काठमाडौं– इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार इजरायल भ्रमणमा निस्किने भएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको निमन्त्रणामा ट्रम्पले इजरायली संसद् (कनेस्सेट) मा सम्बोधन गर्ने छन् ।
बिहीबार बिहान नेतन्याहू र ट्रम्पबीच टेलिफोन संवाद भएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार दुवै नेताले सबै बन्धक मुक्त गर्ने सम्झौतामा हस्ताक्षर भएको ऐतिहासिक उपलब्धिका लागि एकअर्कालाई बधाई दिएका छन् ।
प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई उहाँको प्रयास र विश्वव्यापी नेतृत्वका लागि धन्यवाद व्यक्त गर्नुभयो । राष्ट्रपति ट्रम्पले नेतन्याहूको दृढ नेतृत्व र कार्यको प्रशंसा गर्नुभयो। दुवै नेताले निकट सहकार्यलाई निरन्तरता दिने सहमति जनाए ।’
यो संवाद त्यहीबेला भएको थियो जब राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसलमार्फत् इजरायल र हमासले युद्धविराम योजनाको पहिलो चरणमा हस्ताक्षर गरिसकेका छन् ।
ट्रम्पले लेखे, ‘म गर्वका साथ घोषणा गर्छु, इजरायल र हमास दुवैले हाम्रो शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेका छन् । यसले सबै बन्धकहरू छिट्टै मुक्त हुनेछन् । इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुनेछन् । यो सबै पक्षका लागि निष्पक्ष सम्झौता हो । यो अरब र मुस्लिम विश्व, इजरायल, वरिपरिका देशहरू र संयुक्त राज्य अमेरिकाका लागि महान दिन हो। हामी यस ऐतिहासिक घटनालाई सफल बनाउन सहयोग गर्ने कतार, इजिप्ट र टर्कीका मध्यस्थहरूलाई धन्यवाद दिन्छौं। धन्य हुन् शान्तिका दूतहरू।’
नेतन्याहूले ट्रम्पको घोषणापछि प्रतिक्रिया दिँदै भने, ‘दृढ सङ्कल्प, बलियो सैन्य कार्य र राष्ट्रपति ट्रम्पको असाधारण प्रयासका कारण हामी यस निर्णायक मोडमा पुगेका छौँ । म राष्ट्रपति ट्रम्पलाई उहाँको नेतृत्व, साझेदारी र इजरायलको सुरक्षाप्रतिको अविचल प्रतिबद्धताका लागि धन्यवाद दिन्छु। भगवान इजरायल, अमेरिका र हाम्रो महान साझेदारीलाई आशीर्वाद दिनुहोस् ।’
इजरायली विपक्षी नेता याएर लापिदले पनि सम्झौताप्रति स्वागत जनाउँदै लेखे, ‘हामी आफ्ना छोराछोरीका लागि सास रोकेर बसेका छौँ । धन्यवाद, राष्ट्रपति ट्रम्प । हाम्रा छोराहरू आफ्ना सीमामा फर्किनेछन् ।’
हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प र संलग्न अरब तथा मुस्लिम देशहरूप्रति आभार व्यक्त गरेको छ । समूहले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलले सम्झौताका सर्तहरू पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ ।
एसोसिएटेड प्रेसका अनुसार जीवित २० जना बन्धकहरू आइतबारसम्म मुक्त गरिने अपेक्षा गरिएको छ । इजरायली अधिकारीहरूले यो शनिबार नै सुरु हुन सक्ने बताएका छन् । सबै बन्धकहरूलाई एउटै चरणमा फिर्ता गरिनेछ ।
हमासले २८ मध्ये ९ जना मृतक बन्धकहरूको अवस्थाबारे जानकारी नभएको बताएको छ । बाँकीका अवशेषहरू फिर्ता गर्ने वचन दिएको छ । समूहले बन्धकहरू मुक्त गर्दा सार्वजनिक समारोह नगर्ने सहमति पनि जनाएको छ ।
प्रतिक्रिया