काठमाडौं– यही असोज २५ गतेदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘१८औँ गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी २०८२’ मा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ ।
असोज २५ देखि कार्तिक २ गतेसम्म चल्ने यो एक्पोमा राजधानीका विभिन्न स्थानबाट आएका सर्वसाधारण फूल र बिरुवाको आकर्षणमा रमाइरहेका छन् ।
गोदावरीबाट ल्याइएका विभिन्न प्रजातिका फूल र सजावटी बिरुवाले प्रदर्शनीको रौनक बढाएको छ । यहाँ भेटिने फुलका थरीथरी रंग र आकारहरूले बालबालिकादेखि वृद्धसम्म सबैलाई मोहित पारेका छन् । तिहार नजिकिँदै गर्दा धेरै ग्राहकहरू फूल र बिरुवा किन्न व्यस्त देखिन्छन् । कतिपयले सवारीसाधनमा थुप्रै फूलका गमला र बोटहरू बोकेर घर फर्किरहेका छन् ।
फ्लोरा एक्स्पोको प्रवेशद्वार रंगीन फूलहरूले सजाइएको छ, जसले आगन्तुकहरूको स्वागत गरिरहेको छ । आयोजकहरूले गोदावरी फूल उत्पादन र संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेका हुन् ।
तिहारलाई ‘फूल र बत्तीको पर्व’का रूपमा मनाइने भएकाले यस प्रदर्शनीमा फूलको माग असाध्यै बढेको सहभागीहरूको भनाइ छ । धेरै मानिसहरू आफ्ना घर र आँगन सजाउनका लागि गोदावरी, मखमली, गुलेस, र विभिन्न प्रजातिका बिरुवा किन्दै गरेको देखिन्छ ।
फूलको रौनकसँगै मानिसहरूको अनुहारमा खुसी झल्किरहेको छ । केही फोटा खिच्दै छन्, केही फूलको सुगन्धमा रमाइरहेका छन् । यो प्रदर्शनीले काठमाडौं उपत्यकामा तिहारको सुरुवाती माहौल झनै जीवित बनाइदिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी































प्रतिक्रिया