काठमाडौं– राजनीतिक दलहरूप्रतिको चरम निराशाले जन्मिएका पात्र हुन्– बालेन शाह । स्वतन्त्र भएकै कारण उनी लोकप्रिय रहे । २०७९ को स्थानीय तहको निर्वाचनमा उनी राजनीतिक दलहरूलाई पाखा लगाएर काठमाडौंको मेयर बन्न सफल भए ।
कांग्रेसबाट गणेशमान सिंहकी बुहारी सिर्जना सिंह र नेकपा एमालेबाट केशव स्थापित जस्ता उम्मेदवारलाई चुनावमा हराउनु चानचुने थिएन । तर एकै व्यक्ति आजीवन पदमा रहिरहने अभ्यासले राजनीतिक दलहरुप्रति नागरिकमा वितृष्णा बढेको थियो । त्यही आक्रोशलाई बालेनले अवसरको रुपमा प्रयोग गरे ।
२०६२-६३ जनआन्दोलनपछि जनताले देशमा सुशासन रहने आशा राखेका थिए । तर भ्रष्टाचार र राजनीतिक अस्थिरताले नै निरन्तरता पायो । एक वर्ष सरकार टिक्न मुस्किल बन्यो । गठबन्धन गरेर पालैपालो यिनै नेताहरू दोहोरिए । यसको विकल्प खोजिरहेको बेलामा बालेन उदाए ।
महानगरवासीले राजनीतिक दल असफल भएको भन्दै स्वतन्त्र बालेनलाई समर्थन गरे । बालेन कुनै राजनीतिक पृष्ठभूमिका व्यक्ति थिएनन् । उनी इन्जिनियर तथा र्यापर थिए । युवापुस्तामाझ एक र्यापर ब्याटलका रुपमा उनले परिचय स्थापित गरेका थिए ।

बालेनले चुनावी अभियान सामाजिक सञ्जालमार्फत चलाए । प्रविधिको उच्चतम् प्रयोग गरी देश तथा विदेशबाट समर्थन जुटाए । छोटो समयमै उनले सञ्जालमा सर्वाधिक फ्लोअर कमाउन सफल भए । दशकौँ राजनीति गर्दै आएका पार्टीका शीर्ष नेतादेखि दोस्रो पुस्ताका लोकप्रिय नेताहरूलाई समेत पछि पार्दै बालेन सञ्जालमा फ्लोअर बढाउन सफल भए ।
राज्यको अभिभावकत्व लिन एक स्वतन्त्र व्यक्तिले पनि सक्नेरहेछ । अथवा दलभित्रको खिचातानीमा नबसी पनि राजनीति गर्न सकिने सन्देश दिन उनी सफल भए । काठमाडौंको प्रमुख समस्या फोहोरमैला व्यवस्थापन र फुटपाथ थियो । उनी मेयर भएसँगै सबैभन्दा पहिले यिनै कुराहरूको व्यवस्थापनमा जुटे ।
काम गर्दै जाँदा केही आलोचना भएपनि बालेनलाई वैकल्पिक नेताको रुपमा धेरैले मान्न थालेका थिए । एक स्थानीय तहको प्रमुख भईकन पनि उनले शीर्ष दलका नेताहरूको उछितो काढ्थे । सरकारविरुद्ध आगो ओकल्थे । कहिले सिंहदरबार जलाइदिने त कहिले टुकुचा खोलामा गाड्ने धम्की दिन्थे ।
बालेनले लेखेको एक स्टाटस बिजुलीको करेन्ट सरह प्रवाह हुन्थ्यो । जसले सरकारको ढोका ढकढक्याउने साहस राख्थ्यो । एकै मिनेटमा हजारौं लाइक, कमेन्ट र सेयर हुन्थ्यो । र त्यसमा करिब ९९ प्रतिशतले उनलाई समर्थन जनाएका हुन्थे ।सरकार विरुद्ध लेख्न र बोल्न सक्ने उनको हिम्मतलाई धेरैले मन पराएका थिए ।

राजनीतिक दलहरूको भविष्य सकिएको र अब बालेन चरित्रले नै देशभर एकछत्र राज गर्ने विश्वास युवापुस्ताले लिएको थियो । कतिपयले उनलाई देशलाई संकटमोचकका रुपमा व्याख्या गरेका थिए । सामाजिक सञ्जालमा उनको विरुद्ध कसैले आलोचना गर्दैनथे । जे गर्छन् बालेनले गर्छन् भन्ने थियो ।
आलोचक लगभग शून्यमा जस्तै थियो । समर्थकको सङ्ख्या यति जुटेको थियो कि बालेनको विरुद्धमा लेखेर बोल्नेलाई सञ्जालमै सक्काइन्थ्यो । दोस्रोपटक उनको विरुद्धमा बोल्न नसक्ने बनाइन्थ्यो । तर समय सँधै एकै रहेन । भदौ २३ जेन–जीले गरेको विरोध प्रदर्शनलाई नैतिक रुपमा समर्थन गरेका बालेन एकाएक आलोचित हुन पुगे ।
भ्रष्टाचार र राजनीतिक नियुक्ति विरुद्धको आन्दोलनमा आफू जेन–जी नरहेको कारण भौतिक उपस्थिति जनाउन नसके पनि नैतिक रुपमा समर्थन रहेको उनले स्टाटस लेखेका थिए । जेन–जीहरुले पनि आफूहरूको आन्दोलन शान्तिपूर्ण गर्ने तयारीका साथ आएका थिए । तर घुसपैठ भएपछि आन्दोलनको स्वरुप नै परिवर्तन भयो ।
जसको अनुमान जेन–जीले गरेकै थिएन । आन्दोलनको पहिलो दिन २१ जना युवा सडकमा गोली लागेर ढले । त्यसपछि दोस्रो दिन अर्थात् भदौ २४ गते संसद् भवन, सिंहदरबार, अदालत ध्वस्त बनाइयो । जेन–जी आन्दोलन हाइज्याक भएको भान भएपछि उनीहरूले बालेनलाई नेतृत्व सम्हाल्न आग्रह गरे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले राजिनामा दिएलगत्तै सरकार ढल्यो । तर बालेनले सामाजिक सञ्जालमा स्टाटस लेख्नेबाहेक दायाँबायाँ गरेनन् । त्यसयता उनको लोकप्रियता घट्दो क्रममा छ । सामाजिक सञ्जालले बनाएको नायकलाई अहिले सञ्जालले नै ‘किरो’ बनाउने स्थितिमा छ ।
उनीमाथि आशा गरेका युवाहरू आक्रोशित छन् । हिजो उनको पोस्टमा एक मिनेटमा पाँच हजार लाइक आउने स्थिति हजारमा झरेको छ । प्रशंसा गालीमा परिणत भएको छ ।
हिजो ‘आइ एम विथ बालेन’ लेख्ने आयुषा कँडेल आज लेख्छिन् – आफूविरुद्ध जाहेरी परेपछि बोलेर हुन्छ ? रगत व्यवस्थापनमा रेडक्रससँग सहकार्य गरेर हामी मानव अधिकार संगठनले नि गरेका छौं ।
अर्को सुसन घिमिरे लेख्छन् – यो गजेडी प्रमुख कारक हो विध्वंसको । हिजोको ताली आज गालीमा परिणत भएको देख्दा बालेनको ओरालो यात्रा सुरु भएको देखिन्छ ।

प्रतिक्रिया