माओवादीमा प्रचण्डको विकल्प खोज्ने कुरा गैर-मार्क्सवादी हो : देव गुरुङ (अन्तर्वार्ता) | Khabarhub Khabarhub

माओवादीमा प्रचण्डको विकल्प खोज्ने कुरा गैर-मार्क्सवादी हो : देव गुरुङ (अन्तर्वार्ता)



काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्खरै सकिएको छ । आगामी मङ्सिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिको बैठकबाट सबै कमिटी भङ्ग गरिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयोजकको जिम्मा लिएर केन्द्री समिति भंग गरेका हुन् । पार्टीमा मङ्सिरको महाधिवेशनपछि प्रचण्डले आफू अध्यक्षमा उठ्दिनँ भन्ने औपचारिक प्रतिबद्धता व्यक्त गर्नुपर्ने कुरा नेताहरूले तीव्र रुपमा उठाउँदै आएका छन् । तर, त्यसो नभएर फेरि प्रचण्ड नै नेतृत्वमा दोहोरिने गरी मङ्सिरमा महाधिवेशन हुने तयारी भइरहेको देखिन्छ । महाधिवेशनमा प्रचण्डसँग प्रतिस्पर्धा गर्ने अन्य नेताहरू तयार हुन्छन् कि हुँदैनन् भन्ने महाधिवेशनमै निर्धारण हुनेछ । तर, अहिलेका लागि प्रचण्ड पुनः महाधिवेशनपछि माओवादीको नेतृत्वमै फर्किने दाउ गरिरहेका छन् ।

यसै सन्दर्भमा माओवादी केन्द्रका महासचिव देव गुरुङसँग खबरहबले कुराकानी गरेको छ । गुरुङ माओवादीमा प्रचण्डको विकल्प खोज्ने कुरा गैरमार्क्सवादी भएको बताउँछन् । उनी माओवादीमा प्रचण्डको विकल्प खोज्ने कुराको अर्थ नै नभएको दाबी गर्छन् । गुरुङ उमेर र अनुहारको कुरा देखावटी भएकाले यस्ता गैरराजनीतिक कुरा गर्न नहुने टिप्पणी गर्छन् । जेन–जीका भावना समेटेर पार्टी गतिशील भएर अगाडि बढ्ने तर नेतृत्व परिवर्तन उचित माग नभएको उनी बताउँछन् । अहिले प्रचण्डको विकल्प नभएको उनको तर्क छ । यसै सन्दर्भमा महासचिव गुरुङसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

यस पटक प्रचण्डले महाधिवेशनमा नउठ्ने घोषणा गर्नुहुन्छ भन्ने कार्यकर्तालाई आश थियो, त्यस्तो भएन नि ?

उहाँले त्यसो गर्नुपर्छ भनेर हलमा केही व्यक्तिबाहेक कसैले भनेको थिएन । एक दुईजना व्यक्तिको व्यक्तिगत इच्छा पूरा गरेर त भएन । उहाँले छाड्नुपर्छ भनेर कुन कार्यकर्ताले भनेका थिए ? मैले त सुनेको छैन ।

महाधिवेशनपछि माओवादीको नेतृत्व परिवर्तन हुन्छ ?

नेतृत्व कस्तो हुन्छ ? परिवर्तन हुन्छ कि हुँदैन ? भनेर हेर्ने हो कि पार्टी कुन दिशामा जान्छ, कुन दिशामा जाँदैन भनेर हेर्ने हो ? हामीले विचार र लाइन हेर्न खोजेको हो कि ? जनतालाई सुशासन दिने नेतृत्व हेर्न खोजेको हो ? नेतृत्व भनेको काम, विचार र लाइनले गर्ने हो, उमेरले गर्ने होइन, अनुहारले गर्ने होइन । त्यसकारण यसबारे हावादारी कुरा गरेर हुँदैन । महाधिवेशनपछि उहाँ नेतृत्वमा चुनिएर आउनुहुन्छ ।

तर, जेन–जी आन्दोलनपछि पार्टीमा नयाँ अनुहार खोजिएको छ नि ? यसलाई सम्बोधन नगर्ने ?

त्यो उनीहरूको कुरा भयो । कम्युनिस्ट आन्दोलनभित्रको कुरा परेन । यो त गैरकम्युनिस्ट आन्दोलनभित्रको कुरा भयो । गणतन्त्रको प्रतीक ढाल्ने र ध्वस्त पार्दै हिँड्ने व्यक्ति जेन–जी होइनन् । बीपीको शालिक ढाल्ने, राजाको नढाल्ने ? पुष्पलालको ढाल्ने ? गणतन्त्रवादी र कम्युनिस्ट नेताहरुकहाँ मात्रै उपद्रो गर्दै हिँड्ने कुरा त कम्युनिस्ट आन्दोलनविरोधी मामिला हो ।

उसोभए जेन–जीहरूका माग पूरा हुँदैनन् ?

जेन–जीले दलहरूसँग संवाद गरेर नयाँ सरकार बनाएको होइन । उनीहरूले पनि त पुराना अनुहार ल्याए नि ! व्यक्तिभन्दा पनि विधि र सिद्धान्तमा चल्ने कुरा हो । जेन–जीले उठाएका कुरामा त माओवादीले नै उठाएका कतिपय कुरा परेका छन् । जेन–जीले दलहरूसँग संवाद गरेको भए हामीले पनि केही जवाफ दिन्थ्यौँ होला । तर उहाँहरूले उठाएको सुशासन, भ्रष्टाचार अन्त्य, स्वच्छ डेलिभरी, योग्यताका आधारमा काम गर्ने विषयमा त हामी सहमत छौँ ।

तर, पुराना नेताहरूले अवकाश लिनुपर्छ भन्ने जेन–जीको माग पनि त सही नै होइन र ? पार्टीले कसरी हेरेको छ ?

