काठमाडाैं- नेपालमा तीव्र गतिमा इन्टरनेट सेवाको पहुँच विस्तार भइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन २०२८१-८२ अनुसार आर्थिक वर्ष २०८१–८२ मा भ्वाइस टेलिफोन सेवाको घनत्व १०१.९३ प्रतिशत रहेको छ भने ब्रोडब्याण्ड सेवाको घनत्व १३९.५३ प्रतिशत छ । यसमध्ये फिक्स्ड ब्रोडब्याण्ड सेवाको घनत्व ४८.६७ प्रतिशत छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालबाटै गर्जो धान्ने देखि करोडौँ आर्जन गर्नेको कथासँग पनि हामी अभ्यस्त नै छौँ ।
आम्दानीको स्रोतलाई परम्परागत ढाँचाबाट अनलाइन माध्यमतर्फ बामे सर्दै गरेका डिजिटल युगका नागरिकको चाहना र आवश्यकतालाई बेवास्ता गर्दै सरकारले गत भदौ ९ गते फेसबुक, इस्न्टाग्राम, एक्स (ट्वीटर) र ह्वाट्सएप सहितका २५ वटा सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण गर्न निर्देशन दियो । सरकारले अन्यथा ती सामाजिक सञ्जाललाई बन्द गर्ने चेतावनी समेत दिएको थियो ।
विदेशी सञ्जाललाई करको दायरामा ल्याउने हठका साथ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको उक्त निर्णयको देशभरबाट विरोध भयो । अस्थिर सरकार र नेपाली जनताले भोग्नुपरेको राज्य दोहनको नियतीका कारण आक्रोश जन्मियो । लामो समयदेखि राजनीतिक नेतृत्वसँग दिक्क भएका नागरिकको आक्रोशमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आगोको झिल्को बन्यो । जनसमुदायबाट चरम विरोध हुँदा पनि सरकार आफ्नो निर्णयबाट पछि नहटेपछि १३ देखि २८ वर्ष उमेर समूह अर्थात् जेनेरेसन-जी (जेन–जी) को आन्दोलन ।
सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध खोल्नेदेखि सुशासन, पारदर्शी तथा जवाफदेही सरकार, भ्रष्टाचार अन्त्य लगायतको माग गर्दै भदौ २३ गते जेनजी उमेर समूहका युवाहरु सडकमा उत्रिए । देशमा वर्षौदेखिको जरा गाडेको विकृतिविरुद्ध उनीहरुले उठाएको मागमा समाजका सबै तप्काको साथ रह्यो ।
आन्दोलनको समर्थन गर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही, विवेकशील साझा पार्टीकी नेता रञ्जु दर्शना, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ लगायत पनि सामाजिक सञ्जाल बन्दको विरोध गर्दै उनीहरुको पक्षमा उभिए । त्यस्तै, हरिवंश आचार्य, दीपकराज गिरी, स्वस्तिमा खड्का, प्रियंका कार्की, निश्चल बस्नेत, प्रकाश सपुत, करिश्मा केसी, सलोन बस्नेत, इभा गिरी, इस्टु कार्की लगायतका सेलिब्रेटीले पनि जेन–जीको प्रदर्शनमा समर्थन जनाए ।
तीमध्ये विशेषगरी डिजिटल प्ल्याटर्फमबाट चर्चा कमाएका करिश्मा केसी, इभा गिरी, इस्टु कार्की लगायत अन्य धेरै सेलिब्रेटीहरु भदौ २३ गतेको आन्दोलनमा सामेल हुन पुगेका थिए । तर, त्यो आन्दोलन उनीहरुले सोचेजस्तो आन्दोलन शान्तिपूर्ण हुन सकेन ।
आन्दोलनमा अश्रुग्यास र पानीको फोहोरासँगै प्रहरीले गोली पनि चलायो । २३ गतेको प्रदर्शनमा २१ जना युवाले ज्यान गुमाए । जसकारण प्रदर्शको दोश्रो दिन अर्थात् भदौ २४ गतेको आन्दोलन थप अराजक बन्यो । २४ गते संसद भवन, सिंहदरबार लगायत सरकारी भवन, निजी तथा व्यवसायिक प्रतिष्ठानमा आगजनी र तोडफाड भयो ।
आगजनी र तोडफाड क्रममा देशका गहनाका रुपमा परिचित तीनै सेलिब्रेटीमध्ये दीपकराज गिरी, अमनप्रताप अधिकारी, स्वस्तिमा खड्का, निश्चल बस्नेत भने विवादमा तानिएका छन् ।
नायिका खड्काले शंकाको घेरामा रहेका सुदन गुरुङकाे ‘हामी नेपाल’ नामक संस्थामा संलग्न रहेको चर्चा पनि भइरहेका छन् ।

