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीकी कलाकार आँचल नाथ बिहीबार काठमाडौंस्थित

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

महेन्द्रनगर– धनुषामा शुक्रबार तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई

बेलायतले विवादास्पद विचारलाई पुनर्जीवित गर्दै डिजिटल आइडी कार्डहरू प्रस्तुत गर्ने

लन्डन– बेलायतले नागरिक र स्थायी बासिन्दाहरूका लागि अनिवार्य डिजिटल पहिचान

फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को– रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि