काठमाडौं– अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताबिना निर्वाचन हुन नसक्ने बताएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार शीतल निवासमा बसेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा दलहरूको सहभागिताको ग्यारेन्टी खोजेकी हुन् ।
दलहरू सहभागी नभइ निर्वाचन सम्भव नरहेको कुरामा सरकार प्रष्ट जानकार रहेको भन्दै कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित मतदान गराउने विश्वास दिलाइन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आश्वस्त पार्दै सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाइन् ।
‘जेनजीहरू हामी सबैका छोरानाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझ्न जरुरी छ’ उनले भनिन्, ‘त्यसकारण परिवर्तनलाई आत्मसात गर्दै दलहरूले पनि अगाडि बढ्न आवश्यक छ ।’
बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैजना मन्त्रीहरू सहभागी थिए ।
बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहाक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मीना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल पनि सहभागी थिए ।
त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत सहभागी थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनील प्रजापति बैठकमा थिए ।
प्रतिक्रिया