यद्यपी उनले देशमा विपद परेका बेला सफा मनले सक्दो सहयोग मात्रै गरेको स्पष्टिकरण दिदै आएकी छन् ।
यस्तै समाजमा क्षणभरमै प्रभाव पार्न सक्ने क्षमता राख्ने कलाकार मध्येका एक बस्नेतले संसद भवन तोडफोड र आगजनी गर्दै गर्दा त्यहीँ उपस्थित भएर भीडलाई धन्यवाद दिएको भिडियो यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ । उक्त भिडियोले ‘लुट’ लगायतका विभिन्न हिट फिल्मबाट दर्शकको मन जितेका निर्देशक बस्नेत पनि विवादमा तानिएका छन् ।

संसद भवन गेट अगाडी खिचिएको उक्त भिडियोमा उनले भनेका छन्, ‘नयाँ युगको सुरुवात हो यो जेन–जी पुस्ताले गरेर देखाएको छ अरु पुस्ताले गर्न नसकेको अब तपाईँहरुले जस्ले देश बना भनेर रोज्ने होनी त्यही हुन्छ,’ ।
यद्यपि बस्नेतले फेसबुकमार्फत् स्पष्टीकरण दिँदै भनेका छन्, ‘मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस मलाई जे सजाय दिएपनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएं स्पस्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु ।’
सोही दिन अब बानेश्वरमा भेटौँ भन्दै पोष्ट हालेका अर्का कलाकार दीपकराज गिरी पनि विवादबाट अछुतो रहेनन् । आन्दोलनका क्रममा भएका अराजकतामा कलाकार गिरी पनि संलग्न देखिएको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना र विरोध भइरहेका छन् ।
यद्यपि गिरीले फेसबुकमार्फत् स्पष्टीकरण दिँदै नेपालका हरेक परिवर्तनसम्बन्धी आन्दोलनलाई समर्थन गरे झै यस्लाइ पनि समर्थन गरेको बताएका छन् । उनले लेखेका छन्, ‘आफू पहिलो कुरा त के सत्य हो भने ,नेपालका हरेक परिवर्तन सम्बन्धि आन्दोलन लाइ समर्थन गरे झै यस्लाइ पनि समर्थन गरेकै हो। यदि त्यो अपराध हो भने अपराध त भयो नै !’

अहिले ‘डन डाइरेक्टर’ भनेर चिनिने अर्का सेलिब्रेटी अमनप्रताप अधिकारी पनि विवादमा तानिएका छन् । संसद् भवनमा आगजनी हुँदै गर्दा खिचिएको उनको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा उनले मुख छाड्दै ‘देखिस् जल्यो तेरो देश’ भनेको सुन्न सकिन्छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हालका दिनमा जेन–जी आन्दोलनमा सहभागी कलाकारहरूलाई लक्षित गरी भइरहेको चरित्र हत्या र अपराधीकरणको प्रयासको विरोध गरेको छ । प्रतिष्ठानका अध्यक्ष केपी पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा चलचित्र क्षेत्रका प्रतिष्ठित कलाकारमाथि सामाजिक सञ्जाल र राजनीतिक मञ्चहरूबाट नियोजित रूपमा गरिएका बदनाम अभियान र धम्कीपूर्ण टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कलाकारहरूको सामाजिक आन्दोलनमा उपस्थिति इतिहासको निरन्तरता र लोकतान्त्रिक जिम्मेवारीको अभिव्यक्ति हो, कुनै अपराध होइन। उनीहरूलाई बदनाम गर्ने र अपराधी ठहर्याउने प्रयास लोकतान्त्रिक मूल्य र सांस्कृतिक स्वतन्त्रतामाथिको सिधा प्रहार हो ।’

