काठमाडौं– नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।
बुधबारदेखि तीन दिनसम्म ललितपुरमा चलेको केन्द्रीय कमिटीको दशौँ बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार नै मंसिर २७ देखि २९ सम्म ११ औँ पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सर्वसम्मतले सुझावसहित पास गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकले संसद् पुनर्स्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै यसका लागि लोकतन्त्र र संविधान पक्षहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने निर्णय बैठकले गरेको गौतमले जानकारी दिए। जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही गर्न बैठकले माग गरेको छ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन हलबाट पारित गर्ने क्रममा विवाद भएपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे ।
त्यस्तै ५० जना केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न आग्रह गरेपछि अध्यक्ष ओलीले कुरा गर्ने बताएका छन् ।
‘विद्या भण्डारीले मलाई फोन गर्नुभएको थियो, म व्यस्त भएर फोन उठाउन पाइनँ । बैठक सकिएपछि उहाँसँग कुरा गर्नेछु,’ ओलीले भने ।
उनले भण्डारीले निवेदन दिए पार्टी सदस्यताबारे निर्णय गर्न सकिने सङ्केत गरे । ‘मैले पहिला पनि भनेकै हो, सदस्यताका लागि निवेदन दिन, उहाँले दिनुभएको छैन । दिनुभयो भने निर्णय गर्न सकिन्छ,’ उनले भने ।
प्रतिक्रिया