इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी « Khabarhub

इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले मंगलबार सन् २०२३ अक्टोबर ७ को भीषण हमास आक्रमणको दोस्रो वार्षिकोत्सव मनाउँदैछ । यसैबीच, अमेरिकाको प्रस्तावित शान्ति योजनाअन्तर्गत इजरायल र हमासका प्रतिनिधिहरू गाजा युद्ध अन्त्यका लागि इजिप्टमा अप्रत्यक्ष वार्तामा संलग्न भएका छन् ।

दुई वर्षअघि यहुदी पर्व सुक्कोटको अन्त्यमा हमासका लडाकुहरूले इजरायलमाथि आकस्मिक आक्रमण गरेका थिए । उक्त आक्रमणले इजरायलको इतिहासमै सबैभन्दा घातक दिन बनायो । लडाकूहरूले गाजा–इजरायल सीमा पार गरी दक्षिणी इजरायलका बस्तीहरू र मरुभूमि सङ्गीत महोत्सवमा बन्दुक, रकेट र ग्रेनेडले आक्रमण गरेका थिए ।

आधिकारिक तथ्यांकअनुसार उक्त आक्रमणमा एक हजार २१९ जना इजरायलीको मृत्यु भयो, जसमा अधिकांश नागरिक थिए । साथै, २५१ जना बन्धकलाई गाजामा लगिएको थियो, जसमा अझै ४७ जना कैदी छन् । तीमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

मंगलबार इजरायलभर स्मरण समारोहहरू आयोजना भएका छन् । नोभा सङ्गीत महोत्सवको स्थलमा मारिएका व्यक्तिहरूका आफन्त र मित्रहरूले मैनबत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरे र मौन धारण गरे । त्यहाँ ३७० भन्दा बढी मानिस मारिएका थिए ।

शिक्षक एलाड गान्जले एएफपीसँग भावुक हुँदै भने, ‘यो अत्यन्त पीडादायी घटना हो, तर हामी जीवन अगाडि बढाउन चाहन्छौँ । जो यहाँ थिए र अब छैनन्, तिनीहरूको सम्झनासँगै बाँच्ने प्रयास गरिरहेका छौँ ।’

तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा पनि कार्यक्रम आयोजना हुँदैछ । त्यहाँ साप्ताहिक रूपमा बन्धकहरूको रिहाइको माग भइरहन्छ । यस्तै, राज्यद्वारा आयोजित मुख्य स्मरणोत्सव अक्टोबर १६ मा तय गरिएको छ ।

युद्ध जारी रहँदा गाजामा इजरायली हवाई, स्थल र समुद्री आक्रमणले ठूलो विनाश मच्चाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले कम्तीमा ६७ हजार १६० जनाको मृत्यु भएको दाबी गरेको छ । यो आँकडालाई संयुक्त राष्ट्रसङ्घले पनि विश्वसनीय मानेको छ । मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको बताइएको छ ।

घर, अस्पताल र विद्यालय ध्वस्त भएका छन् । लाखौँ गाजाबासी भीडभाडयुक्त शिविर र खुला स्थानमा अत्यन्त कम खाना, पानी र सरसफाइका बीच बाँच्न विवश छन् । 

जबालियाकी विस्थापित हनान मोहम्मद ९३६० ले भने, ‘हामीले यो युद्धमा सबै गुमायौँ,  घर, परिवार र भविष्य । अब शान्ति र युद्धविरामबाहेक अरू केही चाहिँदैन ।’

इजरायलको राष्ट्रिय सुरक्षा अध्ययन संस्थानको सर्वेक्षणअनुसार ७२ प्रतिशत इजरायली नागरिक युद्ध व्यवस्थापनप्रति असन्तुष्ट छन् ।

– शान्तिको खोजी र कठिन वार्ता 

युद्धका क्रममा इजरायलले आफ्नो सैन्य दायरालाई क्षेत्रीय रूपमा विस्तार गर्दै इरानसहित पाँच राजधानीहरूमा हवाई आक्रमण गरेको छ । हमासका धेरै वरिष्ठ नेता र हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गरिएको दाबी पनि इजरायलले गरेको छ ।

दुई वर्ष लामो द्वन्द्वपछि दुवै पक्षमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ । संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले इजरायलमाथि नरसंहारको आरोप लगाएको छ भने अधिकार समूहहरूले अक्टोबर ७ को आक्रमणमा हमासमाथि युद्ध अपराधको आरोप लगाएका छन् । दुवैले यी आरोप अस्वीकार गरेका छन् ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए। उक्त योजनाअनुसार हमासले सबै बन्धकहरूलाई रिहा गर्ने, समूह निःशस्त्र हुने र इजरायली सेना क्रमिक रूपमा गाजाबाट फर्कने सर्तमा युद्धविराम लागू गरिने प्रस्ताव गरिएको छ ।

सोमबारदेखि इजिप्टको शार्म अल–शेखमा सुरु भएको अप्रत्यक्ष वार्तामा अमेरिकी, इजिप्टेली र कतारी मध्यस्थहरू संलग्न छन् । इजिप्टको अल–काहेरा न्युजका अनुसार वार्ता बन्धक–कैदी आदानप्रदान र युद्धविरामको ‘धरातलीय तयारी’ मा केन्द्रित छ ।

हमास–नजिकका स्रोतका अनुसार अक्टोबर ७ को वार्षिकोत्सवको पूर्वसन्ध्यामा सुरु भएको वार्ता केही दिनसम्म चल्नेछ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताकारहरूलाई ‘छिटो प्रगति गर्न’ आह्वान गर्दै भने, ‘हामी सम्झौताका नजिक छौँ, धेरै सद्भाव देखिएको छ ।’

तर विश्लेषकहरूले दुवै पक्षले योजना स्वागत गरे पनि यसको कार्यान्वयनमा सहमति प्राप्त गर्नु अत्यन्त कठिन हुने चेतावनी दिएका छन् ।

इजरायल र हमासबीच अघिल्ला दुई युद्धविरामले केही बन्धकहरूको रिहाइ सम्भव बनाएको थियो ।  

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १ : ०१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने