भ्रष्टाचार र राजनीतिक नियुक्ति विरुद्ध सुरु भएको जेन–जी आन्दोलन भाताभुङको स्थितिमा पुगेको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा ठुलो जनधनको क्षति भयो । सत्ता ढल्यो र अर्को अन्तरिम सरकार बन्यो । अबको पाँच महिनाभित्र चुनाव गराउनुपर्ने सरकार यतिबेला वास्तविक जेन–जी को हुन् ? पत्ता लगाउन नसकेर अलपत्रको अवस्थामा छ ।
राष्ट्रपति कार्यालयले केही जेन–जीको सूचि बनाएको छ । तर अहिले विभिन्न जेन–जी समूह निस्किएका छन् र सबैले आफूहरू वास्तविक भएको दाबी गरेका छन् । अर्को, हरेक समूहका जेन–जीको विचार फरक–फरक रहेको पाइएको छ । र सबैले आ–आफ्ना माग राखेका छन् ।
कसैले राजनीतिक दलकै स्वामित्व स्वीकार गर्नुपर्ने तर्क राखेका छन् । त्यसैगरी अर्को समूहले संविधान संशोधन र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । जेन–जीहरुबीचको फरक मतको कारण फेरि पुरानै दलहरु फर्किएर आउने सम्भावना बढेको छ ।
के थियो जेन–जीको लक्ष्य ?
जेन–जी आन्दोलन सरकार विरुद्ध थिएन । राज्यको संरचना ध्वस्त बनाएर देशलाई खरानी बनाउनु पनि थिएन । सत्ता ढालेर नयाँ सरकार बनाउने उद्देश्य पनि थिएन । प्रधानमन्त्री तथा मन्त्री बन्छु भनेर जेन–जी सडकमा आएको थिएन ।
देशमा भएको चरम भ्रष्टाचारमा नेताको सन्तानहरूको स्वामित्वको विरुद्धमा थियो । नेताको सन्तानको आलिशान जीवनशैली कसरी ? भन्ने मुख्य प्रश्न जेन–जीको थियो । सामाजिक सञ्जालमा मोजमस्ती गरेको फोटो तथा भिडियो राखेर उनीहरूको जेन–जीले ‘वाइकट’ अभियान चलाएका थिए । सन्तान तथा दरसन्ताको अत्यधिक सुखभोगको निम्ति राज्यको अभिभारा सम्हालेका नेताहरू भ्रष्टाचारमा लिप्त भएको दाबी उनीहरूको थियो ।
आफूहरूकै उमेर समूहका नेताका सन्तानले अभिभावकलाई भ्रष्टाचार गर्नबाट रोक्नुपर्ने भन्ने उनीहरूको भनाइ थियो । विद्यालय तथा कलेजमा सुशासन पढिसकेका उनीहरूले अभिभावकलाई भ्रष्ट हुनबाट रोक्नुपर्ने थियो भन्ने मनसाय उनीहरूको थियो । भ्रष्टाचार निर्मूल गर्ने ‘नेपो बेबी किट’ विरुद्धको भिडियो सबैभन्दा पहिले पुरुषोत्तम यादवले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
उनले पोस्ट गरेको २४ घण्टामा पाँच लाखले भिडियोले हेरेका थिए । ‘नेपो बेबी किट’ विरुद्धको अभियान करेन्ट सरह प्रवाह भयो । जसमा हरेक युवाहरूले समर्थन जनाएका थिए । त्यसैलाई अझ सशक्त बनाउन जेन–जीले सडक आन्दोलनको आह्वान गरेको थियो । शान्तिपूर्ण आन्दोलन गर्ने भनेर उनीहरूले सीडीओ कार्यालयबाट अनुमतिसमेत लिएका थिए ।
आन्दोलनको कुनै नेतृत्वकर्ता थिएन । स्वस्फूर्त रुपमा सडकमा उपस्थिति जनाउने भन्ने थियो । त्यसैअनुरुप युवाहरु सडकमा आएका थिए । आन्दोलनकारी भनिएका जेन–जीसँग कुनै नारा वा ब्यानर थिएन । कोहीकसैको नेता थिएन ।
माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध कार्यक्रम गर्न अनुमति पाएका उनीहरूले बाटो तथा फुटपाथको फूल र बोटबिरुवासमेत नभाँची हिँडिरहेका थिए ।
पत्रकार तथा अन्य समर्थकलाई समेत उनीहरूले महानगरले जरिवाना तोकेको खण्डमा जेन–जीले पैसा तिर्न नसक्ने हुँदा बोटबिरुवा नभाँच्न अनुरोध गरिरहेका थिए । आन्दोलन प्रशंसा गर्न लायक अनुुसाशित र सौम्य थियो । तर स्वार्थ समूहको प्रवेशले आन्दोलनको मर्ममाथि नै प्रहार भयो ।
आन्दोलनमा ७६ जनाले ज्यान गुमाए । हजारौको संख्यामा घाइते भए । प्रधानमन्त्री तथा मन्त्री र नेताहरुले ज्यान जोगाउन भाग्न पर्ने स्थिति आयो । आन्दोलनलाई हल्का लिएर नभागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. आरजु देउवा दम्पत्तिले कुटाए खाए ।
संसद् भवन जल्यो । सिंहदरबार, अदालत, प्रहरी कार्यालय, नेताहरुका घरदेखि राजनीतिक दल निकटका केही व्यापारीका व्यापारिक केन्द्रहरु ध्वस्त भए । नैतिकताको आधारमा तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा दिए । त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशमा शान्ति सुव्यवस्था कायम राख्न तत्कालको लागि राजीनामा दिन आदेश दिएपछि मात्रै उनी सरकारबाट बाहिरिए ।
एकाएक देशको सार्वभौम सम्हाल्ने जिम्मा जेन–जीको काँधमा आइलाग्यो । यो अवस्थाको तयारीमा उनीहरू सडकमा आएका थिएनन् । कल्पनासमेत नगरेको जिम्मेवारी जेन–जीलाई भार पर्यो । तर उनीहरू जिम्मेवारीबाट भागेका छैनन् । आइपरेको स्थिति सम्हाल्ने कोसिसमा देखिन्छन् ।
त्यसैअनुरुप संबिधान बुझेको पूर्व प्रधानन्यायाधीस सुशिला कार्कीलाई प्रधानमन्त्री बनाए । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाए । यसको उद्देश्य जेन–जी मोमेन्टलाई उनीहरूले सही मार्गनिर्देश गर्न सक्ने अपेक्षा गरिएको थियो ।
अन्य मन्त्रालयमा पनि पूर्व कर्मचारीलाई प्राथमिकता दिइएको छ । तर एक महिना बित्नै लाग्दा अन्तरिम सरकारको मन्त्रिमण्डल पुरा हुन सकेको छैन । यसको मुख्य कारण भनेको जेन–जीको विभाजन हो ।
त्रिवि समाजशास्त्र विभागकी उपप्राध्यापक ऋद्धि आचार्यले जेन–जी आन्दोलन ‘सागको पातभित्र मासु’ छोपेर खाए जस्तो भएको बताउँछिन् ।
खबरहबसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘जेन मेलेनियम (जेन–जी भन्दा माथिल्लो पुस्ता) ले यस आन्दोलनको फाइदा लिन खोजेका छन् । स्वार्थ समूहले जस लिने कोसिस गरेको देखिन्छ ।’
‘परिवर्तनको लागि सडक आन्दोलनमा जाने जेन–जी छायाँमा परेका छन् । आन्दोलनमा सहिद भएका र घाइते परिवारको वेवास्ता भएको छ । उनीहरूको न्यायको लागि भन्दा सत्ता हत्याउनेमा सबै जना केन्द्रित छन्, उनी थप्छिन्, ‘नागरिकले देशमा सरकार नभएको फिल गरिरहेका छन् । युवाहरूमा अपरिपक्वताको अभावमा यो आन्दोलन असफलको बाटोमा छ ।’
त्यसैगरी फरक शक्तिबाट सञ्चालित युवाहरूले जेन–जी आन्दोलन तुहाउने काम गरेको आचार्यको दाबी छ । ‘युवाबाट म प्रधानमन्त्री बन्छु भन्ने कोही निस्किएन । आखिर नेतृत्व गर्न त अनुभवी नै चाहिने रहेछ । कानुन निर्माता फेल भए । उनीहरू हेरेको हेर्यै भए ।
राज्यका हरेक अंग निरीह भएका छन् । निष्कलंक युवाले देशको नेतृत्व लिन आवश्यक छ । कसैको गुलामी नभएको व्यक्ति हुनुपर्छ । अन्य शक्तिबाट सञ्चालितहरूको आयु हुन्न, उनले भनिन् ।
‘बालेन साह र सुधन गुरुङ विरुद्ध उजुरी परेको छ । अर्को केपी ओली र रमेश लेखकमाथि उजुरी परेको छ । फेरि युवा संघ, नेविसंघ लगायत पार्टीको भातृसंगठनहरुले बोल्न यस आन्दोलनको नाइके भएको आरोप लगाएका छन्’ आचार्य थप भन्छिन्, ‘आगो लगाउँदा हेरेर बस्यो, मेयरको जिम्मेवारी पूरा नगरेको भन्ने छ ।
पुरानै दलहरु पुनः आउन सक्ने कुरामा समाजशास्त्री आचार्यलाई विश्वास छैन । उनी भन्छिन्, ‘यत्तिकै आउन मुस्किल छ । सुधारिएको पुरानो दल भने आउन सक्छ । पुरानो दललाई अभिभावक बनाएर नेतृत्व युवाले लिए भने राम्रो पनि हुन्छ ।’
प्रतिक्रिया