धेरैले गाली गरेपनि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरु चाहिँ सेलिब्रेटीकै पक्षमा खुलेका छन् । दीपक पौडेल नामक टिकटक आईडी चलाउने प्रयोगकर्ताले अब गाली खाने पालो नेपालका सेलीब्रेटीहरुको हो जस्तो लागेको बताएका छन् । यद्यपि यसरी गाली गर्दा पछि गएर गाली गर्नेलाई नै गाह्रो पर्नने उनको तर्क छ । उनले टिकटकमा भनेका छन्, ‘अब गाली खाने पालो नेपालका सेलीब्रेटीहरुको हो जस्तो लाग्छ, किनकी निश्चल बस्नेत, दीपकराज गिरीहरुलाई सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै गालीको वर्षा भइरहेको छ । तर, यसो हेर्दाखेरी चाहिँ यो पछि गएर गाली गर्नेलाई नै गाह्रो पर्छ जस्तो मलाई लाग्दछ ।’
‘सन् २०२३ मा एउटा रिसर्च भएको रहेछ जनरल अफ कन्ज्युमर कल्चर भन्ने संस्थाले गरेको रिसर्चमा जेन–जी र मिलिनियर्स ६० देखि ७० प्रतिशतले सेलिब्रेटीको फेसन, हेयरस्टाइल र जीवनशैलीबाट प्रभावित हुने रहेछन् ।’ उनले भनेका छन् ।
‘त्यसैगरी, अमेरीकामा गरिएको एउटा रिसर्च अनुसार ३० प्रतिशत बढी अमेरिकीहरु अरुलेभन्दा सेलिब्रेटीले गरेको विज्ञापनबाट धेरै प्रभावित हुने रहेछन्, अमेरिकी संस्था यूगभले २०२२ मा गरेको सवेक्षण अनुसार २५ प्रतिशत अमेरिकीलाई मत हाल्न कलाकारले प्रभाव पारेको रहेछ, यसको अर्थ के हो भने गिरी र बस्नेतले मासलाई प्रभावित पार्न सक्छन् ।’ उनले भनेका छन् ।
‘अहिलेको अवस्थामा जसरी यिनीहरुलाई नायकबाट खलनायक बनाउन खोजिरहेका छन्, पछि उनीहरुले कलाकारको साथ पाउने देखिँदैन, त्यसैले खेदो पनि लिमिटमा खन्नुस भोलिआफैले खनेको खाडलमा आफै पर्न सक्नुहुन्छ जस्तो मलाई लाग्दछ ।’ शुक्रबार पोस्ट गरेको भिडियोमा उनले भनेका छन् ।
यस्तै, बिहिबार कुशुम भट्टराई नाम गरेको टिकटक अकाउन्टबाट भने उनीहरुको आलोचना गर्दै भिडियो पोष्ट गरिएको छ ।
‘निश्चल बस्नेत भनेको सर्जक होइन, हिरो होइन, सिर्जना गर्ने मान्छे होइन, एउटा सर्जकले विध्वसलाई समर्थन गर्छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भनेको चीनले नेपालीलाई बनाइदिएको सुन्दर कृति थियो, त्यसले नयाँ बानेश्वरको चमक ल्याउँथ्यो, गर्व महशुस गराँउथ्यो । उनी भन्छन् ।
‘जसरी निश्चल बस्नेललाई हामीले राष्ट्रका गहना मान्छौँ नि सर्वोच्च अदालत, संसद भवन, सिंहदरबार, राष्ट्रपति भवन शितल निवास राणाको जमानाको हो, काठमाडौंको गहना हो, त्यो जलाइरहँदा धन्यवाद जेन–जी भाइबहिनी भनिराछ कसले भन्दा हामीले राष्ट्रको गहना मानेको कलाकारले ।’ आक्रोशसहित उनले भनेका छन्, ‘ती वास्तुकला, ललितकला एक सर्जक कलाकारको लामो समयको मेहनतले बनेको भवन जलिरहँदा अर्को सर्जकले स्याबासी दिएको छ, त्यहीँ ठाउँमा अर्वाड कार्यक्रम हुन्थे मैले पनि त्यहाँ अर्वाड थापेको थिए, ‘नेपाली बाबु’ भन्ने भुवन केसी अभिनित सिनेमा गिरिजाप्रसाद कोइरालाले त्यहीँ बसेर पुरा समय हेरेर केसीलाई बधाई दिनुभएको थियो, कति राम्रो गरिमा थियो ।’
‘त्यसलाई जलाइरहँदा बाबु यो हाम्रो सम्पदा हो भोलि हाम्रै सरकार आएपनि हाम्लाई यो काम लाग्छ भन्नुपर्नेमा उल्टो भएको छ, पेरिसका कयौँ पेन्टिङ, माइकल एन्जोलोका कृति जलाउन खोज्दा सर्जकले जोगाए ।’ उनले भने ।
समाज प्रभाव रहेका व्यक्तिले सकारात्मक सन्देश दिनुपर्नेमा तोडफोड र आगजनीलाई वाहवाहै गर्दा अनुसन्धानमा ल्याउनुपर्ने समाजशास्त्री डा. निर्मला ढकाल बताउँछिन् ।
‘आन्दोलन भयो यसलाई दोषारोपण भन्दा पनि सकारात्मक उर्जाका रुपमा ग्रहण गरेर अगाडी बढ्न सक्नुपर्छ, पहिले–पहिले सञ्चार माध्यमले जे भन्थे त्यही विश्वास गर्नुपर्ने अवस्था थियो । अहिले सामाजिक सञ्जालबाट आम नागरिकले पनि सूचना प्रवाह गरिरहेका हुन्छन् । कलाकारका विषयमा उहाँहरुले खण्डन गर्दै आएपनि भिडियो बाहिर आइसकेको छ । भिडियोमा देखिएको उहाँहरुको हर्कतले उहाँहरुले जवाफ त दिनैपर्छ’ उनले थपिन्, ‘जुन व्यक्तिले यस्तो नगर भन्नुपर्ने हो, उसैले खुसी मनाको देखेपछि प्रश्न त स्वभाविक आउँछ, अधिकार, संविद्यानको कुरा गरिन्छ, निजी निवासमाथि व्यक्तिको अधिकार होला, सार्वजनिक सम्पत्तिमा हामी सबैको दायित्व हुन्छ, त्यसरी हानीनोक्सानी हुँदा, अपराधिक क्रियाकलापमा सहभागी हुनु राम्रो गर्यौ भन्नु भीडलाई हौसाउनु, त्यो जस्ले गरेपनि अपराध नै भयो नि त राज्यले त्यस्ता व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ।’













प्रतिक्रिया