सुरूमा त उहाँहरूले सामाजिक सञ्जाल बन्द हुँदा नै सक्रिय हुनुभएको हो नि । २६ वटा प्लेटफर्म बन्द भएपछि नै विरोध भएको हो । त्यसमा त हाम्रो नैतिक समर्थन थियो नि । यो त ठूला दल कांग्रेस एमालेले गरेका थिए । जेन–जी त ती दलको नेतृत्व नै खराब भए परिवर्तन गरौँ भन्नेमा थिए । माओवादी त पर्यवेक्षक मात्र थियो । जेन–जीका माग पूरा गरेको भए त यो अवस्था आउने थिएन । उहाँहरूले सरकारले आफूलाई नियन्त्रण गर्न खोजेको थाहा भएपछि नै यो कुराको विरुद्धमा जानु भएको हो । उहाँहरू नेतामाथि खनिएको हो । तर हाम्रा नेतामाथि होइन । सरकारमा रहेका व्यक्तिमाथि हो ।

उसोभए जेन–जी सडकमा आउनु तत्कालीन केपी ओली सरकार र कांग्रेस-एमाले मात्रे जिम्मेवार छन् ?

सुरूमा त उहाँहरू बढी जिम्मेवार हो । माओवादी होइन । तर, पछि विषय मोडियो । यसमा घुसपैठ भएकै हो । यो आन्दोलन अराजक हुन्छ भन्ने थिएन । संकटकाल नै लगाउनुपर्ने तहसम्म कोही जान सक्नु घुसपैठ नै हो । तर, यसमा ओली बढी जिम्मेवार हुनुहुन्छ । उहाँले पहिल्यै संवाद गरेको भएहुन्थ्यो । पछि, गणतन्त्रवादी नेता कार्यकर्ता र गणतन्त्रप्रति नै प्रहार भएपछि प्रतिगमनको दिशामा गयो कि अग्रगमनको, त्यो पछि हेर्ने कुरा भयो । यो विषयमा त यहाँहरू नै जानकार र ज्ञाता हुनुहुन्छ नि ।

उसोभए अब महाधिवेशनपछि पार्टी कस्तो रूपमा अगाडि बढ्छ ?

हामीले त पाँच-पाँच वर्षमा महाधिवेशन गर्न लागेको हो । तर अहिले परिस्थिति नै यस्तै भयो । किनकि निर्वाचन पनि फेस गर्नुपर्ने छ । निर्वाचनअगाडि महाधिवेशन गरेर ऊर्जा दिन खोजेको हो । जनताको मूल एजेन्डा लिएर पार्टी अगाडि जान्छ ।

मैले फेरि दोहोर्‍याएँ, महाधिवेशनपछि माओवादीमा नयाँ विचारधारा र नेतृत्व आउँछ ?

नयाँ र पुरानोको प्रशन भन्दापनि विचार कसरी पास गर्छ ? कुन लाइन पास गर्छ भन्ने मेजर कुरा भयो । हिजोको स्थिति र अहिलेको अवस्था फरक छ । जेन–जी आन्दोलनपछि मुलुकको स्थिति दयानीय छ । सुरक्षित छैन । मुलुकको सुरक्षा र स्वाधीनताको प्रश्न मेजर बनेर आइसकेपछि अब स्वधीनताको रक्षाका लागि अगाडि बढ्ने हो । अनुहारसँग सरोकार भएन, मुख्य कुरा विचार र लाइनसँग सरोकार छ । पार्टी भनेको देश र जनताको मुद्दा हो । व्यक्तिगत मामिला होइन ।

उसोभए माओवादीको नेतृत्व परिवर्तन हुँदैन । विचार र एजेन्डा मात्र परिवर्तन हुन्छ, होइन ?

बदलिँदो परिस्थितिमा राष्ट्रियता मेजर बनिसकेपछि राष्ट्रियताको मुद्दामा को अग्रसर हुन्छ ? स्वाधीनताको पक्षमा लड्न सक्ने को हुन्छ ? पिछलग्गु भएर जाने भन्दा पनि स्वाधीनताको लागि लड्ने व्यक्ति चाहिन्छ । अनुहारको कुरा गर्ने ? उमेरको कुरा गर्ने ? के अर्थ छ अनुहार र उमेरमा ? यो त देखावटी कुरा हो नि । देखावटी कुराले केही हुँदैन । नेतृत्व परिवर्तनको विषय गैरराजनीतिक कुरा हो । यो कुरा गरेर राजनीतिक अवस्थालाई भड्काउनु हुँदैन । नेतृत्व परिवर्तन गैरमार्क्सवादी कुरा हो । यसको कुनै अर्थ छैन ।

माओवादीको महाधिवेशनमा इच्छाएका र प्रक्रिया पुगेका व्यक्तिले नेतृत्वमा लड्न पाउँदैनन् होला नि ?

प्रतिस्पर्धा त गर्न पायो नि, सबैले गर्नुहोला ।

प्रचण्डलाई नै सर्वसम्मत नेतृत्व दिन पनि सकिने रहेछ ? यसो हुँदा त किन महाधिवेशन गर्नु र ?

यो महाधिवेशनको म्यान्डेटले भन्ने कुरा हो, मैले भन्ने विषय परेन । त्यहीँबाट निर्णय हुन्छ । व्यक्तिले निर्णय गर्ने विषय परेन ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ५ : २० बजे

ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भीर आपत्ति, असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक

भक्तपुर– नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि

एमालेले डाक्यो सचिवालय र केन्द्रीय कमिटी बैठक

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । जेन–जी

अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर सरकारले प्रतिशोध साँधेको एमालेको आरोप

काठमाडौं– नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको